ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

फेडले लगातार तेस्रो पटक बढायो ०‌.७५ % ब्याजदर, महँगी कम गर्न अझै बढाउने संकेत

२०७९ असोज, ६  
अन्तरराष्ट्रिय
Image Not Found

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि प्रमुख ब्याजदर शून्य दशमलव ७५ प्रतिशत अंकले बढाएको छ । महँगी नियन्त्रण गर्न अहिलेको स्तरभन्दा माथि ब्याजदर बढाउन सकिने संकेत पनि बैंकले गरेको छ । 

सन् १९८० को दशकको शुरुयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न फेडले संघीय कोषको दर शून्य दशमलव ७५ प्रतिशतले बढाएर ३ प्रतिशतदेखि ३ दशमलव २५ प्रतिशतको बीचमा राखेको छ । यो सन् २००८ को शुरुयताकै उच्च हो । योसँगै फेडले ब्याजदर लगातार तेस्रो पटक शून्य दशमलव ७५ प्रतिशतले बढाएको छ । 

यो खबर सार्वजनिक भएपछि बुधवार बजार बन्द हुँदा अमेरिकाका तीन ओटै प्रमुख शेयर परिसूचक रातोमा आएर बन्द भएको थियो । दाउ जोन्स १ दशमलव ७ प्रतिशतले घटेर ३० हजार १८३ दशमलव ७८ अंकमा आएको थियो । एसएण्डपी र नास्डाक पनि लगभग सोही दरमा घटेका थिए । 

फेडको ब्याजदर वृद्धिपछि एशियामा बजार मिश्रित देखिएका छन् । जापानमा निक्केई २२५ परिसूचक शून्य दशमलव ५ प्रतिशतभन्दा बढीले घटेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया, ताइवानलगायत बजार रातोमा आउँदा थाइल्यान्ड र इन्डोनेशियामा भने बजार हरियोमा थियो । 

यूरोपमा अघिल्लो कारोबार बन्द हुँदा शेयर बजार हरियोमा थियो । तर, बिहीवार शुरुआती कारोबारदेखि बजार ओरालो लाग्ने अनुमान गरिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा झिनो वृद्धि देखिएको छ । सुनको भाउ ओरालो लागेको छ । एजेन्सी

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement