ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मकै बारीमा व्यावसायिक किबी खेती गरेर आम्दानी गर्दै मेलम्चीका कृषक 

२०७९ असोज, ९  
बागमती प्रदेश
Tvs Raider Image Not Found

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ‌देखि परम्परागत रूपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरू किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेशातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरूले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । ५० रोपनी बढी जमिनमा उनीहरूले खेती गर्दै आएका हुन् ।

परम्परागत रूपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरू लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताए । ‘२०७० साल बाट सुरु गरेका किबीका करिब १ हजार २०० बोट लगाएका छौँ’, उनले भने, ‘बजारमा किबीको मूल्य र माग दुवै छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।’

‘बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युब र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रू. १ करोडभन्दा माथि लगानी लागेको छ’, उनले सुनाए । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उनले बताए । 

‘जमिन बाँझो भएर बसेको छ । धेरै युवाले वैदेशिक रोजगारी रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागिरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दुःख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ’, दुलालले थपे । 

किबी खेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताए । ‘किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एक जना अग्रजबाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । ९/१० वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फलको खेती सुरु गरेका हौँ’, उनले भने । किबी फलको भविष्य राम्रो रहेको उनले बताए ।

यो व्यवसाय अन्य बालीभन्दा उपलब्धिमूलक रहेको समेत उनले दाबी गरे । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उनको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उनी बताउँछन् ।

मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब ६२५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । ‘५० प्रतिशत लागत साझेदारीमा गत वर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रू. १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ’, आचार्यले भने । 

शुरूमा एक पटक लगानी गरेपछि ४०-५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबी खेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको शुरूआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।
 

किबी खेती समुद्री सतहबाट १ हजार २०० मिटरदेखि २ हजार ४०० मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्त्वपूर्ण औषधिका रूपमा लिइन्छ । -रासस  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro