ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

जापानको १४ अर्ब सहुलियत ऋणमा ५ ओटा सबस्टेशन र १५ किलोमिटर प्रसारणलाइन भूमिगत गरिने

२०७९ असोज, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको शहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण  प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करीब १४ अर्ब २ करोड रुपैयाँ (१५९ दशमलव ०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेशन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ ।

जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली,महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने छन् ।

शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ० दशमलव ०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ ।

आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका शहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने र विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

आयोजना कार्यान्वयनका लागि बुधवार नेपाल सरकारकातर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका छन् । त्यसैगरी,  ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गर्नुभयो ।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करीब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेशनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेशनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेशन निर्माण गरिने छ । सबस्टेशनको क्षमता ९० एमभीए रहने छ । सबस्टेशनबाट विद्युत वितरणका लागि ९/१० ओटा फिडर निकालिने छन् ।

बालाजु सबस्टेशनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै नारायणहिटी ल्याइने छ । महाराजगञ्ज र नारायणहिटी राजदरवारमा १३२/११ केभीका एक/एक सबस्टेशन निर्माण हुनेछन् । सबस्टेशनको क्षमता ६०/६० एमभीए रहने छ ।

यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेशन निर्माण निर्माण गरिने छ । सबस्टेशनको क्षमता ६० एमभीए रहने छ । तीनओटै सबस्टेशनहरूबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९/१० ओटा फिडर निकालिने छन् ।

पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेशनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेशन बनाएर पोखराको शहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेशनसम्म करीब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेशन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement