ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

१६ ब्रोकर कम्पनीले मात्र नेप्सेको टिएमएस चलाउने, ३३ ब्रोकरले रोजे श्रीलंकन टिएमएस*

२०७९ असोज, १२  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । हाल सञ्चालनमा ब्रोकर कम्पनीहरूमध्ये १६ ओटा कम्पनीहरूले नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस ) चलाउने भएका छन् ।

५० ओटा ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा टिएमएस प्रयोगका सम्बन्धमा जानकारी दिंदै निवेदन पेश गरेका छन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ५० ब्रोकर कम्पनीहरूमध्ये १६ ओटा कम्पनी नेप्सेकै टिएमएस चलाउन इच्छुक रहेको बताए । यी बाहेक ३३ ब्रोकरले श्रीलंकन कम्पनीको र एक ब्रोकरले भारतीय कम्पनीको टिएमएस प्रयोग गर्ने विवरण नेप्सेमा पेश गरेको उनले बताए । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयनमा आएसँगै ब्रोकरहरूले आफ्नो इच्क्षा अनुसारको टिएमएस चलाउन पाउने उनको भनाइ छ । ३३ ब्रोकरहरूले श्रीलङ्काको ironone कम्पनीको र एक ब्रोकर कम्पनीले भारतीय डिएन ग्लोबल सोलुसन कम्पनीको टिएमएस प्रयोग गर्ने जानकारी दिंदै निवेदन दिएको उनको भनाइ छ । ब्रोकरहरूले दिएको निवेदन उपर जाँचबुझका लागि कमिटिनै गठन गरेर काम भरहेको जानकारी समेत उनले दिए ।

‘नेप्सेकै टिएमएस प्रयोग गर्ने इच्छा गरेका ब्रोकरहरू वाहेकका ब्रोकरहरूलाई आशय पत्र प्रदान गरिसकेका छौं’, उनले भने, ‘अब उनिहरुले सिष्टम डेभलपसहितका आवश्यक सम्पूर्ण काम गरिसकेपछि अन्तिम स्वीकृति दिनेछौं ।’

भारतीय कम्पनीको टिएमएस चलाउने इच्छुक एक मात्र ब्रोकर कम्पनी भने नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) रहेको छ । ब्रोकर कम्पनीहरूले छनोट गरेका कम्पनीको टिएमएसका वारेमा छुट्टै प्रस्तुतीकरण समेत दिनुपर्ने जानकारी नेप्सेले दिएको छ । नेप्सेले ती कम्पनीहरूको वारेमा जाँचबुझ गरी उपयुक्त देखेमा मात्र स्वीकृति दिने तयारी गरेको छ ।

गत वैशाखमा नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा टिएमएस विकासकर्ता कम्पनीसँग ५ वर्षको कार्य अनुभव भएको, विगत तीन वर्षयता लगातार वार्षिक औसतमा रू. ७ करोडको कारोबार गरेको कम्पनी हुनुपर्ने उल्लेख छ ।

विदेशी कम्पनीले नेपालमा कारोबार व्यवस्थापन प्रणाली विकास गर्ने हो भने स्थानीय प्रतिनिधि (कुनै संस्था वा कम्पनी ) नियुक्त गरेको हुनुपर्ने व्यवस्था समेत विनियमावलीमा छ । स्थानीय प्रतिनिधिको चुक्तापूँजी रू. १ करोड र तीन वर्षको कार्यअनुभव भएको हुनुपर्ने व्यवस्थासहित सफ्टवेयर विकास गर्न सकने र मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति हुनुपर्न समेत उल्लेख छ ।

३३ ब्रोकर कम्पनीहरूले रोजेको श्रीलंकन आइरन वान कम्पनी स्टक बजारसँग सम्बन्धित सफ्टवेयर उत्पादन गर्ने कम्पनी रहेको बताइएको छ  । श्रीलंकाको कोलम्बोमा मुख्य कार्यालय रहेको यस कम्पनीले अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नो शाखा विस्तार गरेको जानकारी ती ब्रोकर कम्पनीहरूले दिएका छन् । श्रीलंकन टिएमएस भित्र्याउन नेपालस्थित स्थानीय कम्पनी डिजि हबलाई जिम्मा दिईएको ब्रोकरहरूको भनाइ छ ।

हाल नेप्सेले वाइको कम्पनीले बनाएको टिएमएस सञ्चालन गरिरहेको छ । नेप्सेको टिएमएसमा विभिन्न समस्या आएको भन्दै ब्रोकर कम्पनीहरूले आफ्नै टिएमएस चलाउन माग गर्दै आएका थिए । नेप्सेले २०७५ साल कात्तिक २० गतेदेखि नेपालको धितोपत्र दोस्रो बजारलाई पूर्ण अनलाईन प्रविधिमैत्री बनाउँदै आएको हो ।

हाल नेप्सेको अनलाईन कारोबार प्रणालीमा १४ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेका छन् । कारोबार प्रणालीलाई सहज बनाउन नेप्सेले स्वेच्छिक रुपमा टिएमएस चलाउन सकिने व्यवस्था लागू गरेको हो ।

*१६ ब्रोकर कम्पनीले मात्र नेप्सेको टिएमएस चलाउने, ३३ ब्रोकरले रोजे श्रीलंकन टिएमएस हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro