ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती

२०७९ असोज, ३  
गण्डकी प्रदेश
NA

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा व्यावसायिक रूपमा जुनेलो खेती थालिएको छ । स्थानीय एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यावसायिक जुनेलो खेती शुरू गरेको हो । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती थालेको हो ।

कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताए । स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि बारी बाँझो छाडेका थिए । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको शर्माले बताए ।

रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको हो । गत जेठमा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिनेछ । ‘यो वर्ष पाँच क्वीन्टल जुनेलो फलाउने लक्ष्य छ,’ शर्माले भने, ‘वर्षेनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानीमा जोडिनेछ ।’

जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माको भनाइ छ ।

सहकारीले रू. एक लाख खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ रू. चार सय ५० प्रतिकिलोका दरले खरीद गरेर लगाइएको शर्माले बताए ।

यो बाली सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमा समेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रूपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको बताएको छ ।

धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनको रूपमा उपभोग गरिने जुनेलोले औषधिको काम समेत गर्ने बताइन्छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रका कृषकहरू जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement