ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ट्राफिक जामको बढ्दो समस्या

२०७९ असोज, ९  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar द्वैपायन रेग्मी

नेपालीहरूको महान् चाड दशैंको चहलपहलसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाम बढेको छ । यसै पनि यहाँको ट्राफिक जाम ठूलै समस्या बन्दै गएको छ । अझ कुनै भीआईपीको सवारी भएमा पूरै काठमाडौं अस्तव्यस्त हुन्छ ।

जनसंख्या वृद्धि हुनासाथ मानिसहरूको चहलपहल बढ्नु स्वाभाविक हो । हिजो पर्याप्त भएको ठाउँ बिस्तारै साँघुरो हुन थाल्छ अनि त्यसै गरी सडक पनि सानो देखिन थाल्छ । सवारीको संख्या दैनिक बढ्दो छ । सडक भने त्यसअनुसार विस्तार भएको छैन । इस्तानबुल, मस्को, किभ, बोगोटा, मुम्बई, बैंङलोर, नयाँ दिल्ली, टाकियो आदि जाम हुने शहरमा चिनिन्छन् । काठमाडौंमा पनि यो समस्या विकराल बन्दै गएको छ । एउटा ठाउँबाट अर्को ठाउँ पुग्न कति समय लाग्ने थाहा छैन । अझ कतिपय अवस्थामा त गाडीमा भन्दा हिँडेर छिटो पुग्न सकिन्छ । समस्या सडकको होइन, जाम व्यस्थापनको हो ।

राणाकालीन समयमा उनीहरूको रथ र घोडा कुद्ने आकार भए पर्याप्त हुन्थ्यो≤ तर आज यस्तो अवस्था छैन । हरेक घरमा न्यूनतम एउटा सवारीसाधन अनिवार्यजस्तो भइसकेको छ । सार्वजनिक सवारीसाधनको बेथितिका कारण यो अनिवार्यजस्तो भएको हो । चीनको राष्ट्रिय राजमार्गमा २०१० मा १०० किलोमीटरसम्म जाम भएको थियो जुन १० दिनसम्म रहेको थियो । यसलाई धेरैले सबैभन्दा लामो ट्राफिक जाम भन्छन् । नेपालमा यस्तो ट्राफिक जाम त भएको छैन, तर दशैंको समयमा मुग्लिङ–नारायणघाट पुग्न लाग्ने समय भने नियमितभन्दा दुई गुणा बढी भने हुने गरेको छ ।

तर, काठमाडौंको ट्राफिक जाम व्यवस्थापन गर्न सकिन्छ भने प्रमाण कलंकीको जाम हट्नु हो । काठमाडौंको जाम व्यस्थापनको उत्कृष्ट उदाहरण शायद यही नै हो । काठमाडौंमा हुने जामका पछाडि विभिन्न कारण छन् ।

सर्वप्रथम त, ट्राफिक लाइटको उचित व्यवस्थापनको खाँचो छ । हाम्रो ट्राफिक प्रहरीहरू दिनभर सडकमा खटिएर धूवाँधूलो खाएर ट्राफिक व्यवस्थापनमा लागेका छन् । तर, सरकारले ट्राफिक बत्तीको समेत राम्रो व्यवस्था गर्न सकेको छैन । एक त ट्राफिक बत्ती ज्यादै कम ठाउँमा छ, अर्को भएको बत्ती पनि प्राय: बिग्रिरहेको हुन्छ । यसको प्रयोग हुने हो भने ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग मिल्छ । यसले ट्राफिकलाई हुने धपेडी कम हुनुका साथै एउटा सहज कार्य गर्ने वातावरण सृजना हुने थियो ।

दोस्रो महत्त्वपूर्ण विकल्प भनेको वैकल्पिक मार्गको विकास गर्न सक्नु हो । वैकल्पिक मार्गको विकास गर्न सक्दा जाम कसरी घट्छ भन्ने पुष्टि बिपी राजमार्गले गरिसकेको छ । अहिले भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने एउटा मात्र मार्ग प्रयोग गर्ने गरिन्छ । यदि मनोहरा किनारालाई विकास गर्ने हो भने वा पेप्सीकोला हुँदै चाबहिल पुग्ने मार्गलाई सुधार गर्ने हो भने विकल्प अन्य निस्किँदा जाम विभाजित पनि हुन्छ । अझै पनि काठमाडौंमा रहेका खोलाछेउको बाटोलाई स्थायित्व दिन सकिएको छैन जसले गर्दा मुख्यमार्गतर्फ नै सबैको ध्यान जाने गरेको भेटिन्छ ।

काठमाडौंमा जाम हुनुको अर्को प्रमुख कारण सार्वजनिक यातायातको बेथिति पनि हो । सार्वजनिक यातायात सहज र सबल नहुँदा व्यक्तिगत साधन खरीद गर्नुपर्ने बाध्यता रहिआएको छ । विदेशमा जस्तो मेट्रो रेल तत्काल बनाउन सकिँदैन तर विद्यमान सार्वजिनक यातायातको संख्या बढाउनुका साथै उचित व्यवस्थापन गर्न सके यात्रीहरूलाई सहज हुन्थ्यो र निजी सवारी कम प्रयोग हुन्थ्यो  । तर, सार्वजनिक यातायातमा एकातिर सिन्डिकेट छ भने एकातर्फ साँझ पर्नेबित्तिकै गाडी पाउन सकिँदैन । भाडामा मनपरी छ । यात्रुसँग खलासीको व्यवहार उस्तै नराम्रो छ । लुटिने डर पनि उस्तै छ । त्यसैले सार्वजनिक यातायातको गुणस्तर वृद्धि नगरी निजी गाडी कम गराउन सकिँदैन । निजी गाडी घटाउनु भनेको थोरै सवारीसाधनले धेरैलाई गन्तव्यमा पुर्‍याउनु हो । यसले सडकमा सवारीसाधनको चाप कम पार्छ ।

काठमाडौंको जाम पार्किङसँग समेत जोडिएको छ । महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी पार्किङमा प्रयोग गरेको छ, उल्टो पार्किङ शुल्क असुली रहेको छ । यदि न्यूरोड क्षेत्रमा त्यसरी पार्किङ नगर्ने हो भने त्यहाँ हुने जाममा केही कमी अवश्य आउँथ्यो र वैज्ञानिक रूपले सडकको प्रयोग गर्न सकेमा समेत जाम कम हुने थियो । बिहान दायाँतर्फको सडक भीड हुने र बेलुकी बायाँतर्फको सडक भीड हुने गरेको भेटिन्छ । बिहान बायाँतर्फको सडक खाली रहँदा बेलुकी दायाँतर्फको तुलनात्मक रूपमा खाली देखिन्छ । डिभाइडरलाई सोहीअनुरूप मिलाई प्रयोग गर्न सकेमा जाममा कमी ल्याउन सकिन्छ । जसरी अहिले ट्रिपरलाई समय तोकिएको छ, त्यसरी नै अफिसका साधन, विद्यार्थी बोक्ने बस, सरकारी साधन, फोहोर बोक्ने सवारीलगायतलाई पनि समय तोकिदिने हो तथा गल्लीहरूमा ठूला साधनलाई समय तोकेर रोक लगाइने हो भने धेरै हदसम्म जाम न्यून गर्न सकिन्छ ।

हुन त राजधानी जस्तो ठाउँमा जाम हुनु स्वाभाविक नै हो । तर, यहाँ देखिएको जाम सवारीसाधन धेरै भएर हो भन्ने भनाइ साबित गर्न खोजिएको छ जुन गलत हो । अव्यस्थित भएकाले नै यसो भएको हो । एयरपोर्ट गेट अगाडि पनि जाम हुन्छ, तर त्यहाँ व्यवस्थित जाम हुने गरेको पाइन्छ । चालकहरू अनुशासित हुँदा जाम पनि केही हदसम्म व्यवस्थित नै हुन्छ । त्यस्तै प्रकारको जाम नयाँ बानेश्वरमा पनि भेटिन्छ, जहाँ यात्रुले कति बेर कुर्नुपर्ने हो पारदर्शी रूपमा हेर्न सक्छन् । जामलाई व्यवस्थित बनाउनु सडक मार्गको दुर्घटना न्यूनीकरण गर्नु पनि हो । यसले एउटा अनुशासित नीति सृजना गर्ने गर्छ र जनतालाई हतार गर्न बाध्य पार्दैन । गाडी चलाउनेलाई मोटरसाइकल बाधक लाग्छ, मोटरसाइकल चालकलाई गाडीहरू बाधक तर सडक कुनै एक पक्षको होइन । त्यसैले सबैले आफ्नो जिम्मेवारी बफादार भएर पूर्ति गर्न आवश्यक छ ।

 रेग्मी बैंकर हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro