ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

यती एयरलाइन्स २५ वर्षमा : १ वर्षमा १० लाखभन्दा बढी यात्रुलाई सेवा

२०७९ असोज, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निजीक्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले २४ वर्ष पूरा गरेको छ । २ ओटा ट्विनअटर विमानबाट सेवा शुरू गरेको यतीले पछिल्लो वर्ष ५ ओटाबाट एक वर्षमै १० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

सन् १९९८ मा व्यावसायिक उडान शुरू गरेको कम्पनीले बुधवार २४औं वार्षिकोत्सव मनाएको छ । यतीले हालै एउटा थपेर जहाज संख्या ६ पुर्‍याएको छ । यही वर्ष अर्को थप्ने तयारी छ । गन्तव्य र जहाज थप्नेभन्दा पनि सेवालाई गुणस्तरीय बनाउने योजना रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी दिए ।
१ वर्षमा यतीले १५ हजार ९२५ पटक उडान गर्दा १० लाख ५ हजार ६७७ यात्रुले सेवा पाएका छन् । त्यसमा २७ हजार ६६३ विदेशी रहेको कम्पनीको भनाइ छ । यो अवधिमा १ लाख ५४ हजार २८७ किलो कार्गाे तथा कुरियर बोकेको थियो । तत्कालीन हवाई विभागबाट १९९८ को मेमा व्यावसायिक उडान अनुमति पाएको यतीले सेवा भने सो वर्ष २१ सेप्टेम्बरमा शुरू गरेको थियो ।

यस अवधिमा यतीले डीएचसी–६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, पिलाटस पोर्टर पीसी–६, जेटस्ट्रिम जे–४१, डीएचसी–६–४०० ट्विनअटर तथा एटीआर–७२–५०० जस्ता ४० भन्दा धेरै जहाजबाट सेवा दिएको छ । अहिले कम्पनीसँग एटीआर सिरिजका ६ ओटा जहाज छन् । केही जहाज यतीकै भगिनी संस्था तारा एयरमार्फत सञ्चालनमा छन् ।

७३० जनालाई रोजगारी दिएको कम्पनीले नेपालमा हवाई सेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको दाबी गरेको छ । कम्पनीमा काम गरेका प्राविधिक, चालकदल र अन्य कर्मचारी हाल नेपालमा सञ्चालित सम्पूर्ण एयरलाइन्समा कार्यरत रहेको बर्ताैलाले बताए । ‘यतीको २४ वर्षे यात्रामा लगनशील र इमानदार कर्मचारी तथा लगानीकर्ताको संयुक्त योगदान र संस्थापक प्रबन्ध निर्देशक स्व. आङछिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय छ,’ उनले भने । यतीले अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (काठमाडौं)लाई बेस बनाएर भद्रपुर, भैरहवा, विराटनगर, जनकपुर, जोमसोम, लुक्ला, नेपालगञ्ज, पोखरा, फाप्लु, सिमरा र इलाममा उडान गर्दै आएको छ । कम्पनीले महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा ट्राभल प्याकेज पनि सञ्चालन गर्दै आएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement