ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

हेलम्बुमा स्याउसँगै चियाखेती

२०७९ असोज, १२  
बागमती प्रदेश
Tvs Raider NA

सिन्धुपाल्चोक । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियाखेतीमा समेत पहिचान पाउने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चियाखेती गर्न थालेपछि गाउँपालिकाले बिरुवा नि:शुल्क वितरण गरेको छ । यससँगै हेलम्बुमा चियाखेती विस्तार हुन थालेको छ ।

दुई वर्ष अघिदेखि किसानलाई नि:शुल्क बिरुवा वितरण गरेर शुरू गरिएको चियाखेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । शुरूमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करीब दुई हेक्टर जमीनमा लगाएका थिए । खेर गएको बाँझो जमीनमा चियाखेती शुरू गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्य राखेका छन् ।

गाउँका किसानले चियाखेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चियाखेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पुर्‍याउने अपेक्षा छ,’ अध्यक्ष शेर्पाले भने, ‘चियाखेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro