ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दशैंको मुखैमा पनि सुनसान छन् असन र न्यूरोडका बजार, 'छुट अफरले पनि काम गरेन'

२०७९ असोज, ७  
बजार समाचार उपभोक्ता
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दशैंको माहोल बनिसक्दा पनि व्यापार नबढेपछि असन र न्यूरोडका व्यवसायीहरू चिन्तित देखिएका छन् । 

नेपालीहरूको मुख्य चाड दशैंको समयमा विगतका वर्षहरूमा ग्राहकहरूको ठेलमठेल हुने असन र न्यूरोड बजार अहिले सुनसानजस्तै छन् । सामान्य समयभन्दा केही चहलपहल त बढेको छ । तर, सोचेअनुसारको चहलपहल हुन नसकेको व्यापारीहरूको गुनासो छ ।

गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरू किनमेलका लागि आउने गरे पनि यस वर्ष भने कम मात्रै आइरहेको उनीहरूले बताए ।

कोरोना महामारीपछि व्यापार-व्यवासाय राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालीहरूले पनि आफ्नो मुख्य चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् । यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगी संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

चाडवाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगीका बिरामीहरू दिनप्रतिदित बढिरहेका छन् । जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन् । साथै चाडवाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुने हुनाले भौतिकरूपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आँकलन गर्न सकिन्छ ।

कोरोनाका कारण आममानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरूको चहलपहल कम भएको हुनसक्ने न्यूरोडस्थित कपडा पसलका व्यापारी दिनेश शाहीले बताए । उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष कमै मात्र व्यापार भएको बताए ।

त्यस्तै न्यूरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको भनाइ पनि फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको उनको दुखेसो छ । उनले विगतका वर्षहरूमा हिँड्ने बाटो नहुने न्यूरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताए ।

दशैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरू अहिले समस्यामा परेको व्यवसायीको भनाइ छ । कोरोना भाइरस र बढ्दो डेंगी संक्रमणका कारण पनि मानिसहरू घरभित्रै भएकाले दशैंको सामान किन्न खासै बजार ननिस्किएको उनीहरूको भनाइ छ ।

ग्राहकलाई आकर्षित गर्न व्यवसायीहरूले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि सामान किन्ने मान्छे नै नहुँदा अफरको पनि कुनै अर्थ देखिएको छैन । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement