ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपालका लागि जलविद्युत्को औचित्य

लगानीका लागि सम्भावित विकल्पहरू

२०७९ असोज, १२  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar कमलराज ढुंगेल

कुनै पनि देशको विकास आन्तरिक पूँजी र प्रविधिले मात्र हुन सकेको छैन । आन्तरिक स्रोतका साथै बाह्य स्रोतको उपयोग त्यत्तिकै भइरहेको छ । दुवै वित्तीय साधन र प्रविधिको गतिशीलताले विश्वलाई भरिभराउ बनाएको छ । नेपाललाई प्रकृतिले नि:शुल्क प्रदान गरेको उपहार जलस्रोत हो, जसबाट जलविद्युत्को विकास गर्न सकिन्छ । हुन त सन् १९६० को दशकभन्दा अगाडि जलविद्युत्ले संसारभर खासै महत्त्व पाउन सकेको थिएन । प्राविधिक र आर्थिक जटिलताहरूले जलविद्युत् जेलिएका कारण पनि प्राथमिकतामा पर्न नसकेको हुन सक्छ । सन् १९६० को दशकदेखि नै विश्वमा जलवायु परिवर्तनका गहिरिएका लक्षणहरू देखापर्न थाले । विश्व प्रदूषित हुन लागेको मात्र होइन कि यसको असरले विभिन्न प्राकृतिक प्रकोपको शुरुआत हुन लाग्यो । प्रदूषणका कारण विभिन्न प्रकारका रोगव्याधि बढ्न थाल्यो । मानवजाति बसोवास गर्ने बस्तीहरूमा वायुप्रदूषणमा वृद्धि हुन लाग्यो । अहिले मानव बस्तीहरू अस्तव्यस्त हुने अवस्थामा पुगिरहेका छन् ।

आयोजनाहरूको निर्माणका लागि सम्भव भएसम्म वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन नेपालले अथक प्रयत्न गर्नुपर्छ ।

वायुप्रदूषण पेट्रोलियम पदार्थ (अनवीकरणीय ऊर्जा) को अधिक प्रयोगले गराएको तथ्य वैज्ञानिकहरूका विभिन्न खोजले औंल्याइरहेका छन् । विश्वका प्रभावशाली देशहरूको ध्यान यसतर्फ आकर्षित हुन थालेको छ । फलस्वरूप वायुप्रदूषण नियन्त्रण गर्न नवीकरणीय ऊर्जाको खपत बढाई अनवीकरणीय ऊर्जा विस्थापित गराउन पर्ने तथ्यको मनन विश्वका देशहरूले गरिरहेका छन् । यसका लागि नवीकरणीय ऊर्जाको विकासले प्राथमिकता पाउन थालेको छ । यसैको फलस्वरूप नवीकरणीय ऊर्जा विकासका लागि विश्वको ध्यान आकर्षित भइरहेको छ । अधिक र कम वर्षा, बाढी पहिरोको प्रकोप, समुद्री आँधीमा उतारचढाब, नयाँनयाँ रोगव्याधि आदिको उत्पत्ति जलवायु परिवर्तनको एक अंश भएका कारणले आउँदा दिनहरूमा नवीकरणीय ऊर्जाको महत्त्व बढ्दै जाने तथ्यलाई नकार्न सकिँदैन ।

नवीकरणीय ऊर्जामध्ये जलविद्युत् एक हो । आजको विश्वव्यापीकरणको समयमा जलविद्युत् विकासले महत्त्वपूर्ण स्थान पाइरहेको छ । यसको विकासले अनवीकरणीय ऊर्जाको खपतमा कमी ल्याई कुनै एक क्षेत्र वा इलाकालाई मात्र होइन, विश्वलाई नै प्रदूषण मुक्त गराउन सहयोग गर्न सक्छ । नवीकरणीय ऊर्जाका स्रोतहरू हावा, सौर्य र जलविद्युत्लाई प्रमुख स्रोतका रूपमा लिइन्छ । सौर्य ऊर्जा जुनसुकै स्थान विशेष (घरघर, टोलटोल, गाउँगाउँका साथै साना ठूला सबै शहरहरू, सडक सडक आदि) मा उत्पादन गर्न सकिन्छ । हावाको सहयोगले उत्पादन हुने विद्युतीय ऊर्जाको आफ्नै खालका जटिलता छन् । त्यस्तै गरेर जलविद्युत् निश्चित ठाउँमा मात्र उत्पादन गर्न सकिन्छ । त्यसैले जलविद्युत्को विकास सहज नहुनाको मुख्यकारण बिजुली खपत हुने ठाउँसम्म पुर्‍याउन लामो प्रसारण लाइन नहुनु हो । बिजुली उत्पादन भएको स्थानबाट बिजुली खपत हुने स्थानसम्म पुर्‍याउँदा २० देखि ३० प्रतिशतसम्म विद्युत् चुहावट हुन सक्छ । यति हँुदाहँुदै पनि यसको महत्त्व र औचित्यमा प्रश्न उठिरहेको छैन । विश्वका धनाढ्य मुलुकहरूले यसको विकासका लागि चासो देखाइरहेका छन् । नेपालमा उत्पादन भएको जलविद्युत्को खपत भारत र बंगलादेशमा हुने तथ्य घामजस्तै छर्लङ्ङ छ । नेपालमा उत्पादित बिजुलीले एकातिर नेपालभित्रै सम्भावित उद्योगहरूको विकासमा टेवा पुर्‍याउँछ भने अर्कोतिर बिजुली निर्यातबाट यथेष्ट वैदेशिक मुद्रा कमाउन सक्छ ।

जलविद्युत् विकासका लागि पर्याप्त पूँजीको आवश्यकता पर्छ । एउटा कुनै खास मुलुकले मात्र यसको विकासमा लगानी गर्न कठिनाइ पर्छ । यसका लागि क्षेत्रीय राज्यहरूको सहभागिताको आवश्यता पर्छ, जहाँ बिजुलीको व्यापार वा विनिमयका लागि सहज होस् । दक्षिण एशियाली मुलुकहरू जलविद्युत् उत्पादनका लागि अत्यन्त उर्वर छन् । विशेष गरेर बंगलादेश, भुटान, इन्डिया र नेपाल एक आपसमा नजीक छन् । जलवायु परिवर्तनका कारणले पाकिस्तान पीडित भइरहेको तथ्य सिन्धुनदीमा यसपालि आएको बाढीले प्रमाणित गरेको छ । नेपाल र भुटानमा जलविद्युत् उत्पादनको सम्भावना बढी छ । पूँजी र प्रविधिको जटिलताका कारणले पनि यो क्षेत्रको विकासले प्राथमिकता पाउन सकेको छैन । यो क्षेत्रको विकास गर्न वैदेशिक लगानीको आवश्यकता पर्छ । यथेष्ट पूँजी संकलन गरेर जलविद्युत्को विकास गर्न दक्षिण एशियाका माथि उल्लिखित देशहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने देखिन्छ ।

विशेष गरेर नेपालमा उपलब्ध जलविद्युत्को सम्भावनाको लगभग ५ प्रतिशत दोहन हुन सकेको उपलब्ध तथ्यांकले देखाइरहेको छ । ४२ हजार मेगावाट बिजुली उत्पादनको सम्भाव्यता भएको देशमा केवल २ हजार २ सय ६९ मेगावाट मात्र बिजुली उपलब्ध छ । यो पनि नेपालमा खपत हुन नसकेर यसको केही अंश हाल भारतमा निर्यात भइरहेको छ । विगत ४ महीनाको अवधिमा नेपालले भारतमा निर्यात गरेको बिजुलीबाट करीब ७ अर्ब रुपैयाँ आर्जन गरिसकेको छ । यो आशाजनक कुरा हो । नेपालमा उत्पादित बिजुलीले भारतमा बजार पाउन सकेको उदाहरण हुनुका साथै बंगलादेश र पाकिस्तान पनि नेपालमा उत्पादित बिजुलीका लागि बजार बन्न सक्छन् भन्ने तथ्यको संकेत पनि हो ।

जलविद्युत् विकासका लागि पर्याप्त पूँजीको आवश्यकता पर्ने भएकाले क्षेत्रीय र अन्तरराष्ट्रिय पूँजीबजारलाई गतिशील बनाउन नेपालले पहलकदमी गर्नुका साथै अग्रणी भूमिका निर्वाह गर्न सक्नुुपर्छ । दुईपक्षीय सहयोग जस्तै भारत (अरुण–३) र बंगलादेश (सुनकोशी–३) मा भइरहेको लगानी जस्तै अन्य यस प्रकारका जलविद्युत् आयोजनाहरूको निर्माणका लागि लगानी जुटाउन नेपालले अझ बढी प्रयत्न गर्नुपर्छ । जलविद्युत् विकासका लागि पाकिस्तानलाई पनि संलग्न गराउन नेपालले प्रयत्न गर्न जरुरी छ । त्यस्तै गरेर बहुपक्षीय सहयोगका लागि अन्तरराष्ट्रिय संघसस्थाहरू (विश्व बैंक, एशियाली विकास बैंक, ओपेक, अन्तरराष्ट्रिय वित्त निगम, अन्तरराष्ट्रिय मुद्राकोष, केएफडब्ल्यू आदि) मा पहलकदमी गर्न जरुरी पर्छ । नवीकरणीय ऊर्जा प्राप्तिका लागि नेपालको जलविद्युत् उत्पादनको अभियानलाई साथ दिन बाँकी दक्षिण एशियाका मुलुकहरूले हातेमालो गर्ने कुरामा शंका गर्न सकिँदैन । यस्तै गरेर विश्वको दोस्रो धनी मुलुक नेपालको उत्तरमा रहेको चीन पनि नेपालको जलविद्युत् विकास गर्न उत्सुक देखिन्छ । यो उत्सुकतालाई मूर्तरूप दिन नेपालले कूटनीतिक पहल थाल्नुपर्छ ।

 नेपालले दुईपक्षीय र बहुपक्षीय सहयोग लिनुका साथै जलविद्युत् विकासका लागि वैदेशिक प्रत्यक्ष लगानीलाई पनि गतिशील बनाउन प्रयत्न गर्नुपर्छ । वैदेशिक प्रत्यक्ष लगानीबाट निर्माण भएको केही जलविद्युत् आयोजनाहरूबाट बिजुली उत्पादन भइरहेको छ । विशेषगरेर खिम्ती–१ (६० मेगावाट) र भोटेकोशी (३६ मेगावाट) जलविद्युत् आयोजनाहरूको निर्माण वैदेशिक प्रत्यक्ष लगानीबाट भएको हो, जसमा लगानी क्रमश: नर्वे र संयुक्त राज्य अमेरिकाले गरेका थिए । पश्चिम सेती, बूढीगण्डकी, माथिल्लो अरुण जलविद्युत् आयोजनाहरूले लगानीकर्ताको प्रतीक्षा गरेर पर्खिरहेका छन् । यी आयोजनाहरूको निर्माणका लागि सम्भव भएसम्म वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन नेपालले अथक प्रयत्न गर्नुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी नेपालमा भित्र्याउन राजनीतिक स्थिरता, सुशासन चाहिन्छ, खुलेयाम भएको भ्रष्टाचारको नियन्त्रण र शान्तिसुरक्षाको आवश्यकता पर्छ । माथिको उल्लेख गरिएको विश्लेषणबाट के स्पष्ट हुन्छ भने नेपालको जलविद्युत् सम्भावनाको उत्पादन गर्न पूँजी संकलनका सबै खाले विकल्पहरूलाई गतिशील बनाउन सक्नुपर्छ । जलविद्युत् विकासमा पूँजी लगानीका ४ विकल्प (आन्तरिक पूँजीको परिचालन, द्विपक्षीय पूँजीको परिचालन, अन्तरराष्ट्रिय संघसंस्थाबाट हुने वित्तीय सहयोगको परिचालन र वैदेशिक प्रत्यक्ष लगानी) छन् जसलाई नेपालले लगानीका लागि प्रोत्साहन गर्नुपर्छ । यसका अतिरिक्त हाल नेपालमा जलविद्युत् उत्पादनका लागि निजीक्षेत्रको सहभागिता उल्लेखनीय देखिएको छ । नेपालको कुल बिजुली उपलब्धताको ६० प्रतिशतभन्दा बढी अंश निजीक्षेत्रले ओगटेको छ । सरकारले निजीक्षेत्रलाई परिचालन गर्न वा उत्साहित बनाउन स्थायी तथा भरपर्दो नीति अवलम्बन गर्नुपर्छ ।

लेखक अर्थशास्त्री हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro