ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रवाहबारे छलफल

२०७९ असोज, ५  
बागमती प्रदेश
NA

काभ्रेपलाञ्चोक । नेपालका ग्रामीण भेगमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत् छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीनदिने दक्षिण एशियाली कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुने बताइएको छ ।

मंगलवारदेखि शुरू भएको कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा तथा दक्षिण एशियामा टेलिकम्युनिकेशनको क्षेत्रमा प्रयोग गर्न सकिने नयाँ प्रविधिको विषयमा बृहत् छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भूटानका टेलिकम्युनिकेशनका उत्पादक, सेवाप्रदायक, नियामक निकायका साथै स्याटेलाइट स्पेसमा कार्यरत हङकङ र मलेशियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको छ ।

कार्यशाला उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्त्व बढेको बताए । नेपालका गाउँगाउँमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

दक्षिण एशियाली टेलिकम्युनिकेशनका महासचिव मेनोसोरी कोण्डोले नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्युनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा बृहत् छलफल गर्नु सान्दर्भिक रहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्यले टेलिकम्युनिकेशनका लागि नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने बताए ।

कार्यशालाको मूल उद्देश्य नै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पुर्‍याउने उपायको खोजी नै रहेको बताइएको छ । ‘स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो भएकाले विभिन्न उपायको खोजी गरिनेछ,’ उनले भने, ‘वाईफाई, अप्टिकल फाइबर र आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा पनि छलफल केन्द्रित रहनेछ ।’ बिहीवारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रूपमा ८० र भर्चुअल माध्यमबाट १०० जना सहभागी छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement