ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

लप्सीफेदी सबस्टेशन निर्माणको अवरोध हटाउन पहल

२०७९ असोज, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, लप्सीफेदीमा स्थानीयले ३ वर्षदेखि सबस्टेशन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ ओटा टावर निर्माण हुन सकेको छैन । 

लप्सीफेदी सबस्टेशन निर्माणका लागि करीब ७० जग्गाधनीको १ सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एउटा कित्ताका जग्गाधनीबाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन् । तर, मानव बस्तीमा सबस्टेशन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयले सबस्टेशन निर्माणमा अवरोध गरिरहेका छन् । सबस्टेशन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडी नयाँ ठेकेदार छनोट गरेको थियो । शुरूमा काम गर्न दिएका स्थानीयले नयाँ ठेकेदार आएपछि काम गर्न अवरोध गरेका छन् । त्यसैले करीब २ वर्षयता स्थानीयको अवरोधका कारण सबस्टेशन निर्माणको काम नै शुरू हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ । 

तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली मुख्य रूपमा काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेशन निर्माण गर्न लागिएको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादित विद्युत् काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ ।

यसैगरी लप्सीफेदी सबस्टेशनबाट उपत्यकामा विद्युत् छिराउन चाँगुनारायण सबस्टेशनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदै छ । चाँगुनारायणमा १३२ केभी सबस्टेशन निर्माणाधीन छ । चाँगुनाराण सबस्टेशनकै प्याकेजमा लप्सीफेदी सबस्टेशन राखिएको छ । तर, अधिग्रहण गरिएको जग्गामा समेत अवरोध हुँदा लप्सीफेदी सबस्टेशनको निर्माण अघि बढ्न सकेको छैन । 

प्राधिकरणका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शंखरापुर नगरपालिकाका मेयर रमेश नापितलगायत सम्मिलित टोलीले बिहीवार सबस्टेशन निर्माणस्थलको स्थलगत अवलोकन गरेको छ । 

टोलीले वडाध्यक्षहरू, प्रभावित, सरोकार समितिका पदाधिकारी र स्थानीय बासिन्दासँग छलफल गरी रणनीतिक महत्त्वको प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा अवरोध नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्माणका कारण स्थानीयलाई पर्ने मर्कालाई न्यूनीकरण गर्दै विकास आयोजनाहरूलाई अगाडि बढाइने बताए । ‘यस आयोजनाले नकारात्मक प्रभाव मात्रै पार्छ भन्ने छैन, निर्माणले थप नयाँ अवसर सृजना गर्न सक्छ । यस भेगलाई नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ कि ? यस विषयमा पनि छलफल गरौं । प्राधिकरण र प्रभावितबीच द्वन्द्व बढाउनेभन्दा पनि वार्ता र छलफलबाट समस्या समाधान गरौं,’ उनले स्थानीयलाई आग्रह गरे । प्राधिकरणले पेश गर्ने मुआब्जा तथा क्षतिपूर्ति प्रस्तावमा निर्णय गर्दा स्थानीयको मर्कालाई सम्बोधन गर्ने गरी लचकता अपनाइने र स्थानीयको संवेदनशीलतालाई ख्याल गरिने पनि उनले आश्वासन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बस्तीको बीचमा सबस्टेशन निर्माण गर्दा मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत भएको स्पष्ट पार्दै सबस्टेशन निर्माणबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने र उद्योग कलकारखाना स्थापनाको नयाँ अवसर सृजना हुने बताए । काठमाडौं उपत्यकामा ११ ओटाभन्दा बढी सबस्टेशन घनाबस्तीकै बीचमा रहेको तर त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको घिसिङले उदाहरण दिए । 

सबस्टेशन निर्माणमा राजनीतीकरण नगर्न आग्रह गर्दै घिसिङले भने, ‘जनतालाई गोली ठोकेर, मर्कामा पारेर सबस्टेशन निर्माण गर्न पक्षमा छैनौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस क्षेत्रको विकासका लागि विद्यालय, सडक, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्न तयार छौं । समुदाय विकासलाई गम्भीर भएर सोचौं, छलफल गरौं । रोजगारी, निर्माण कार्यलगायतमा स्थानीयलाई अधिकतम फाइदा हुने गरी सबस्टेशन निर्माण गर्नेछौं ।’

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement