ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

३० वर्षपछि साकार हुँदै त्रिदेशीय सीमा नजिक पक्की पुलको सपना, पहाडलाई भारतसँग जोड्ने पहिलो पुल 

२०७९ असोज, ५  
समाचार सुदूरपश्चिम प्रदेश
Image Not Found

खलंगा । दार्चुलामा नेपाल-भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ ।

हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे । दार्चुलाको महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो ।

सुदूर पहाडमा पहिलोपटक नेपाल-भारत जोड्ने मोटरेबल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेबल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ ।

महाकाली नदीमा पक्की पुल निर्माण हुँदा दुई देशको सम्बन्ध झन मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए ।

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए । ‘यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ’, उनले भने । भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ ११० मिटर रहेको छ ।

पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउँछन् । ‘सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्त्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिक स्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ’, उनले भने ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, व्यास गुफा, बैतडीको त्रिपुरासुन्दरी र निंगलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उनी बताउँछन् ।

त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिक स्थल हुन् । नेपाल-भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुनेछ ।

भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ । नेपाल-भारत–चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ । विसं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदै छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिंकरसम्मको करिडोरको लम्बाइ ४२५ किलोमिटर छ । महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिंकरसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । -रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement