ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सडक कि ‘धराप’ ?

२०७९ असोज, ६  
सम्पादकीय
Image Not Found

मुलुकमा चाडपर्वको चहलपहल शुरू हुन थालेको छ । मुलुकभरिका सडकमा सबैभन्दा बढी दबाब पर्ने दशैं, तिहारको बेला हो । यही बेला दुर्घटना पनि बढी हुन्छ । तर, सरकारी संयन्त्र यस्तो बेला भीडभाडलाई दोष देखाएर पन्छिने गर्छन् । दोष जसलाई लगाए पनि दुर्घटनाको मुख्य कारण सडकको दुरवस्था नै हो । सडकको दुरवस्थाकै कारण यात्रु समयमा गन्तव्यमा पुग्न पनि सक्दैनन् । यति मात्र नभई यतिखेर मुगुलगायत कर्णालीका विभिन्न जिल्लामा उत्पादित स्याउ सडक अवरुद्ध भएका कारण कुहिने अवस्थामा पुगेका छन् । स्याउ विक्री गरेर आम्दानी लिने किसानको एक वर्षको सपना सडकको दुरवस्थाले चकनाचुर पारेको छ । यस्तो समस्या देशका अन्य जिल्लाका किसानले पनि बेहोरिरहेका छन् ।

अहिले पूर्वपश्चिम राजमार्ग होस् वा मध्यपहाडी राजमार्ग कुनै पनि सडकमा सुरक्षित किसिमले यात्रा गर्न सक्ने अवस्था छैन । राजधानी काठमाडौंकै सडकमा खाल्डाखुल्डीका कारण सवारीसाधन चलाउन समस्या छ ।

नेपालभरि सबैखाले सडकको कुल लम्बाइ करीब पौने लाख किलोमीटर छ । सबै जिल्लामा सडक पहुँच पुगेको छ । सडक विभागअन्तर्गत करीब ३० हजार किलोमीटर सडक छ भने स्थानीय सडकअन्तर्गत झन्डै ६० हजार किलोमीटर सडक निर्माण भएको पाइन्छ । यीमध्ये बाह्रै महीना सवारीसाधन चल्ने सडक ३२ हजार किलोमीटरभन्दा केही बढी छ । यी सबैजसो सडक सुरक्षाका दृष्टिले पूरै जोखिमपूर्ण छन् । चाहे पक्की सडक होस् वा ग्राभेल वा कच्ची सडक नै, सबैजसो सडकमा खाल्डाखुल्डी छन्, ठाउँठाउँमा पहिरोका कारण नाममात्रका सडक छन् । राजमार्गहरूको समेत सुरक्षा अडिट नभएकाले सडकहरू सवारीसाधनका लागि धराप बनेका छन् । जुन धरापमा जोसुकै जुनसुकै बेला पर्न सक्छ ।

दशैंको बेला सवारीसाधन खचाखच भरिएका हुन्छन् । जसरी पनि यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रुलाई कोचेर सवारीसाधन चलाउँदा यी धराप जस्ता सडकमा दुर्घटना अत्यधिक हुन्छ । हुन त सरकारले दशैंलक्षित सुरक्षा योजना चलाएको छ, जसले सवारीसाधनलाई मनपरी रोक्न खोजेको छ । तर, प्रहरी चेकपोस्ट छलेर सवारीसाधनले यात्रु बोक्ने गरेको पाइन्छ ।

सडकमा जताततै खाल्डा छन् । अहिले वर्षात् भइरहेकाले ती खाल्डामा पानी भरिएर सडक हो कि तलाउ भने जस्तो देखिन्छ । कैयौं कालोपत्रे सडक कालोपत्र उप्किएर खोलाका बगरजस्ता देखिन्छन्, जसले गर्दा गाडीको यात्रा निकै लामो बनेको छ । त्यस्तै हिलाम्य सडकका कारण गाडी चिप्लिने, पुल अभावका कारण खोलाबाट गाडी गुडाउनुपर्नेजस्ता समस्यै समस्या छन् । ग्राभेल र कच्ची सडकमा नाली नभएकाले बाटो हिलाम्य भएर गाडी चलाउनै नमिल्ने अवस्थासमेत छ ।

अहिले पूर्वपश्चिम राजमार्ग होस् वा मध्यपहाडी राजमार्ग कुनै पनि सडकमा सुरक्षित किसिमले यात्रा गर्न सक्ने अवस्था छैन । राजधानी काठमाडौंकै सडकमा खाल्डाखुल्डीका कारण सवारीसाधन चलाउन समस्या छ । त्यसैले सरकारले यी सडकको अवस्था तत्काल सुधार्नु जरुरी छ । चाडबाडका लागि खाल्डाखुल्डी पुर्ने, पहिरोहरू पन्छाएर सडक सुरक्षित पार्नेलगायत काम तत्कालै थालिहाल्नुपर्छ । देश संघीयतामा गइसकेपछि झन् सडक गुणस्तरीय हुनुपर्ने हो, किनभने धेरै सरकार हुँदा कामको बाँडफाँटसमेत हुन्छ । स्थानीय तहमा पहिलाको भन्दा धेरै बजेट पनि जाने गरेको छ । तर, सडकको अवस्था हेर्दा झनै खराब देखिन्छ । यसको अर्थ संघीयदेखि प्रदेश र स्थानीय सरकारहरूले दत्तचित्त भएर काम गर्न बाँकी छ भन्ने हो ।

दिगो सडक पूर्वाधार नै विकासको आधार हो । सडकविना विकासको कल्पना नै व्यर्थ हुन्छ । यहाँनेर बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको एउटा भनाइ सान्दर्भिक हुन्छ । त्यो हो : अमेरिका धनी भएकाले सडक राम्रो भएको होइन, सडक राम्रो भएकाले अमेरिका धनी भएको हो । त्यही भएर भारतले अहिले सडक पूर्वाधारमा ठूलो लगानी गरेको छ र उपलब्धि पनि प्राप्त गरेको छ । चीनले पनि यसमा ठूलो लगानी गरेको छ । तर, नेपालमा भने सडक निर्माणमा दूरदर्शिता छैन, बनेका अत्यधिक सडक कामचलाउ प्रकृृतिका छन् । त्यही भएर स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउन समस्या परिरहेको छ । नेपालमा भएको बजेटलाई कसरी राम्रोसँग सदुपयोग गर्ने, कसरी गुणस्तरीय सडक बनाउने भन्ने भन्दा पनि किलोमीटर थप गर्नेतिर ध्यान दिएको देखिन्छ । किलोमीटर थप गर्न त्यतिबेला आवश्यक हुन्छ, जतिबेला भएका सडक गुणस्तरीय हुन्छन् । निकै वर्षअघि निर्माण भएका सडक जीर्ण हुने तर नयाँ निर्माणमा मात्र ध्यान दिने हो भने योजनाबद्ध रूपमा काम भइरहेको छैन भन्ने बुझिन्छ । त्यसैले अहिलेको आवश्यकता भएका सडकलाई गुणस्तरीय कायम गर्दै अन्य थप गर्दै जाने हो । गुणस्तरीय सडकले यात्रा सहज हुने मात्र नभई खर्चसमेत घटाउँछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement