ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्दै

२०७९ असोज, ३  
गण्डकी प्रदेश
NA

कास्की । पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्ने भएको छ । २०७४ सालको निर्वाचनपछि बनेको प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारको पाँचवर्षे कार्यकाल सकिएसँगै पोखरामा २ हजार जना अटाउने क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न लागिएको हो ।

पोखरामा स्तरीय सम्मेलन केन्द्र नहुँदा ठूला सभा, सम्मेलन प्रदर्शनी केन्द्रदेखि रंगशाला लगायत ठाउँमा टेन्ट लगाएर गरिँदै आएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रको जग्गामा सम्मेलन केन्द्र बनाउन लागेको हो । अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । ‘प्रदर्शनी केन्द्रको ३३ रोपनी जग्गामा सम्मेलन केन्द्रको भौतिक संरचना निर्माणका लागि डीपीआरको काम सकिएको छ,’ उनले भने ।

पौडेलका अनुसार सम्मेलन केन्द्र निर्माणका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा १७ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्मेलन केन्द्रको निर्माणमा १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ३३ रोपनीमध्ये ९ रोपनी क्षेत्रफलमा बेसमेन्टसहितका चारओटा हल निर्माण गरिनेछ, जसमध्ये ५० देखि १०० जनासम्म अट्ने साना तीनओटा र २ हजार जना अट्ने एउटा ठूलो हल निर्माण हुनेछ । बाँकी जग्गामा पार्किङसहित प्रदर्शनी स्थल रहनेछ । बहुवर्षीय आयोजना अन्तर्गत उक्त हलको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement