ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बीमा र अनुदानले चौंरीपालक किसान उत्साहित

२०७९ असोज, ६  
बागमती प्रदेश
NA

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चौंरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाको भोटेकोसी गाउँपालिकाका लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि चौंरीपालन आम्दानीको दरिलो माध्यम बनेको छ ।

स्थानीयवासीले व्यावसायिक रूपमा चौंरीपालनका लागि अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौंरीखर्कमा ६० चौंरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले चौंरीपालक किसानलाई रू. ५३ लाख अनुदान दिएको छ । साठी चौंरीका लागि रू. ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि रू. २० लाख अनुदान उपलब्ध भएको हो ।

स्थानीय निमा शेर्पाका अनुसार चौंरीबाट उत्पादित दुग्ध वस्तुको बजारीकरणका लागि लेकाली खर्कमै संकलन केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौंरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । चौंरीखर्कको व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणका लागि स्थापना गरिएको चौंरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ ।  

परम्परागत रूपमा चौंरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि उत्साहित भएका छन् । महँगो मूल्य पर्ने चौंरी मर्दा पूरै नोक्सानी बेहोर्दै आएका किसानले अब बीमाबापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौंरीको बीमा गरिदिएपछि चौंरीपालक किसानको संख्यासमेत बढ्न थालेको शेर्पाले बताए । चौंरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौंरी पाल्ने किसानको उत्पादन खरीद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement