ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पेट्रोलियम गाडीको आयात रोक्न अध्ययन शुरु, राजस्व सचिवको नेतृत्वमा समिति गठन

२०७९ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयात रोक्न अध्ययन शुरू गरेको छ । अर्थ मन्त्रालयले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन गरी पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको हो ।

इन्धनको मूल्य अचाक्ली बढेकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिन समितिले नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय निश्चित गर्ने बताइएको छ । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नाडा ईभी एक्स्पो २०२२ उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा पेट्रोलियम गाडीको आयात रोक्ने समय तोक्ने उद्देश्यले अध्ययन भइरहेको बताए । अध्ययनको चरण पूरा भएपछि सबै सरोकारवालासँग छलफल गरी आयात रोक्नेतर्फ काम हुने उनले बताए ।

यसपटकको नाडा अटो प्रदर्शनी पनि पूर्ण रूपमा विद्युतीय गाडीमा केन्द्रित छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोकेपछि नाडाले विद्युतीय सवारीसाधन केन्द्रित अटो एक्स्पो आयोजना गरेको हो । हाल नेपालमा विद्युत्को समस्या नरहेकाले नाडाले पनि आगामी दिनमा विद्युतीय गाडीको आयात र विक्रीवारे विशेषरूपमा सोचेर काम गर्नुपर्ने अर्थमन्त्रीले बताए ।

‘पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात दिनप्रतिदिन बढ्दै गएकाले यसको प्रयोगबाट प्रदूषण र इन्धन खपत भारी मात्रामा बढेको छ, जसले गर्दा नेपालमा वार्षिक करीब ३ खर्ब रुपैयाँ बरारबरको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । त्यसैले हामीले अब विकल्प सोच्नैपर्ने हुन्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने ।

साढे २ करोडसम्मका गाडी प्रदर्शनीमा 

प्रदर्शनीमा ३१ लाखदेखि करीब साढे २ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन (ईभी) राखिएका छन् । टाटाको टिगोर ईभी (मिड अप्सन) को मूल्य साढे ३१ लाख रुपैयाँ रहेको छ । यसैको फूल अप्सनको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ पर्छ । एक्स्पोमा राखिएकामध्ये यो ब्रान्डका गाडी सबैभन्दा सस्ता हुन् । त्यसैगरी निटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडी ई६ को मूल्य ५९ लाख रुपैयाँ छ । टेस्लाको मोडल ३ को मूल्य १ करोड ५० लाख रुपैयाँ छ भने प्रदर्शनीको सबैभन्दा महँगो गाडी टेस्लाकै मोडल वाई लङ रेन्जको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकिएको छ ।

आइतवारसम्म चल्ने प्रदर्शनी करीब ४० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल नाडा ईभी एक्स्पो २०२२ का संयोजक अनुप बरालले बताए । उक्त प्रदर्शनीमा विभिन्न कम्पनीका साना ठूला गरी करीब ५० ओटा स्टल छन् । नेपालमा विद्युतीय गाडीको मात्रै प्रदर्शनी भएको यो पहिलोपटक हो ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement