ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनएफपिजेको २५ औं वार्षिकाेत्सव : नेपालसहित भारत र बंगलादेशका फोटोपत्रकारहरूलाई पनि सम्मान 

२०७९ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो स्थापनाको २५ औं वार्षिकाेत्सव भव्यरूपमा मनाएको छ ।

वार्षिकाेत्सवको अवसरमा एनएफपिजेले काठमाडौंमा एक कार्यक्रम गरि विभिन्न विधामा उत्कृष्ट फोटो खिच्ने फोटो पत्रकारहरूलाई अवार्ड र प्रमाणपत्र वितरण गरेकाे छ भने वरिष्ठ पत्रकारहरूलाई सम्मानसमेत गरेकाे छ । 

अवार्डमा सहभागिताका लागि एनएफपिजेले आवेदन खुला गरी विभिन्न विधामा पाँच जना नोमिनिज छनाेट गरेकाे थियाे । तिनै ५-५ जनाहरूबाट अवार्ड विजेता छनाेट गरिएकाे थियाे । अवार्डकाे निर्णायकमा सस्थाका पूर्वअध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।

अवार्डअन्तर्गत नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधातर्फ सुनील शर्मा, खेलकुद फोटोपत्रकारिता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधाका लागि हरि महर्जन, ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता विधामा अशोक दुलाल, राजनीतिक फोटो पत्रकारिता विधातर्फ नविनबाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता विधाका लागि दीपेन्द्र मर्हजनले अवार्ड जितेका छन् । 

प्रदेशस्तरीय फोटो पत्रकारिता अवार्ड विधातर्फ प्रदेश १ उत्कृष्ट फोटो पत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमती प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा वसन्त प्रताप सिंह र सुदूरपश्चिम प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा विनोद विष्टले अवार्ड पाएका छन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र विशेष अतिथिसमेत रहेका खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा एनएफपिजेले कोरोनाको समयमा फोटोपत्रकारहरूले खिँचेका फोटोहरू संकलन गरी 'लकडाउनमा नेपाल' नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो ।

कार्यक्रममा हरिगोपाल फोटो पत्रकारिता पुरस्कारअन्तर्गत साहसिक फोटो पुरस्कार झापाका नेत्रविक्रम विमली पाउँदा खेलकुदतर्फ विनय कुमार बानियाँ, पर्या-पर्यटनतर्फ प्रदीपकुमार श्रेष्ठ, संस्कृति सम्पदातर्फ किरण आचार्य, मनोरञ्जनतर्फ अजय मर्हजनले पाएका थिए भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार आर्यन धिमाललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारकाे राशि नगद १० हजार रूपैयाँ छ । 

यस वर्षको एनएफपिजे नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको छ । उनले आफूले पाएको नगद ५० हजार रूपैयाँ पत्रकारहरूकै कोषमा राख्ने प्रतिवद्धतासहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापकहरू, वरिष्ठ फोटोपत्रकारलगायतलाई पनि सम्मान गरिएको थियो । यस्तै, राष्ट्रिय फोटोपत्रकार आपतकालीन राहत कोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरूलाई पनि प्रशंसाप्रत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी विदेशी पत्रकारहरूलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा बंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दरलगायत १२ जना र अल इन्डिया वर्किङ न्यूज क्यामेराम्यान एशोसियशनका अध्यक्ष एन. एस. सिन्हालगायतकाे उपस्थिति थियाे । 

उक्त अवसरमा बंगलादेशका फोटो पत्रकारहरूले खिँचेका फोटोहरूकाे पनि प्रर्दशनी गरिएको थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement