ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

व्याजदर वृद्धिको निर्णयप्रति उद्योगीको गम्भीर ध्यानाकर्षण, 'उद्योग बन्द गर्ने अवस्था आयो'

२०७९ असोज, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक वित्तीय संस्थाले असोज १ देखि लागू हुने गरी बढाएको व्याजदरलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसले कर्जाको व्याजदर आकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य तथा वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको हो । 

'बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य आकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ ।' महासंघले बुधवार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, 'आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ ।'

अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करीब २० प्रतिशतले न्यून हुन गएको महासंघले स्मरण गराएको छ । त्यसैले अहिलेको अवस्थामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने उसको भनाइ छ।

विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ । तर, पछिल्लो निर्णयले व्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने महासंघको भनाइ छ । यस सन्दर्भमा विगतमा व्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय रहेको जनाएको छ ।

'यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ ।' विज्ञप्तीमा भनिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement