ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

२०७९ असोज, १२  
गण्डकी प्रदेश
Tvs Raider NA

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावका बेला कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने सुनाए । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने आश्वासनले दंग परे । बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने मुख्य नाकाको रूपमा रहेको कुश्मामा राजमार्ग बनेको तीन दशकसम्म पनि बसपार्क बन्न सकेको छैन ।

दोस्रो पटक पनि नगर प्रमुखमा निर्वाचित बनेपछि जोशीले तीनतले बसपार्कको काम अघि बढाइने कुरा पुन: दोहोर्‍याए । कुश्मा नगर बहुुउद्देश्यीय बसपार्क तथा सिटी हल निर्माणको विषय उनले बजेट वक्तव्यमा समावेश पनि गरेका छन् । तर बसपार्क निर्माण हुनेमा धेरैले शंका व्यक्त गरेका छन् । त्यसो त प्रदेश र संघको चुनाव जितेका नेताले समेत बसपार्क निर्माणमा पहल गर्न सकेनन् । अघिल्लो संघीय चुनावमा एमालेबाट सांसद भएका पदम गिरीले भाषण गर्दै गाउँगाउँ पुग्ने बाटा चिल्ला बनाउने बताएका थिए । तर, ५ वर्षपछि पनि ग्रामीण सडकको अवस्था उस्तै छ ।

‘बसपार्कका लागि जग्गा पनि छुट्ट्याइएको छ, सामान्य बस पार्किङ गर्न मिल्ने बिसौनी बनाइदिएको भए पनि हुन्थ्यो, अहिले गाडीहरू बाटोमै लाइन लगाएर पार्किङ गनुपर्ने अवस्था छ,’ स्थानीय युवा विकास पौडेलले भने, ‘नेताहरूले सस्तो लोकप्रियताका लागि विकास निर्माणको सपना मात्र देखाए ।’

बसपार्क निर्माणका लागि कुश्मा नगरपालिका–६ मा शिवालय धार्मिक विकास गुठीले १२ रोपनी जग्गा छुट्ट्याएको डेढ दशकभन्दा बढी भयो । अहिले त्यहाँ वरपर फोहोर र झाडीले भरिएको छ । साथै ढुंगा, माटोको थुप्रा, निर्माण सामग्रीलगायत वस्तु राख्ने स्थान बनेको छ । ‘हामीले सार्वजनिक जग्गा चाहिन्छ भनेर लडेर बचाएको जग्गा हो,’ बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भने, ‘नेताहरूले बसपार्क निर्माणको पहल गर्नुपर्ने हो, त्यो देखिएन ।’
बसपार्क नहुँदा सबैभन्दा बढी मारमा छोटो दूरीमा गुड्ने सार्वजनिक सवारीसाधन पर्ने गरेका छन् । कुश्माबाट बागलुङ र जिल्लाका विभिन्न गाउँमा पुग्ने सवारीसाधनले बसपार्कको अभावमा सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् ।

बसपार्क नहुँदा ट्राफिक प्रहरीलाई पनि सास्ती भएको छ । मुख्य राजमार्गमा छेउछाउमा मनलाग्दी गरिने पार्किङदेखि बजारभित्रका साँघुरा बाटोको दुई छेउमै गरिने पार्किङले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ । ‘व्यवस्थित बसपार्क नहुँदा सवारीसाधनले मनलाग्दी पार्किङ गरिरहेका छन् । यद्यपि यसको व्यवस्थापनमा सक्दो प्रयास गरेका छौं,’ ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेले भने, ‘जथाभावी सडकमा गरिने पार्किङबाट लामा दूरीका सवारी साधनलाई लगभग हटाइसकेका छौं, तर स्थानीय रूटमा चल्ने सवारीसाधनको व्यवस्थापनका लागि पार्किङ स्थल नै चाहिन्छ ।’
 
पछिल्लो समय कुश्मा साहसिक पर्यटनको उपयुक्त गन्तव्य बन्दै गएको छ । सोही कारण पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । तर पर्यटकका सवारीसाधन पार्किङ स्थलको अभावमा सडकमै राख्नुपर्ने अवस्था छ । ‘बसपार्क पर्वतको पहिचानसँग पनि जोडिएको विषय हो,’ पर्यटन व्यवसायी नेत्र पराजुलीले भने, ‘कुश्मा आउने पर्यटक आफ्ना सवारीसाधन व्यवस्थित ढंगले पार्किङ गर्न नपाउँदा अप्ठ्यारोमा पर्ने गरेका छन् ।’ यस्तै मनलाग्दी गरिने सवारीसाधनको पार्किङले बजारलाई अव्यवस्थित बनाएको पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर बी पौडेलले बताए ।

बसपार्कका लागि लगानी आवश्यक पर्ने भएकाले ऋणका लागि नगर विकास कोषसँग छलफल भइरहेको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । आफूहरूको कार्यकालमा जसरी पनि तीनतले बसपार्क बनाउने कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बताए । ‘जग्गाको विषय टुंग्याउने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘नगर विकास कोषले ऋण दिने कुरा भएकाले बसपार्क बनाएरै छाड्छौं ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro