ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नुवाकोटमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूबाट २१ करोड जरिवाना असुल गरिने

२०७९ असोज, ६  
समाचार
Image Not Found

काठमाडौं । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रू २१ करोड जरिवाना असुल हुने भएको छ । 

तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका १ हजार ६९४ जना उम्मेदवारबाट रू २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका ६ र उपप्रमुख पदका ५ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका ५–५ गरेर १० उम्मेवारलाई जरिवाना तोकिएको छ । तोकिएको समयावधिमा निर्वाचन खर्च नबुझाउने नगरपालिकाको वडाअध्यक्ष र वडा सदस्यको संख्या ४२७ छ । 

तोकिएको समयावधिमा निर्वाचन खर्च नबुझाउने नगरपालिकाका प्रमुख/उपप्रमुख पदका उम्मेदवारले रू. ४ लाख ५० हजार र वडाअध्यक्ष र वडा सदस्य पदका उम्मेदवारले दुई लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।  आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रू. आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ ।

यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही रू. तीन लाख ५० हजारका दरले रू. तीन करोड १५ लाख असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए । 

यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवार जिल्लाभरमा १ हजार १५६ जना छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही रू. १ लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट रू. १७ करोड ३४ लाख जरिवाना असुल गर्नुपर्ने देखिन्छ ।

गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य संख्यामा छन् ।

जरिवानाको निर्णय गरेको ६ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । 

उनका अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । ‘कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ,’ उनले भने, ‘उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।’ 

नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा २ हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको संख्या ३१२ जना मात्र रहेको थियो । रासस

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement