ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन चेम्बरको पुनः आग्रह

२०७९ असोज, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकलाई पुनः आग्रह गरेको छ । राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झनै बिग्रन थालेको चेम्बरले बताएको छ ।

मंगलवार नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने क्रममा चालू पूँजी कर्जासम्बन्धी व्यवस्थाले व्यावसायिक क्षेत्रमा पर्ने असरबारे छलफल भएको चेम्बरले बताएको छ । केन्द्रीय बैंकको उक्त व्यवस्थाले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू सबैभन्दा बढी मारमा पर्ने नेपाल चेम्बर र संघका पदाधिकारीले गुनासो गरेका छन् ।

राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन आगामी कात्तिक १ गतेदेखि लागू गर्ने तयारी गरिरहेका बेला व्यवसायीले व्यापार सहजीकरण तथा लगानीमैत्री वतावरणमा उक्त मार्गदर्शनले गम्भीर असर गर्ने बताएका छन् ।

एक करोड रुपैयाँसम्मको चालू पूँजीको कर्जाको सीमा वार्षिक कारोबारको अधिकतम २० प्रतिशतसम्म मात्र कायम गर्ने व्यवस्था व्यावहारिक नभएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । ‘बजारमा लामो समयसम्मका लागि उधारोमा हुने विक्री तथा दशैं, तिहारको बेलामा मात्र ५० प्रतिशत विक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन,’ उनले भने ।

उक्त कर्जाको सीमा वार्षिक कारोबार/विक्रीको ५० प्रतिशतसम्म कायम गरिनुपर्ने अध्यक्ष मल्लले बताए । चालू पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने उनको भनाइ छ । राष्ट्र बैंकको अस्थिर नीतिले ऋणीहरू मर्कामा परेको भन्दै अध्यक्ष मल्लले बैंक ब्याजदरमा पुनरवलोकन गरिनुपर्नेमा पनि जोड दिए । आधार दरमा गरिएको अस्वाभाविक वृद्धिले निश्चित आय भएका ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको संघका अध्यक्ष विनोदकुमार सेठियाले बताए । उनले भने, ‘यसअघि निश्चित ब्याजदरमा कर्जा लिएका ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण थप समस्यामा परेका छन् ।’

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement