ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै बरेङ

२०७९ असोज, ९  
गण्डकी प्रदेश
Tvs Raider NA

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धनको काम थालेको छ । पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको हो ।

पर्यटक आकर्षण गर्न पुरानासँगै नयाँ गन्तव्यको खोजी र प्रचारप्रसारमा लागेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । अध्यक्ष शर्माले अघिल्ला वर्षमा धेरै गन्तव्यमा पूर्वाधार निर्माण गरेर आगन्तुकलाई भित्र्याउन थालेको बताए । यसपटक वडा नं ४ मा रहेका छहरेखोला झरना र भैंसेखोला झरनाको विकासमा जुटेको उनको भनाइ छ ।

झरनासम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतीक्षालय निर्माण गर्न थालिएको उनले उनले बताए । दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिए । ‘बरेङको पर्यटन विकासका लागि हामीले शुरूको कार्यकालदेखि नै काम गर्दै आएका थियौं, अघिल्लो कार्यकालमा कौडेको धुरी, सत्यवती मन्दिर लगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्‍यौं, अहिले ती गन्तव्यमा आन्तरिक पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘गत वर्षदेखि नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने हिसाबले लागिपरेका छौं,’ उनले भने ।

पर्यटनमार्फत बरेङमा समृद्धि हासिल गर्न सकिने भएकाले यस क्षेत्रको विकासमा जोड दिएको अध्यक्ष शर्माको भनाइ छ । गाउँपालिकाभित्रका सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे लेक, छहरेखोला झरना, भैंसीखोला झरना, भित्रिवन, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उनले बताए ।

कौडेको धुरी र सत्यवती मन्दिरमा पूर्वाधार निर्माण भइसकेकाले प्रचारप्रसारमा बढी जोड दिइएको उनको भनाइ छ । गाउँपालिका धार्मिक पर्यटकीय स्थलको विकाससँगै कला संस्कृतिको समेत संरक्षणमा जुटेको छ ।

बरेङ गाउँपालिकामा विभिन्न जातजातिको बसोवास छ । उनीहरूको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरू लागिपरेको अध्यक्ष शर्माले बताए । गाउँपालिकाले मौलिक कला, संस्कृति, वेशभूषा र परम्परा संरक्षणका लागि यस वर्ष २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी उनले दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro