ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

फेवाताल क्षेत्रभित्रभौतिक संरचना निर्माणमा रोक

२०७९ असोज, ३  
गण्डकी प्रदेश
NA

पोखरा । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा सबै प्रकारको संरचना निर्माणमा पोखरा महानगरपालिकाले रोक लगाएको छ । महानगरले तालको मापदण्डको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न सूचित गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने बताएको छ ।

सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि संरचनाको निर्माण रोक्न आदेश भएकाले सोहीअनुसार रोक लगाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार अदालतको आदेशको अवज्ञा गर्दै विभिन्न निर्माण भइरहेकाले तत्काल रोक्न आग्रह गरिएको हो ।

ताल किनारका विभिन्न स्थानको शनिबार अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेशविपरीत नयाँ संरचना निर्माण भइरहेको पाइएपछि महानगर प्रमुख आचार्यले ती संरचनाको निर्माण तत्काल रोक्न र निर्माण सामग्री जफत गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

महानगरको निर्देशन अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने उनले चेतावनी दिए । महानगर प्रमुख आचार्यसहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसारसम्म पुगेर निरीक्षण गरेको हो । फेवातालको माथिल्लो जलाधार क्षेत्रमा पानीको प्राकृतिक बहाव रोक्नेगरी ढुंगामाटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै अवस्थामा फकाईने महानगरले बताएको छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि बाहेक अन्य कार्यमा उपयोग गर्न नपाइने व्यवस्था छ ।     

यसअघि गत चैतमा फेवातालको मापदण्ड घटाएर ३० मिटरमा झार्ने निर्णय पोखरा महानगरको कार्यपालिका बैठकले गरेको थियो । महानगरको सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत असार १३ गते मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्त्व बोकेको फेवाताल प्राकृतिक तथा मानवीय अतिक्रमणको चपेटामा परेको छ । ताल संरक्षणका लागि विभिन्न समयमा पटक–पटक प्रयास हुँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

तालको चार किल्ला निर्धारण तथा सीमांकन समितिले तालको क्षेत्रफल निश्चित गरी आफ्नो प्रतिवेदन बुझाएको एक वर्षभन्दा बढी समय बित्दा समेत तालको सीमांकनका लागि काम भएको छैन । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement