ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सोमवार किन २ प्रतिशतभन्दा धेरैले घट्यो कच्चा तेलको भाउ ? 

२०७९ असोज, ३  
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । विश्व बजारमा सोमवार कच्चा तेलको भाउ घटेको छ । विश्वमा तेलको माग कमजोर हुने अपेक्षा बढ्दा तेल बजार दबाबमा आएको विश्लेषकहरूले बताएका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर उच्च दरले बढाउन सक्ने सम्भावनाबीच अमेरिकी डलर बलियो बन्दा तेलको भाउ प्रभावित भएको हो । 

विश्वभर यो हप्ता कयौं केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन थालेका छन् । अमेरिकामा फेडरल रिजर्भले ब्याजदर १ प्रतिशतसम्म बढाउन सक्ने अड्कलबाजी चुलिएको छ । फेडको आगामी बैठक र सुदृढ अमेरिकी डलरका कारण भने तेलको मूल्य वृद्धिमा बिर्को लागेको तेल ब्रोकर पीभीएम तामस भर्गाले बताए । 

लन्डनको आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुडको भाउ सोमबार ८ः२२ जीएमटीमा प्रतिब्यारेल १ दशमलव ३ प्रतिशतले घटेर ९० डलर १८ सेन्टमा आएको थियो । सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशलमव ३ प्रतिशतले नै घटेर प्रतिब्यारेल ८३ डलर ९७ सेन्टमा आएको थियो । 

यो समाचार तयार पार्दाखेरी नेपाली समय अनुसार साँझ ४ बजेतिर भाउ घट्ने क्रम तीव्र बन्दै ब्रेन्टको भाउ प्रतिब्यारेल २ दशमलव १० प्रतिशतसम्म घटेर ९० डलर २४ सेन्टमा आयो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि २ दशमलव ११ प्रतिशतले घट्दै प्रतिब्यारेल ८ डलर ४९ सेन्टमा ओर्लियो । 

बेलायतमा महारानी एलिजाबेथ द्वितियाको अन्त्येष्टि कारण सोमवार सार्वजनिक बिदा छ । यसका कारण तेल बजारमा गतिविधि सीमित हुने अपेक्षा गरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि आपूर्ति चिन्ताका कारण यो वर्षको शुरुमा तेलको भाउ बढेको थियो । मार्चमा प्रतिब्यारेल तेलको भाउ १४७ डलरको कीर्तिमानी उच्च स्तरमा समेत उक्लियो । 

तर, विश्व अर्थतन्त्र कमजोर रहने र माग सुस्ताउने चिन्ताले पछिल्लो समय तेलको भाउ दबाबमा आएको छ । फेड र अन्य केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने निर्णय गर्नुअघि अहिले अमेरिकी डलरको भाउ २ दशककै उच्च विन्दु नजिक छ । डलर बलियो हुँदा डलरबाहेक अन्य मुद्रा बोक्नेहरूका लागि डलरमा किनबेच हुने तेललगायत कमोडिटिहरू महँगो हुन्छ । यसाे हुँदा गैर डलरवाहकहरूमाझ तेलको माग थप घट्छ । 

माग कमजोर रहने प्रक्षेपणले पनि तेलको भाउ दबाबमा आएको छ । यी सबै चिन्ता रहँदारहँदै समेत आपूर्तिमा अवरोध हुने हो कि आशंकाबीच मूल्य घट्ने क्रम नियन्त्रित बनेको छ । रुसी तेलमा यूरोपेका प्रतिबन्धका तरबार बजारमाथि झुन्डिरहेको छ । चीनमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनेकोले बजारलाई केही टेवा मिल्ने एएनजेडका विश्लेषकहरूले बताएका छन् । एजेन्सी
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement