ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ आयोजना हुँदै

२०७९ असोज, ४  
गण्डकी प्रदेश
NA

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही असोज ४ र ५ गते मुस्ताङमा मुस्ताङ ‘माउन्टेन एड्भोकेसी समिट’ (पर्वतीय वकालत सम्मेलन) आयोजना हुने भएको छ । पर्वतीय क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या र चुनौतीबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा एफएओलगायत विभिन्न संघसंस्थाको सहयोग रहने बताइएको छ । उक्त सम्मेलनमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम र यसले पर्वतीय क्षेत्रमा परेको प्रत्यक्ष असर/प्रभाव तथा तटीय क्षेत्रबीचको सम्बन्धबारे छलफल हुनेछ । सम्मेलनमा वन तथा वातावरणमन्त्री प्रदीप यादव, सचिव डा. पेमनारायण कँडेलसहित विभिन्न देशका प्रतिनिधि सहभागी रहने मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौड्यालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा जलवायु, जैविक विविधताका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ, अभियन्ता, सरकारी निकायका पदाधिकारी लगायतको समेत सहभागिता रहनेछ । विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालको हिमाली क्षेत्र बढी प्रभावित भएको र हिमालय क्षेत्रमा अनियमित वर्षा, हिमपहिरोका घटना बढेकाले पर्वतीय क्षेत्रका बासिन्दाको जीविकोपार्जन, जैविक विविधतालगायत क्षेत्रमा असर परेको मन्त्रालयका सचिव डा. कँडेलले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको हिमाली क्षेत्रमा प्रतिवर्ष शून्य दशमलव शून्य ८ डिग्री सेल्सियसले तापक्रम वृद्धि भइरहेको छ, जसका कारण हिमतालको क्षेत्र विस्तार तथा विष्फोटको खतरा समेत बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्र प्रभावित भए पनि यो मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाउन नसकेको बताइएको छ । नेपालले हिमाली क्षेत्रको मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उठाइने बताइँदै आए पनि अहिलेसम्म यो मुद्दा ओझेलमा परेको वन तथा वातावरणमन्त्री यादवले बताए ।

मन्त्री यादवका अनुसार जलवायु परिवर्तनकै कारण पछिल्ला वर्षमा उच्च हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पामा बाढीपहिराका घटना बढ्दै गएका छन् । गतवर्ष मनाङ, मुस्ताङ र सिन्धुपाल्चोकमा भएका बाढीपहिरो तथा हिमपहिरोका घटना त्यसका उदाहरण भएको उनले बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement