ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘दशैं फुड एण्ड म्युजिक फिएस्टा’ गर्दै रेबान चितवन

२०७९ असोज, ६  
बागमती प्रदेश
NA
author avatar अभियान संवाददाता

चितवन । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) चितवनले ‘दशैं फुड एण्ड म्युजिक फिएस्टा’ आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र खाना संस्कारको विकास गर्ने उद्देश्यले संस्थाले पहिलोपटक यो कार्यक्रम गर्न लागेको हो ।

असोज १६ गते (फूलपातीको दिन) उक्त कार्यक्रम आयोजना गर्न लागिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा रेबान चितवनले जानकारी दिएको छ । कार्यक्रममा खानाका स्टलसँगै नेपालका चर्चित कलाकारको प्रस्तुति रहने संस्थाका अध्यक्ष अच्युत भट्टले बताए । उनका अनुसार कार्यक्रम परिसरमा रेबान चितवनका सदस्य रहेका ४० रेष्टुरेन्टका स्टल रहनेछन् । साथै संस्थामा आबद्ध  सदस्यले स्टल निःशुल्क राख्न पाउने व्यवस्था गरिएको छ । कार्यक्रममा मौलिक नेपाली, नेवारी, कोरियन, चाइनिज लगायत विभिन्न खानाका स्टल रहनेछन् । कार्यक्रममा छिमेकी जिल्लाबाट समेत खानाका पारखी र संगीतप्रेमी आउने अपेक्षा रहेको भट्टले बताए । ‘खाना संस्कारको विकास र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गरिएको हो,’ भट्टले भने, ‘संगीतको साथमा खानाका स्वाद लिन कार्यक्रम महत्त्वपूर्ण स्थल बन्नेछ ।’

कार्यक्रममा कलाकारको पारिश्रमिकसहित साढे ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । साथै आम्दानी पनि सोही परिमाणमा हुने आयोजकको अपेक्षा छ । ‘फाइदा लिने उद्देश्य नराखी दशैंमा पनि रेष्टुरेन्ट व्यवसायलाई निरन्तरता दिन कार्यक्रम आयोजना गर्न लागिएको हो,’ भट्टले भने । कार्यक्रममा नेपालको चर्चित ‘द एज ब्याण्ड’सहित प्रकाश सपुत, विवेक वाइबा लामा (भेक), यवेश थापा र स्थानीय कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रम दिउँसो २ देखि राति ११ बजेसम्म चल्नेछ ।

कार्यक्रमका लागि ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको रेबान चितवनका कोषाध्यक्ष विशाल श्रेष्ठले बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement