ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

असोजको पहिलो साता ४ अर्ब २० करोडको धितोपत्र कारोबार, नेप्से परिसूचक ७१.४२ अंकले घट्यो

२०७९ असोज, ८  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । असोज महीनाको पहिलो साताको कारोबारमा रू. ४ अर्ब २० करोड ८४ लाख ५७ हजार बराबरको १ करोड ५२ लाख २७ हजार २५२ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।

यो साता गत साताको भन्दा दुई दिन कम कारोबार भएको छ । नेप्सेले असोज महीनादेखि शुक्रवारको कारोबार बन्द गरेको हो भने असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा परेकाले बजार नखुलेको हो ।

गत साता ६ कारोबार दिनमा रू. ६ अर्ब ९८ करोड ९० लाख बराबरको २ करोड २७ लाख ६० हजार १४३ कित्ता धितोपत्र खरीदविक्री भएको थियो । गत साताको तुलनामा यो साता रू. २ अर्ब ७८ करोड ६ लाखभन्दा बढीको ७५ लाख ३२ हजार ८९१ कित्ता कम धितोपत्र कारोबार भएको हो । औषतमा कारोबार रकम गत साताभन्दा रू. ११ करोड २७ लाख ३० हजारले मात्र घटेको हो भने कारोबार कित्ता भने १३ हजार ४५५ ले बढेको हो ।

चार कारोबार दिनमा बजार तीन दिन घटेको छ भने एक दिन मात्र बढेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ९१० दशमलव ३८ विन्दुमा रहेको नेप्से परिसूचक पहिलो कारोबार दिन ३३ दशमलव ९७ अंक र दोस्रो कारोबार दिन ३८ दशमलव ८१ अंकले घटेको हो ।

तेस्रो कारोबार दिनमा ११ दशमलव १९ अंकले बढेको बजार चौथो कारोबार दिन भने ९ दशमलव ८३ अंकले घटेर बन्द भएको हो । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ८३८ दशमलव ९६ विन्दुमा बन्द भएको छ ।

गत साताको अन्तिम दिनको तुलनामा यो साता नेप्से परिसूचक ७१ दशमलव ४२ अंक तल झरेको हो । यो साता सेन्सेटिभ इन्डेक्स गत साताभन्दा १२ दशमलव ४७ अंक घटेको छ । गत साता ३७१ दशमलव ९० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३५९ दशमलव ४३ विन्दुमा झरेको हो ।

यो साता लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात कुल बजारपूँजीकरण रू. २६ खर्ब ४२ अर्ब २७ करोड ६० लाखमा खुम्चिएको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. २७ खर्ब ४४ अर्ब ८८ हरोड ३५ लाख थियो । यो साता लगानीकर्ताको सम्पत्ति मूल्य रू. १ खर्ब २ अर्ब ६० करोड ७५ लाखले घटेको छ ।

बजारले कम्पनीहरूले लाभांश सार्वजनिक गर्न थालेसँगै गति लिन सक्ने विश्वास लगानीकर्ताहरूको छ । पछिल्लो समय कम्पनीहरूले लाभांश सार्वजनिक गर्न थालिसकेको छन् । बजार सुधारको नयाँ नीतिगत कुराहरूले आकर्षित गर्न नसकेको लगानीकर्तालाई कम्पनीहरूको लाभांशले आकर्षित गर्ने विश्वास जानकारहरूले लिएका छन् ।
यो साता जलविद्युत् समूहका लगानीकर्ताले सर्वाधिक गुमाए 
यो साताको कारोबारमा १३ समूहगत उपसूचहरूमध्ये जलविद्युत समूहको सर्वाधिक ६ दशमलव ७३ प्रतिशत घटेको छ । जलविद्युतसँगै वित्त समूहको उपसूचक पनि ६ दशमलव ४५ प्रतिशत घटेको छ ।

उपसूचकमा आएको कमिको आधारमा यो साता जलविद्युत् र वित्त समूहका लगानीकर्ताले बढी गुमाएको देखिन्छ । यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू घटेका छन् ।

जलविद्युत् र वित्त समूहसँगै विकास बैंकको ५ दशमलव २७ प्रतिशत, व्यापारिकको ५ दशमलव ११ प्रतिशत, लगानीको ४ दशमलव ९१प्रतिशत, लघुवित्तको ४ दशमलव ५८ प्रतिशत, जीवन बीमाको ४ दशमलव २३ प्रतिशत, अन्यको ४ दशमलव २२ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ७७ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधनको ३ दशमलव शून्य ६ प्रतिशत, बैंकिङको १ दशमलव ९८ प्रतिशत र होटल तथा पर्यटनको सबैभन्दा कम १ दशमलव ९२ प्रतिशत उपसूचक घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro