ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

३२ करोड लागतमा दार्चुला–धार्चुला पुल बन्ने

२०७९ असोज, ४  
सुदूरपश्चिम प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालको दार्चुलाको असिगडा र भारतको धार्चुलाको मल्ला–छारछुम जोड्न २ लेनको मोटरेबल पुल बन्ने भएको छ । भारत सरकारको करीब ३२ करोड (२० करोड भारू) रुपैयाँ लगानीमा १ वर्षमा पुल बनाइसक्ने गरी सोमवार शिलान्यास भएको छ ।

नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको तर्फबाट उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा सोमवार पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मन्त्री बडूले मोटरेबल पुल बनेसँगै सुदूर–पहाडको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे । दार्चुला नेपाल, भारत र चीनको सीमा जोडिएको जिल्ला भएकाले यो पुल निर्माणले त्रिदेशीय व्यापारको समेत ढोका खुल्ने उनले बताए ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले दुई देशका क्षेत्र जोड्न भारतको अनुदानमा पुल निर्माण हुन लागेको जानकारी दिए । अहिले उक्त स्थानमा भएको झोलुंगे पुललाई विस्थापित गरेर मोटरेबल पुल बनाइने विभागको भनाइ छ । यस्तै विभागका इन्जिनीयर मिलन घतानीले उक्त पुल १ वर्षमा बन्ने र लम्बाइ ११० मीटर हुने जानकारी दिए । उक्त पुलको दायाँबायाँ फुटपाथ भने डेढ/डेढ मीटरको हुने उनले बताए ।

उक्त पुल इन्जिनीयरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलमा बन्ने गरी ठेक्का सम्झौता भएको छ । भारतको अनुदानमा बन्ने भएकोले डिजाइन तथा अन्य कागजात भने भारतीयसँग नै छन् । ईपीसी मोडलमा बन्ने भएसँगै ५ वर्षसम्म मर्मतसम्भारको काम निर्माण व्यवसायीले गर्नेछ ।

दुई देश जोड्ने पुलका अतिरिक्त नेपालकै सुदूरपश्चिमका चाँदनी, दोधारा जस्ता भूभाग जोड्नका लागि पनि पछिल्ला वर्षहरूमा मोटरेबल पुल बनाउन थालिएको छ । नेपाल सरकारको लगानीमा महाकालीपारिको चाँदनी, दोधारा जोड्ने ४ लेनको मोटरेबल पुल निर्माणाधीन अवस्थामा छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement