ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सर्वसाधारणको ११ खर्ब निक्षेप सुरक्षित

२०७९ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको करीब ११ खर्ब रुपैयाँ निक्षेप सुरक्षित गरिएको छ । साना निक्षेपकर्ताको सम्पत्ति सुरक्षित राख्ने र बैंकिङ सेवाप्रति विश्वसनीयता बढाउने सरकारको घोषणाअनुसार बैंकहरूले ३ करोड ३७ लाख निक्षेपकर्ताको खातामा रहेको अधिकतम ३ लाख रुपैयाँसम्मको रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा सुरक्षण गराएका हुन् ।

सरकारले १ दशकअघि बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा खुलेका खाताको रकम अनिवार्य सुरक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । प्रारम्भमा प्रतिखाता २ लाख रुपैयाँबाट सुरक्षण शुरू गरिएकोमा ३ वर्षअघि ३ लाख रुपैयाँ पुर्‍याइएको थियो । बैंकहरूले यो असोजदेखि भने प्रतिखाता ५ लाख रुपैयाँ सुरक्षण गराउनुपर्ने निर्णय सरकारले गरिसकेको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले चालू आर्थिक वर्ष (आव) को भदौ मसान्तसम्ममा करीब ११ खर्ब रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको जानकारी दिए । सरकारले सुरक्षण गर्नुपर्ने रकम ५ लाख रुपैयाँ पुर्‍याएकाले असोजबाट यो वृद्धि हुँदै जाने घिमिरेको भनाइ छ ।

कोषको तथ्यांकअनुसार गत आवसम्ममा १ सय ८ ओटा बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जाको सुरक्षण गराएका छन् । त्यसमा रहेका व्यक्तिगत ३ करोड ३७ लाख १८ हजार खाताको ८ खर्ब ७९ अर्ब २१ करोड रुपैयाँ बराबरको रकम सुरक्षण भएको कोषले जानकारी दिएको छ ।

एक दशकअघि नेपाल विकास बैंक खारेजीमा गएपछि सरकारले निक्षेप सुरक्षणको कार्यक्रम शुरू गरेको हो । कर्जा तथा निक्षेप सुरक्षण गराएका बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भई उक्त संस्थाको सम्पत्तिबाट निक्षेप फिर्ता हुन नसके तोकिएको सीमासम्मको रकम कोषले भुक्तानी गर्छ । सोही प्रावधानअनुसार यसअघि कोषले हिमालयन फाइनान्सका निक्षेपकर्तालाई करीब ११ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

कोषले गत आवको अन्त्यसम्ममा १७ लाख ४५ हजार ऋणीको २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँ बराबरको कर्जा पनि सुरक्षण गरेको छ । कोषले बैंकहरूले लगानी गर्ने पशुधन, साना तथा मझौला उद्यम र लघुवित्त तथा विपन्नवर्ग कर्जाको सुरक्षण गर्दै आएको छ । बैंकहरूले कर्जा सुरक्षण गरेपछि कुनै कारणले असुली नभएमा निगमले बेहोर्ने प्रावधान छ । सुरक्षण गरेको कर्जामध्ये गत आवमा कोषले २३ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सन् १९३० को आर्थिक मन्दीका कारण विश्वव्यापी रूपमा बैंक तथा वित्तीय संस्थाहरू समस्याग्रस्त हुन थालेपछि निक्षेप सुरक्षणको अवधारणा शुरू भएको र त्यसलाई नेपालमा पनि प्रयोग गरिएको बताए । मंगलवार काठमाडौंमा आयोजित कोषको ४९औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमध्ये २२ प्रतिशत सुरक्षण भएको जानकारी दिँदै यसबाट वित्तीय प्रणालीमा सर्वसाधारणको विश्वास बढेको बताए ।

यसैगरी गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरू जोखिमयुक्त क्षेत्रमा लगानी गर्न नचाहने भएकाले उनीहरूलाई त्यस्ता क्षेत्रमा लगानी गर्न कर्जा सुरक्षण आवश्यक पर्ने उल्लेख गरे । ‘बैंकहरू सजिलै असुली हुने तथा आम्दानी हुने क्षेत्रमा मात्र लगानी गर्न चाहन्छन्,’ उनले भने, ‘राज्यको प्राथमिकता भएका कृषि, साना तथा मझौला क्षेत्र र विपन्न वर्गमा लगानी गर्दा जोखिम नहोस् भनेर सुरक्षणको व्यवस्था गरेका हौं ।’ उनले कोषलाई आगामी दिनमा आफ्नो भूमिका निक्षेप तथा कर्जाको सुरक्षणमा मात्र सीमित नराखी अन्य क्षेत्रमा पनि विस्तार गर्न सुझाए ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले पनि कोषमा जम्मा भएको पैसा ब्याज खानमा मात्र सीमित गर्न नहुने बताए । कोषको ऐन, नियमावली परिवर्तन गरेर भए पनि वित्तीय क्षेत्रलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा बढाउन आवश्यक रहेको बताए । उत्पादनमूलक र औद्योगिक क्षेत्रमा कर्जा बढाउन कुनै समस्या भए सहजीकरण गर्न आफू तयार रहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले भने, ‘उत्पादनमूलक र औद्योगिक क्षेत्रमा कर्जाको समस्या हुनु हुँदैन । यतातिर म गभर्नर साबको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement