ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

वैदेशिक व्यापारमा उतारचढाव

२०७९ असोज, ११  
सम्पादकीय
Tvs Raider Image Not Found

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौसम्ममा देशको वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेको छ । यसमा पनि आयात १३ दशमलव शून्य १ प्रतिशत घटेको छ भने निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । यसरी व्यापारघाटामा पनि ९ दशमलव ४५ प्रतिशतले कमी आएको छ । यसरी वैदेशिक व्यापारमा अकस्मात् उच्च अन्तर आउनु भनेको अर्थतन्त्रको अनिश्चितताको संकेत हो । यस्तो अनिश्चितता विगतमा पनि हुने गरेको थियो । कुनै पनि देशको अर्थतन्त्रको लय तथ्यांकका आधारमा विश्लेषणीय र केही हदसम्म अनुमेय पनि हुन्छ । तर, अहिले नेपालको वैदेशिक व्यापारको आँकडाले अर्थतन्त्र अस्वाभाविक छ र सरकारी नीति र लक्ष्यअनुसार भएको छैन भन्ने देखाउँछ ।

सरकारले विनाअध्ययन वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउँदा एकातिर राजस्व प्रभावित भएको छ भने अर्कातिर अनौपचारिक अर्थतन्त्रलाई प्रश्रय मिलेको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएपछि सरकारले आयात नियन्त्रणका लागि विभिन्न नीति लियो । प्रतीतपत्रमा कडाइ गर्नुका साथै केही वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । प्रतिबन्ध लागेको वस्तुको आयात घटेपछि सम्पूर्ण आयात घट्नु स्वाभाविकै हो । यसलाई सरकारको नीतिले काम ग¥यो भनेर भन्न सकिन्छ । तर, आयातमाथिको प्रतिबन्ध वा कडाइले अर्थतन्त्रमा पर्ने असरबारे सरकारले चासो नदिँदा अर्थतन्त्रका अन्य क्षेत्रमा असर परेको देखिन्छ । सरकारले निर्यात वृद्धिलाई उच्च प्राथमिकता दिएर निर्यातमा अनुदान दिने व्यवस्थासमेत गरेको अवस्थामा निर्यात उच्च दरले घट्नु अस्वाभाविक हो, सरकारी नीतिले काम नगर्नु हो ।

सरकारले आयातमा जति नै कडाइ गरे पनि सवारीसाधनबाहेक अन्य वस्तु चोरीपैठारी भएको सहजै अनुमान गर्न सकिन्छ । किनभने ती वस्तुको आयात घटेको छ तर बजारमा सामानको आपूर्ति खासै घटेको छैन । सवारीसाधन चाहिँ दर्ता गरेर मात्र चलाउन पाइने भएकाले त्यसको चोरीपैठारी हुन नसकेको हो । यसका पार्टपुर्जा भने चोरीपैठारी भएको अनुमान छ । सरकारले विनाअध्ययन वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउँदा एकातिर राजस्व प्रभावित भएको छ भने अर्कातिर अनौपचारिक अर्थतन्त्रलाई प्रश्रय मिलेको छ ।

सरकारले प्रोत्साहन गर्दा पनि निर्यात ३४ दशमलव ८८ प्रतिशतले घट्नुको कारण नेपालमा निर्यातयोग्य वस्तुको उत्पादन ज्यादै कम हुनु र आयातित कच्चा पदार्थबाट प्रशोधित पाम र भटमासको तेलको भारतमा निर्यात घट्नु हो । भन्सार दरको अन्तरका कारण फाइदा हुने देखेर व्यापारीहरूले क्षणिक लाभ लिन गरेको निकासी वृद्धि भारतको सानो नीतिगत परिवर्तनले प्रभावित हुनु स्वाभाविकै हो ।

आयात होस् वा निर्यात, दुवैको कारोबार अकस्मात् ठूलो अंकले बढ्छ वा घट्छ भने अर्थतन्त्र स्वस्थ र दिगो खालको छैन, क्षणिक लाभ हेरेर बजार चलेको छ भन्ने बुझ्न सकिन्छ । आयात कति होला र निर्यात कति गर्न सकिन्छ, कति बढाउन सकिन्छ भनेर सरकारले सम्भावित आँकडा पेश गर्ने गरेको छ । सरकारले बनाउने बजेटमा पनि यसको सम्भावित कारोबार उल्लेख गरिएको हुन्छ । यसैका आधारमा सरकारले राजस्व कति उठ्छ भन्ने अनुमान सार्वजनिक गर्छ । अहिले सरकारले अन्य शीर्षकबाट उठाउने राजस्व अनुमान गरेअनुसार नै करीब करीब उठेको छ, तर भन्सार राजस्व भने लक्ष्यअनुसार उठेको पाइँदैन । सवारीसाधनको आयातबाट सरकारले प्राप्त गर्ने राजस्वमा ठूलै असर परिरहेको छ । त्यस्तै निर्यातको अनुमान पनि मिलेको छैन ।  

नेपालको आफ्नो उत्पादन निर्यात गर्न नसक्दा अथवा दिगो निर्यातमा केन्द्रित नहुँदा नै निकासी ठूलो अंकले घटेको हो । वैदेशिक व्यापार घट्दा औद्योगिक वस्तुको आयातसमेत प्रभावित भएको हुन सक्छ । त्यस्तै औद्योगिक वस्तुको उत्पादन पनि घटेको हुन सक्छ । तर, यसबारे पर्याप्त अध्ययन भएको छैन । कति उपभोक्ता छन्, कस्तो क्रयशक्ति भएको जनसंख्या कति छ, आयातित वस्तुको खपत कति हुन्छ भन्ने बारेमा सरकारले अध्ययन गरेको छैन । त्यही भएर कति वस्तु आयात हुन्छ त्यो यहीँ खपत भएको छ कि नेपाल ल्याएर अन्य देशमा पठाइएको छ भन्ने सही तथ्यांक पनि पाउन सकिँदैन । अतः वैदेशिक व्यापार अनुमानयोग्य बनाउने गरी नीति र संरचना बनाउनु आवश्यक देखिन्छ । यस्तो उतारचढावबाट बच्न मौलिक उत्पादनलाई जोड दिई लाभमा स्थायित्व कायम गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro