ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बागलुङका ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा मात्रै खुला

२०७९ असोज, ८  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found

बागलुङ । गाउँगाउँमा सडक पुगेको छ । हिउँदमा धुलो उडाउँदै गाडीहरू गुड्छन् । तर, जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । 

असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दशैं आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् ।

गाउँमा पुगेका अधिकांश सडक सर्भेक्षणबिना निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर तत्काल अस्पताल पुर्‍याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ ।

बर्खाका कारण पहिरोले विभिन्न ठाउँमा सडक पुरिएका छन् भने कयौं स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताए ।  सडक पहिरोले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको उनको दुखेसो छ ।  

‘गाउँमा बाटो छैन भनौं भने छ । तर, बर्खामा गाडी नै चल्न सक्दैनन् । हिउँदमा त गाडी निरन्तर चल्छन् । गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ,’ स्थानीय घर्तीमगरले भने, ‘हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् ? दशैं आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।’

उनले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताए । ‘सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दा माथिदेखि पहिरो झरेर पुरिने हो की भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ? बोकेर भए पनि अस्पताल पुर्‍याउनु पर्‍यो, हामीलाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,’ घर्तीमगरले गुनासो गरे । 

बडीगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताए । असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको उनले बताए । अब दशैंमा सडक खुले मात्रै गाडी चलाउन शुरु गर्ने चालक बुढामगरको भनाइ थियो ।

‘बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजारतिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता तिर्ने उपाय त हुन्थ्यो,’ उनले भने, ‘पहिराले गाउँमै अड्कियो, अब दशैं आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो, पैसा पनि छैन केले दशैं मनाउने ?, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुपर्‍यो ।’

लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताए । उनले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताए । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्ने बताए । 

‘बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै पर्‍यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी पर्‍यो भने चिप्लिने डर हुन्छ,’ चालक विकले भने, ‘सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ । तर, कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।’

उनले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि नापजाँचबिना  सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताए । गाउँका सडकबाट आएको बाढी पहिरोले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ । रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro