ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विदेशबाट फर्किएर स्वदेशमै उद्यम

२०७९ असोज, ५  
सुदूरपश्चिम प्रदेश
NA

वेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोजे । स्वदेशमा उनले कुनै काम पाएनन् । उनीसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा यूएई हान्निए ।

विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अम्रिसोको कुचो जस्ता सामग्री उत्पादन गर्ने लघु उद्योग खोलेका छन् । ‘यूएईको पेट्रोल पम्पमा तीन वर्ष काम गरेँ, विदेशबाट फर्किएर अर्काको मुलुकमा काम गर्नुभन्दा स्वदेशमै उद्यम गर्ने सोच आयो,’ उनले भने, ‘बुवा वन कार्यालयमा जागिरे हुनाले उहाँलाई यसबारेमा थाहा थियो, उहाँकै सल्लाहअनुसार बेत, बाँसको सामग्री उत्पादन गर्ने उद्योग खोलेँ ।’

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा उनले तीन कट्ठा जमीन लिएर उद्योग खोलेका छन् । वैदेशिक रोजगारीको मोह छोडेर उनी अहिले स्वदेशमै आफ्नै उद्यममा जमेका छन् । वैदेशिक रोजगारीका क्रममा कमाएको करीब रू. २० लाख लगानीबाट शुरू गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ ।

‘शुरूमा सानो एउटा कोठाबाट शुरू गरेको काम अहिले विस्तार भएको छ, शुरूमा आफ्नो रू. २० लाख लगानी गरेका थियौं,’ उनले भने, ‘अहिले बैंकबाट रू. २६ लाख जति ऋण लिएका छौँ ।’ सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छैनन्, स्थानीय १० जनालाई उद्योगमा रोजगारी दिएका छन् । बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्गे आम्दानी गर्दा खुशी छन् ।

‘फर्निचर बनाउने मिस्त्री तथा झाडु बनाउनेहरू गरी १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रू ३० लाखसम्मको कारोबार हुन्छ,’ उनले भने, ‘स्वदेशमै काम गरेर सात जनाको परिवार सुखका साथ पालिरहेको छु, विदेशमा परिश्रम बेच्नुभन्दा विदेशमै काम गर्नु राम्रो छ ।’

सरकारले तालीम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन् । ‘लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छु,’ उनले भने, ‘कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थेँ ।’ रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement