ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भ्रमण दशकमा गर्नुपर्ने काम

२०७९ असोज, १०  
सम्पादकीय
Tvs Raider Image Not Found

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई उत्थान गर्न सरकारले भ्रमण दशक (२०२३–२०३३) मनाउने भएको छ । यससम्बन्धी योजना मन्त्रिपरिषद्ले पारित गरेको छ । नेपालमा पर्यटक आगमन बढाउन यसअघि तीनओटा भ्रमण वर्ष मनाइएको थियो जसमा भ्रमण वर्ष २०२० भने कोरोनाका कारण स्थगित भएको थियो । यी भ्रमण वर्षले अपेक्षित परिणाम नदिए पनि पर्यटन व्यवसायलाई केही गति भने दिएका थिए । यस्तोमा भ्रमण दशकले पनि केही योगदान गर्ने आशा गर्न  सकिन्छ ।

केही पर्यटकीय गन्तव्य सस्ता पर्यटकका लागि खुला गर्नुपर्छ भने केही गन्तव्य खर्चिला पर्यटकका लागि मात्रै खुला गर्नुपर्छ । त्यसो हुँदा संख्या र गुणस्तर दुवै लक्ष्य पूरा हुन सक्छ ।

भ्रमण वर्ष २०२० ले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, कोरोनाका कारण पर्यटक आगमन ठप्प नै भयो भने पनि हुन्छ । नेपालको भौगोलिक बनोट, प्राकृतिक अद्वितीय सुन्दरता, सांस्कृतिक वैभव तथा हँसिला नेपालीका कारण नेपालमा उच्च सम्भावनायुक्त क्षेत्र मानिन्छ पर्यटन । तर, विडम्बना पर्यटक संख्या बढे पनि उनीहरूको बसाइ अवधि र खर्चसमेत बढ्न सकेको छैन, बरु केही घटेको छ । अत: भ्रमण दशकले पर्यटकको संख्या बढाउने मात्र होइन, गुणस्तरीय पर्यटक ल्याउने गरी नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ ।

हुन त हरेक वर्ष पर्यटक आगमन बढाउन सरकार र निजीक्षेत्रले आआफ्नो तर्फबाट काम गरिरहेकै हुन्छन् । तैपनि यस्ता विशेष अभियानले पर्यटक बढाउन केही न केही सहयोग मिल्छ नै । दशक मनाउँदा केकस्ता कार्यक्रम ल्याउने, पर्यटक प्याकेज कस्तो ल्याउने र यस अवधिमा आउने पर्यटकलाई के सुविधा दिने जस्ता कुरामा ध्यान दिनु आवश्यक छ । अन्यथा दशक मनाउनुको अर्थ हुँदैन ।

मुलुकमा संघीय र प्रादेशिक संसद्का लागि निर्वाचनको घोषणा भइसकेकाले अहिलेको सरकार काम चलाउ हो । कामचलाउ सरकारले ल्याउने यस्तो कार्यक्रम निर्वाचनबाट आउने सरकारले निरन्तरता दिन्छ कि दिँदैन भन्न सकिँदैन । तैपनि यो कार्यक्रममा निजीक्षेत्रको चासो भएको हुँदा दबाबमा यो कार्यक्रमले निरन्तरता पाउला भन्ने देखिन्छ । मन्त्री फेरिएपिच्छे पर्यटनका कार्यक्रम र नारा फेरिने भएकाले यो भ्रमण दशक पनि त्यस्तै नहोला भन्न चाहिँ सकिँदैन ।

जेभए पनि भ्रमण दशक मनाउनुको औचित्य पर्यटक आगमन बढाउनु नै हो । नेपालमा आउने धेरैजसो पर्यटक कम खर्चालु हुन्छन् । झोले पर्यटक भनेर चिनिने यस्ता पर्यटकले खाने कुरासमेत बोकेर ल्याउने र ज्यादै कम खर्चमा यहाँको अद्वितीय प्राकृतिक सुन्दरतायुक्त स्थलमा पर्यटनको स्वाद लिने गरेका छन् । यस्ता पर्यटकबाट मुलुकले आर्थिक लाभ लिन सक्दैन उल्टो उनीहरूले यहाँ फोहोर गरेर जान्छन् । त्यसैले अब टाउको गनेर पर्यटनको उपलब्धि देखाउने प्रवृत्ति अन्त्य हुनुपर्छ र कुल गार्हस्थ्य उत्पादनमा यसको अंश बढाउनुपर्छ । गुणस्तरीय पर्यटनका लागि हामीले भुटानलाई उदाहरणका रूपमा लिन सक्छौं ।

भुटान जाने प्राय:जसो पर्यटक नेपाल भएर जान्छन् । तर, त्यहाँ प्रवेश गर्न महँगो शुल्क तिर्नुपर्छ भने उनीहरूले प्रतिदिन गर्ने खर्च पनि २ सय डलरभन्दा माथि छ । त्यहाँ भारतीय पर्यटकले प्रतिदिन १२ सय भारू खर्च गर्नैपर्ने नियम बनाएको जानकारीमा आएको छ । जनसंख्याको अनुपातमा पर्यटक आगमन हेर्दा दक्षिण एशियामा भुटान दोस्रो देखिन्छ । तर, उसले झोले पर्यटकलाई आफ्नो देशमा आउन नै दिएको छैन । नेपालले यस्तै नीति त लिन सक्दैन किनभने विभिन्न स्तरका पर्यटकलाई लक्षित गरिएका होटेलहरू सञ्चालनमा रहेका छन् । तैपनि गुणस्तरीय पर्यटनका लागि नेपालले ठोस नीति लिन भने आवश्यक छ ।

त्यसैले अब केही पर्यटकीय गन्तव्य सस्ता पर्यटकका लागि खुला गर्नुपर्छ भने केही गन्तव्य खर्चिला पर्यटकका लागि मात्रै खुला गर्नुपर्छ । त्यसो हुँदा संख्या र गुणस्तर दुवै लक्ष्य पूरा हुन सक्छ । जेजस्तो रणनीति लिए पनि भ्रमण दशकलाई  उपलब्धिपूर्ण बनाउन निजीक्षेत्रसँग पर्याप्त छलफल गरेर समन्वय कायम गरेर अघि बढ्नैपर्ने देखिन्छ । यस्तै अहिलेको अर्को आवश्यकता स्थानीय उत्पादनको जतिसक्दो बढी खपत बढाउने हो । अहिले नेपाल आउने पर्यटकले रक्सी मात्र विदेशी सेवन गर्दैनन्, तरकारी, खाद्यवस्तुसमेत आयातित नै उपभोग गर्छन् । त्यसैले भ्रमण दशकको घोषणा हुँदै गर्दा एकातिर स्थानीय उत्पादन बढाउने नीति लिन आवश्यक छ भने अर्कोतर्फ त्यस्ता वस्तुको खपत गर्ने अग्रसरताको योजना चाहिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro