ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विश्वभर ब्याजदर बढाउने होडबाजी, अमेरिकापछि बेलायत र स्वीट्जरल्यान्डका केन्द्रीय बैंकहरूले गरे ब्याजदरमा भारी वृद्धि

२०७९ असोज, ७  
समाचार अन्तरराष्ट्रिय
Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । अहिले विश्वभरका केन्द्रीय बैंकहरूबीच ब्याजदर बढाउने होडबाजी छ । दशकौंयताकै उच्चस्तरमा उक्लिएको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिका, बेलायत, स्वीटजरल्यान्ड, भारतलगायत देशका केन्द्रीय बैंकहरूले कयौं वर्षयता नदेखिएको स्तरमा ब्याजदर बढाएका छन् । बुधवार सेप्टेम्बरको नीतिगत बैठकमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार तेस्रो महीना ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले बढाएकाे थियो । 

त्यसको भोलिपल्ट अर्थात् बिहीवार बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ (बीओई)ले पनि प्रमुख ब्याजदर १ दशमलव ७५ प्रतिशतबाट बढाएर २ दशमलव २५ प्रतिशतमा पुर्याएको छ । यद्यपि यो वृद्धि कयौं विश्लेषकहरूले अनुमान गरेकाेभन्दा अलि कम हो । पछिल्लो नीतिगत बैठकमा बीओईले शून्य दशमलव ७५ प्रतिशतले ब्याजदर बढाउने अड्कलबाजी उच्च थियो । 

अगष्टमा बेलायतमा मुद्रास्फीति केही घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९ दशमलव ९ प्रतिशतमाथि छ । यो अघिल्लो महीनाको तुलनामा केही कम भए पनि बैंकको लक्षित विन्दुभन्दा निकै माथि छ । बीओईले महँगी २ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ । अक्टोबरमा मुद्रास्फीति ११ प्रतिशतभन्दा तल आउने बीओईको अपेक्षा छ । यसअघिको प्रक्षेपणमा यो दर १३ प्रतिशत हुने बताइएको थियो ।

नोभेम्बरको बैठकमा पनि बीओईले शून्य दशमलव ५ प्रतिशतले ब्याजदर बढाउने अनुमान प्रबल छ । बेलायती अर्थतन्त्र यसअघि नै मन्दीमा गइसकेको प्रक्षेपणहरू भइरहेकै समयमा बीओईले अपेक्षाकृत थोरै ब्याजदर बढाएको हो । यो वर्ष सकिनुअघि नै बेलायती अर्थतन्त्र मन्दीमा जाने प्रक्षेपणहरू यसअघि नै बेलायती चेम्बर्स अफ कमर्शलगायत कयौं व्यवसायिक संघसंस्थाहरूले गरिसकेका छन् । 

इन्धनको मूल्यवृद्धिको झट्काको साथसाथै कोडिभको महामारी र यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमनका कारण पनि बेलायतले अहिले व्यापार अवरोधहरूको सामना गरिरहेको छ । उपभोक्ता मनोबल खस्किएको छ भने खुद्रा विक्रीमा कमी आएको छ । पछिल्लो ब्याजदर वृद्धि लागतारको सातौं वृद्धि हो । योसँगै बेलायतमा ब्याजदर सन् २००८ यताकै उच्च स्तरमा उक्लिएको छ । 

स्वीस केन्द्रीय बैंकले बिहीवार ब्याजदर तीन चौथाई प्रतिशतले बढाएर शून्य दशमलव ५ प्रतिशतमा ल्याएको छ । यो वृद्धिसँगै स्वीटजरल्यान्डमा प्रमुख ब्याजदर ऋणात्मक क्षेत्रबाट बाहिर आएको छ । योसँगै यूरोपमा ऋणात्मक ब्याजदरको युग सकिएको छ । जुन १५ मा पनि बैंकले ब्याजदर बढाएर माइनस शून्य दशमलव २५ प्रतिशतमा ल्याएको थियो । यो १५ वर्षयताको पहिलो ब्याजदर वृद्धि थियो । सन् २०१५ यता भने स्वीटजरल्यान्डमा ब्याजदर माइनस शून्य दशमलव ७५ प्रतिशतमा स्थिर थियो । 

गएको महीना महँगी बढेर तीन दशककै उच्च विन्दु (३ दशमलव ५ प्रतिशत)मा पुगेपछि केन्द्रीय बैंकले ब्याजदर आक्रामकरूपमा बढाउन थालेको हो । मुद्रास्फीतिको चाप बढेको अनि महँगी वस्तुदेखि सेवासम्म सबैतिर देखिएकोले महँगी नियन्त्रण गर्न बैंकले ब्याजदर बढाएको बताएको छ । भविष्य पनि थप ब्याजदर वृद्धिलाई नकार्न नसकिने बताइएको छ । ब्याजदर ऋणात्मक क्षेत्रमा राख्ने स्वीट्जरल्यान्ड यूरोपको अन्तिम देश थियो । 

अब ब्याजदर ऋणात्मक क्षेत्रमा रहेको जापान एक मात्रै ठूलो अर्थतन्त्र हो । बिहीवार जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर माइनस शून्य दशमलव १ मा यथावत् राख्ने निर्णय गरेको थियो । फेडले आक्रामकरूपमा ब्याजदर बढाइरहँदा बीओईले मौद्रिक नीति खुकुलो राखिराख्दा स्थानीय मुद्रा दबाबमा आएको छ । बिहीवार बिहानी कारोबारमा डलर येन विनिमय दर १४५ येनमाथि पुगेको थियो । 

येनको भाउ २४ वर्षयताकै ताजा न्यून स्तरमा आएको थियो । येनको भाउलाई टेवा दिन बीओजेले सन् १९८८ यता पहिलो पटक मुद्रा बजारमा हस्तक्षेप गरेपछि विनिमय दर सुध्रिएर प्रतिडलर १४० येनसम्म आयो । बैंकको यस कदमले येनको भाउ ओर्लिन क्रम लामो समयसम्म रोकिनेमा भने विश्लेषकहरूले शंका गरेका छन् । मुद्राको अवमूल्य रोक्न मुद्रा बजारमा हस्तक्षेप सफल भएको उदाहरण दुर्लभै पाइन्छ । बिहीवारको बीओजेको कदमको असर पनि अस्थायी हुने अपेक्षा बढेको छ । 

डेनमार्कको केन्द्रीय बैंकले सेप्टेम्बर ८ मा ब्याजदर शून्य दशमलव ७५ आधार विन्दुले बढाएपछि त्यहाँ पनि एक दशकयताको ऋणात्मक ब्याजदरको क्रम भंग भएको छ । अहिले डेनमार्कमा ब्याजदर शून्य दशमलवप ६५ प्रतिशत रहेको छ । सेप्टेम्बर २० मा स्वीडेनको केन्द्रीय बैंकले पनि महँगी अति नै उच्च भएको भन्दै ब्याजदर १ प्रतिशत अंकले बढाएर १ दशमलव ७५ प्रतिशतमा उकालेको थियो । 

महँगीमा अंकुश लगाउन यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले पनि सेप्टेम्बर ८ मा शून्य दशमलव ७५ प्रतिशतले बढाएर ब्याजदरलाई ऋणात्मक क्षेत्रबाहिर ल्याएको थियो । ईसीबीले ब्याजदर वृद्धिलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको भए पनि भविष्यमा हुने वृद्धि सेप्टेम्बरको शुरुमा गरिएको जस्तो उग्र भने नहुने बताइएको छ । पछिल्लो समय अधिकांश देशहरूले महँगी नियन्त्रण गर्न ब्याजदर बढाइरहँदा टर्की भने उल्टो बाटो हिँडिरहेको छ । 

८० प्रतिशत आसपास उक्लिएको मुद्रास्फीति नियन्त्रण गर्न त्यहाँको केन्द्रीय बैंकले १३ प्रतिशत रहेको ब्याजदर घटाएर १२ प्रतिशतमा झारेको छ । अघिल्लो महीना पनि टर्कीले ब्याजदर र १ प्रतिशतले घटाएको थियो । सन् २०२१ को अन्त्ययता ब्याजदर ५ प्रतिशतले घटाइएको छ । टर्कीको नीतिगत दिशा हेरेर लगानीकर्ता र अर्थशास्त्रीहरू लामो समयदेखि अचम्ममा छन् । 

राष्ट्रपति रेसेप तैयप एर्दोगनको दबाबमा केन्द्रीय बैंकले ब्याजदर घटाइरहेको छ । यसले उल्टै मुद्रा संकट उत्पन्न गराएको छ । यो वर्ष शुरु भएयता अहिलेसम्मको अवधिमा अमेरिकी डलरको तुलनामा टर्किश लिराको भाउ २७ प्रतिशतभन्दा धेरैले घटिसकेको छ । गएको पाँच वर्षमा यो कमी ८० प्रतिशतभन्दा धेरै हुन्छ । 

पछिल्लो समय झन्डै ७ दर्जन केन्द्रीय बैंकहरूले मौद्रिक नीति कसिलो बनाइरँदा भारतले पनि आगामी नीतिगत बैठकमा शून्य शमलव ५ प्रतिशतले ब्याजदर बढाउने अनुमान गर्न थालिएको छ । महँगी अटेरी भएर उच्च स्तरमै रहिरहेको अनि विश्वभर केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहँदा ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले पनि ब्याजदर बढाउने अनुमान र सम्भावना बढेको छ । 

महँगी खराब हो त ? 

महँगी आफैंमा नराम्रो होइन । न्यून स्तरको महँगी राम्रै हो । यसले व्यक्ति र अर्थतन्त्रलाई हानी गर्दैन । तर, अत्यधिक महँगी फिटिक्कै राम्रो होइन । महँगी बढेपछि उपभोक्ताहरूको क्रय शक्ति घट्छ । अझ नगदमा आधारित (ऋणपत्रको समेत) सम्पत्तिको भाउ घट्छ । मान्छेको तलबलाई मूल्यवृद्धिले उछिनेपछि यसको दुष्प्रभाव देखिन थाल्छ । समयमै नियन्त्रण गरिएन भने यो बेलगाम बन्छ ।

उच्च महँगी प्रायः सहजरूपमा नियन्त्रणमा आउँदैन । माग घटाउन र महँगीलाई सहज स्तरमा ल्याउन केन्द्रीय बैंकहरूले माग सुस्त बनाउन ब्याजदर आक्रामकरूपमा बढाउँछन् । यस क्रममा प्रायः आर्थिक मन्दीकै अवस्थासमेत निम्तिने गरेको पाइन्छ । एजेन्सीहरूको सहयोगमा 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement