ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

गाउँमा बाढी पसेपछि जंगलमा त्रिपाल टाँगेर बस्दै शुक्लाफाँटाका बाढीपीडित, सरकारले वास्ता नगरेकाे गुनासाे   

२०७९ असोज, ७  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२, एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।

बाढीले प्रभावित भएपछि जंगलमा त्रिपाल टाँगेर बसेको एकान्त टोलका मेघु बोहरा बताए । ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्,’ उनले भने, ‘घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।’

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरूको बिचल्ली भएको उनको गुनासो छ । ‘यतिका दिन भयो, आजसम्म जंगलमै त्रिपाल टाँगेर बसेका छौं, घर कसरी फर्किने ? त्यहाँ बाढीले केही राखेको छैन,’ उनले भने, ‘ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौं, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ ।’

जंगलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ । ‘घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौं,’ उनले भने, ‘वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको छ । ‘धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौं,’ उनले भने।

बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११, वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जंगलमा त्रिपालमुनि रात काटिरहेका छन् । बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ । ‘नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी ?’ स्थानीय बहादुर कामीले भने । 

बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताउँछन् । ‘चामल पाएका छौं, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने ? कसरी पकाउने ? बस्तीमा पानी पनि छैन,’ उनले द्ुखेसो पोखे । 

बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताउँछिन् । ‘राति एक्कासि बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन,’ उनले भनिन्, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जंगलमा बस्नुपरेको छ, खानलाई अन्न छैन ।’

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । ‘बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौं, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौं,’ उनले भने, ‘उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौं ।’ बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा संघ सरकारले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement