ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आविष्कार केन्द्रको परीक्षण

२०७९ असोज, १३  
सम्पादकीय
Tvs Raider Image Not Found

विभिन्न खालका उपकरण निर्माण र मर्मतसम्भार लगायतका काम गर्ने राष्ट्रिय आविष्कार सञ्चालन गरिरहेका महावीर पुनलाई सरकारले बन्द रहेको कृषि औजार कारखाना १० वर्षका लागि सञ्चालनको जिम्मेवारी दिएको छ । मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रहरू आवश्यक हुन्छन् तर नेपालमा नवीन आविष्कारलाई सहजीकरण गरिदिने तथा उत्पादन व्यापारीकरण गरिदिने संस्थाको अभावमा धेरै आविष्कार चर्चामा मात्रै सीमित रहेका छन् । केन्द्रले निर्माण गरेका कतिपय उपयोगी यन्त्र व्यावसायिक रूपमा उत्पादन हुन नसकेको अवस्था छ । यस्तोमा लामो समयदेखि बन्द रहेको कारखाना सञ्चालनको जिम्मा दिँदा केन्द्रका लागि ठूलो अवसर प्राप्त भएको छ । पुनलाई अब आविष्कार केन्द्रलाई सबल बनाउने र कारखाना सञ्चालन गरी मुनाफा कमाउन सक्ने तुल्याउने चुनौती थपिएको छ । उनले हालसम्म गरेका कामको परीक्षणसमेत कारखानाको सञ्चालनबाट हुनेछ ।

सरकार र निजीक्षेत्रले सञ्चालन गर्न नसकेको यो कारखाना केन्द्रले कसरी सञ्चालन गर्न सक्छ र आवश्यक कृषि औजार कत्तिको बनाउन सक्छ त्यसमै केन्द्रको सफलता निर्भर हुन्छ ।

कृषि प्रधान देशका बासिन्दाका लागि कृषि उपकरण स्वदेशमै उत्पादन गरी सस्तोमा उपलब्ध गराउन मित्रराष्ट्र रूसको सहयोगमा २०२४ सालमा यो कारखाना स्थापना भएको हो । कारखानाको अधिकृत पूँजी ३ करोड, जारी पूँजी २ करोड चुक्ता पूँजी १ करोड ९५ लाख रहेको छ । १० बिगाहा जग्गामा फैलिएको यो कारखानाका उपकरणहरू सबै खिया लागेर काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । कारखानाले विद्युत् महसुलमात्रै ६० लाख जति बुझाउन बाँकी रहेको बताइन्छ । यस्तो अवस्थामा यसको सञ्चालनको जिम्मा पुनले पाएका छन् । उनले आफूले सोच्दै नसोचेको अवसर पाएको सार्वजनिक प्रतिक्रिया दिएका छन् । आफूले अवसर तथा सहयोग नपाएको गुनासो गर्ने पुनका लागि यो कारखाना राम्रो अवसर हो । केन्द्रले विभिन्न कृषि उपकरण बनाउन सफलता पाएको थियो । अब त्यस्तो उपकरण कारखानाबाट व्यावसायिक उत्पादन गर्न सम्भव हुनेछ ।

कारखाना सञ्चालनका लागि सरकारले अध्ययन समिति गठन गरेको थियो । त्यो समितिले यस्तो संस्थालाई दिने सुझाव दिएको थिएन । तैपनि सरकारले केन्द्रलाई कारखाना सञ्चालनको जिम्मा दिएर राम्रो काम गरेको छ । कारखाना सञ्चालनका लागि सरकारले दिने भनेको रकम यथाशीघ्र दिएर यसको सञ्चालनका लागि आवश्यक अन्य प्रक्रिया छिटो पूरा गर्न आवश्यक छ । कारखाना व्यवस्थापन हस्तान्तरण छिटो हुन सके केन्द्रले यसको सञ्चालनको काम थाल्न सहज हुने देखिन्छ । केन्द्रले अनुसन्धान र तालीम सञ्चालन गरी जनशक्ति एवं कृषि औजार उत्पादन र विक्री गर्न पाउँछ । यसरी विक्रीबाट आएको ५० प्रतिशत रकमबाट उसले केन्द्रका लागि कोष खडा गर्नुपर्नेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा सरकारको राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।

तर, सरकार र निजीक्षेत्रले सञ्चालन गर्न नसकेको यो कारखाना केन्द्रले कसरी सञ्चालन गर्न सक्छ र आवश्यक कृषि औजार कत्तिको बनाउन सक्छ त्यसमै केन्द्रको सफलता निर्भर हुन्छ । सरकारले लिएको निजीकरणको नीतिअनुसार यो कारखाना सञ्चालनको जिम्मा निजीक्षेत्रलाई दिइएको पनि हो । तर, निजीक्षेत्रले पनि यो सञ्चालन गर्न सकेन । चालू आर्थिक वर्षको बजेटमा सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको छ । यही नीतिअनुसार नै उसले केन्द्रलाई यसको जिम्मा दिएको हो । सरकारले यस्ता कम्पनी आफै चलाउनु ठीक चाहिँ होइन ।

महावीर पुनलाई इन्नोभेसन गर्नसक्ने व्यक्तिका रूपमा चिनिने गरेकाले अब त्यस्तो इन्नोभेसन कृषि औजारमा देखिनुपर्छ । उनले सञ्चालन गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रमा अहिलेसम्म ठूलाठूला अनुसन्धान खासै भएका छैनन् । त्यसमा अनेक कारण हुन सक्छन् । दक्ष जनशक्ति, स्रोतसाधनको अभाव हुनसक्छ । पछिल्लो समय उनलाई विदेशमा रहेका नेपालीहरूले केही सहयोग गरिरहेका छन् जसबाट उनले नवप्रवर्तनमा रुचि भएका युवाहरूलाई प्लेटफर्म उपलब्ध गराएका छन् । अत: यो कारखाना उनका लागि ठूलो अवसर हो भने नेपालमा कृषि उपकरण उत्पादनका लागि पनि सम्भावनाको ढोका खुल्न सक्छ । जसका लागि पुनले एकातिर सरकारसँग गरेको शर्त र अर्कोतर्फ जनताको अपेक्षाअनुसारको जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro