ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पर्यटन विकासका लागि ‘धौनीढोका’ गुरुयोजना तयार गरिँदै

२०७९ असोज, ४  
गण्डकी प्रदेश
NA

बागलुङ । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरि, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निर्माण गर्नेगरी गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल शुरू भएको हो ।     

धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियन्ता कृष्ण केसीले बताए । बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासंघ नेपाल बागलुङले संयुक्त रूपमा गुरुयोजना तयारीका लागि छलफल थालेका छन् ।
‘धौनीढोका’का अभियन्ता केसीले साविकको धौलागिरि अञ्चलको समग्र विकासका लागि धौनीढोका महŒवपूर्ण वातावरणमैत्री पर्यटकीय चक्रपथ बन्ने बताए । उनकै पहलमा स्थानीय सरकार र व्यवसायी यसको गुरुयोजना बनाउन तयार भएका हुन् । हाल निर्माण हुँदै गरेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरलाई जोडेर धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माण गरिनुपर्नेमा सरोकारवालाको जोड छ ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय रूपमै कार्यक्रमको खाँचो रहेको बताए । ढोरपाटन क्षेत्रमा बन्न लागेको जलविद्युत् आयोजना नेपालकै सबैभन्दा सस्तो प्रोजेक्ट रहेको भन्दै उनले उक्त प्रोजेक्ट पूरा भए कृत्रिम ताल बन्ने र पर्यटनको विकास हुने बताए । ‘धौलागिरि क्षेत्रको विकासका लागि प्रदेश होइन, संघ सरकारको योजना पर्नुपर्छ, तबमात्र पर्यटन विकास सम्भव छ,’ उनले भने ।

मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बढ्दो डोजरे विकासका कारण अहिले मुस्ताङमा पर्यटक घटेको बताए । धौलागिरि पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गाउँपालिका तयार रहेको उनको भनाइ छ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेशमा पोखरा पर्यटन क्षेत्र धेरै अघि बढे पनि धौलागिरि क्षेत्र भने निकै पछि परेको गुनासो गरे । पोखरामा पर्यटन व्यवसाय गर्नेले अन्नपूर्ण मात्र देखाएको, तर धौलागिरि हिमाललाई नदेखाउँदा पर्यटकको आकर्षण नभएको उनको भनाइ थियो ।

पर्यटन चक्रपथ समग्र धौलागिरिको पर्यटनका साथै स्थानीयको आयआर्जनसँग जोडिने भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको उनले बताए । पर्यटन व्यवसायी गणेश भट्टराईले ढोरपाटन क्षेत्रमा यूरोपबाट बढी पर्यटक आउने जानकारी दिँदै उनीहरूको बसाइ लम्ब्याउन स्थानीय व्यवसायीले नै पहिलो कदम चाल्न आश्वयक रहेको औंल्याए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले ‘धौनीढोका’ गुरुयोजना अनुसार स्थानीय, प्रदेश र संघीय सरकारका काम भएमा छोटो समयमै धौलागिरि क्षेत्रको पर्यटकीय चर्चा बढ्ने बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement