ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कर्णाली प्रदेश अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

२०७९ असोज, ४  
कर्णाली प्रदेश
NA

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने गरी प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न चालू आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । अस्पताललाई प्रतिष्ठानमा विकास गर्न विज्ञहरूसँग छलफल थालिएको छ ।

मन्त्रालयले यस सम्बन्धमा आइतवार स्वास्थ्य विज्ञ र सरोकारवालासँग छलफल गरेको छ । छलफलमा सहभागी विज्ञहरूले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नु आफैमा सराहनीय काम भए पनि एमबीबीएस पढाइलाई फेसनको रूपमा लिन नहुने सुझाव दिए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले प्रतिष्ठानलाई एमबीबीएस पढाउने फेसन मात्र बनाउन नहुने बताए । प्रदेश सरकारको स्वामित्वमा भए पनि प्रतिष्ठान स्थापनाका क्रममा संघीय सरकारसँग समन्वय गरे भविष्यमा कानूनी बाधा झेल्न नपर्ने उनले बताए ।

प्राडा रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको बताए । उनले भने, ‘पूर्वाधार र सेवा प्रवाह गौरव गर्नलायक छ । अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यक छ ।’

प्राडा अर्जुन कार्कीले अरू स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सिकेर प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न सकिने बताए । अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न संकाय तत्काल सञ्चालन गर्न सक्ने १० जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानको रूपमा विकास गर्न सकिने गरी आफ्नो प्रस्तुति राखेका थिए । उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरूरी रहेको बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement