ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मेलम्ची खानेपानी आयोजना : बाह्रै महीना पानी ल्याउन कठिन

२०७९ असोज, १३  
समाचार
Tvs Raider Image Not Found
सिन्धुपाल्चोकको मेलम्ची आयोजनाभन्दा माथि भ्रेमाथाङमा थुप्रिएको गेग्रान ।
author avatar हिमा वि.क.

काठमाडौं । ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा बाह्रै महीना पानी ल्याउन तत्काल असम्भव देखिएको छ । आयोजनाको माथिल्लो तटमा पहिरोको जोखिम कायमै रहेकाले थप लगानी र उचित प्रविधिको प्रयोग नहुँदासम्म मेलम्ची पानी बाह्रै महीना उपत्यकामा आउन नसक्ने देखिएको हो । सरकारको ठूलो लगानी, वर्षौं सम्मको मेहनत तथा पर्खाइका साथै दातृ निकायको समेत ऋणमा निर्मित मेलम्चीको पानी वर्षायाम शुरू भएसँगै आउन बन्द भएको छ । मनसुन सकिएपछि र २० मीटर पुरिएको अम्बाथानको हेडवर्क्स खनिसकेपछि मात्रै काठमाडौंमा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मनसुन रहेसम्म मेलम्चीको पानी काठमाडौंमा आउने छैन । यो क्रम वर्षौं दोहोरिरहने सरोकारवाला विज्ञहरू बताउँछन् ।

२०७८ असारको बाढीले आयोजनास्थल प्रभावित त छ नै त्यसभन्दा माथिल्लो तट भ्रेमाथाङमा गेग्रान थुप्रिएकाले पुन: भीषण पहिरो आउन सक्ने जोखिम कायमै रहेको एशियाली विकास बैंक (एडीबी)को हालैको प्रतिवेदनले देखाएको छ । केही साताअघि एडीबीले समितिलाई प्रतिवेदन बुझाएको छ । एडीबीले हेडवर्क्सभन्दा २२ किलोमीटरमाथि पेम्दाङ र मेलम्ची खोलाको अध्ययन गरेको हो ।

हेडवर्क्समा भएको क्षतिको मूल्यांकन र जलग्रहण (च्याटमेन्ट)को जोखिमका विषयमा गरिएको अध्ययनले अझै पनि पहिरोको जोखिम देखाएको हो । त्यसमध्ये पेम्दाङतर्फ ग्लेसियर (सानो हिमनदी) फुटेको छ । मेलम्चीमा अत्यधिक लेदो बग्दा क्षति भएको हो । भ्रेमाथाङमा २ किलोमीटर लामो र ७०० मीटर चौडा फैलिएर गेग्रानको ग्राउन्ड नै बनेको देखिएको छ । यो गेग्रानको परिमाण करीब साढे २ करोडदेखि ३ करोड घनमीटरसम्म रहेको प्रतिवेदनले देखाएको छ । 

समितिका सिनियर डिभिजनल इन्जिनीयर तथा पहिरोको अवलोकन र विश्लेषणमा रहेका पदमबहादुर कुँवरले थुप्रिएको गेग्रान अझै पनि बगेर आउने सम्भावना रहेको बताए । ‘भ्रेमाथाङ अहिले फुटबल ग्राउन्ड जस्तो बनेको छ,’ कुँवरले भने, ‘उक्त सामग्री बग्ने अवस्था छ, मेलम्ची र पेम्दाङ खोलाबाट गतवर्षजस्तै लेदोको फोर्ससहितको बाढी आएमा यो थुप्रिएको ग्रेगान बग्नेछ ।’ एडीबीले गरेको अध्ययन उल्लेख गर्दै उनले भने, ‘१२ महीना नै पानी ल्याउन अहिलेको हेडवर्क्सको विकल्प खोज्नुपर्छ, यसका लागि एडीबीले थप अध्ययन गर्दै छ ।’

उक्त प्रतिवेदन जनवरी २०२३ सम्ममा तयार हुने देखिएको छ । अहिलेको हेडवर्क्समा १ अर्ब रुपैयाँ लगानी भइसकेको छ भने यो वर्षायाम शुरू हुँदा पुरिन्छ । सुरुङभित्रका संरचनामा खासै समस्या छैन । वर्षभर मेलम्ची पानी ल्याउन हेडवर्क्सको डिजाइन (एडीबीले कन्सेप्ट डिजाइन दिने) गरिने र यसबाट हेडवर्क्सको ठाउँ ठीक छैन भनेर स्थान सार्ने, दोस्रोमा पुनर्निर्माण गरेर वा रेट्रोफिटिङ गरेर अहिलेकै चलाउने वा अहिलेकै माथि नयाँ संरचना बनाउने भन्ने विकल्प रहेको उनले बताए ।

अहिले बनेका संरचना २० मीटर तल पुरिएका छन् । त्यसलाई यथावस्थामै राखेर त्यसैमाथि हेडवर्क्स बनाउने विकल्प हुन सक्छन् । यी विकल्पमध्ये एउटा प्रयोग नगरे १२ महीना पानी ल्याउन नसकिने उनले बताए । किनभने हेडवर्क्स त्यस्तो स्थानमा छ, जहाँ हिउँदमा खन्न सकिन्छ वर्षामा सकिँदैन । २० मीटर खनेर पानी पठाइएकोमा अहिले वर्षामा पुरिएको छ । अब पनि पुरिएको उक्त स्थान सफा गरेर मात्रै मङ्सिरसम्ममा काठमाडौंमा पानी ल्याइने उनले बताए ।

हेडवर्क्स डिजाइनको रिपोर्ट जनवरीसम्ममा एडीबीले दिने र त्यसपछि मात्रै हेडवर्क्स सार्ने वा त्यही काम गर्ने गरी डिजाइन गर्ने र लागत पनि सोही बेला नै हुने उनले बताए । अहिलेको हेडवर्क्स याङ्ग्री र लार्के खोलाको पानीसमेत ल्याएर मिसाउने गरी निर्माण गरिएको थियो । ती खोलाको पानी खसाल्ने गरी अब गर्ने के, कति लागत लाग्ने भन्ने विषयको प्रतिवेदन एडीबीले जनवरीसम्ममा दिनेछ ।

अहिलेको अध्ययनले एउटा २/४ वर्ष यस्तै अवस्थामा राखेर खोलामा थुप्रिएको लेदो वा अन्य वस्तु पखालिन दिने, ठाउँठाउँमा ग्याबियन लगाएर स्टेकिङ गर्ने, भ्रेमाथाङदेखि वा तल्लो तटमा काम गर्ने विषयका विकल्प देखाएको छ ।

राष्ट्रिय निकुञ्ज, मध्यवर्ती जस्ता क्षेत्र पनि पर्ने भएकाले वनदेखि अन्य निकायको सहकार्य र समन्वय आवश्यक पर्ने देखिएको छ । वातावरण विज्ञान अध्ययन गरेका र १५ वर्षदेखि जलवायुका विषयमा काम गर्दै आएका विपद्विज्ञ धर्मराज उप्रेतीले विपद्पूर्वको अवस्थामा मेलम्चीको माथिको तटीय क्षेत्रको अवस्था के छ, पहिरो जाने सम्भावना कत्तिको छ, पहिरो जान सक्छ कि सक्दैन भन्ने अध्ययनमा लगानी गरेको भए अहिले भएको क्षति कम हुन सक्ने तर्क गर्छन् ।

‘अहिले वर्षा लागेपछि मेलम्चीको पानी ल्याउन बन्द गरियो, प्रत्येक वर्ष यस्तै गर्ने हो भने यो समाधान होइन,’ उनले भने, ‘माथिल्लो तटीय क्षेत्रको भौगोलिक अवस्था कमजोर छ, अझै पनि पहिरो आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’ माथिल्लो तटीय क्षेत्र भन्नाले मेलम्चीको जलाधार क्षेत्रका साथसाथै जुनजुन क्षेत्रबाट पानी एकमुष्ट भएर मेलम्ची आयोजनासम्म आउँछ, ती स्थानमा हुने पहिरोजस्ता कारणले आयोजनाको मुख्य स्थानसम्म धक्का दिन्छ । यसले गर्दा पनि हिमालको फेदमुनिसम्म पुग्नुपर्ने अवस्था हुन सक्ने उनी बताउँछन् ।

उप्रेतीलाई मेलम्ची नगरपालिकाले विज्ञ सदस्यको रूपमा समेत राखेर दुईओटा अध्ययन गराइसकेको छ । यो अध्ययनको समीक्षाले अझै पनि पहिरोको खतरालाई दर्शाएकै छ । सन् २०१५ को विनाशकारी भूकम्पले त्यहाँको भूभागलाई चिराचिरा पारेको छ । बेलायतको दुरहाम विश्वविद्यालयले गरेको अध्ययनले पनि सन् २०१५ भन्दा पहिला पनि पहिरो जाने सम्भावना देखाएको भन्दै उप्रेतीले थपे, ‘पहिरोको जोखिम अध्ययनले देखाएकाले अब यसको रोकथाम पहिलो काम हो ।’

इसिमोडको अध्ययनले पनि पहिला हिउँ जमेको र पछि हिउँ पग्लेको देखाएको छ । हिउँ पग्लने स्थानमा पानी परेपछि माटोलाई रोकेर राख्न सक्ने अवस्था हुँदैन । बोटबिरुवा पनि हुँदैनन् । त्यसपछि त्यो गेग्रान बगेर तल्लो क्षेत्रमा आउँछ । ‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर भोलिका दिनमा यसरी नै हो देखिने,’ उप्रेतीले भने, ‘मेलम्चीबाहेक मनाङमा आएको बाढी र यता च्छोरोल्पा ताल फुट्ने संघारमा रहेको अध्ययनले देखाएका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनादेखि चतरासम्म असर गर्छ, यसले सडकदेखि जलविद्युत्देखि पुल र कृषि प्रणालीका साथसाथै मानव बस्तीसम्म प्रभाव पार्छ ।’

मेलम्चीको हकमा भने बाढीको अवस्थालाई मात्रै हेरिएको भन्दै उनले माथिल्लो तटीय क्षेत्र र माटोको अवस्था र क्यासकेडिङ इम्प्याक्टलाई नहेरिएको बताए । क्यासकेडिङ इम्प्याक्ट भनेको एउटा विपद्ले अर्को विपद् निम्त्याउने अवस्था हो । क्यासकेडिङ इम्प्याक्टको अध्ययन नेपालमा धेरै गरिएको छैन । ‘मेलम्ची खानेपानी आयोजनाको भविष्य अझै अनिश्चित छ,’ उनले भने, ‘किनभने माथि पहिरो आउने सम्भावना छँदै छ भने भूबनोट पनि दिनप्रतिदिन कमजोर हुँदै छ । अहिलेसम्म भएका अध्ययनले माथिल्लो क्षेत्रमा अझै पनि पहिरो जाने अवस्थालाई स्वीकार गरेका छन् । पहिरो नदीमै मिसिने हो ।’

मेलम्चीमा अबको विकल्प भनेको पहिरोको रोकथाम नै रहेको उनले बताए । पहिरो रोक्न विभिन्न खालका इन्जिनीयरिङ विकल्पहरू छन् । यूरोपमा पहिरो रोकथामको प्रविधि राम्रो रहेको मानिन्छ । पहिरो प्रभावित क्षेत्रको सबै ल्यान्डस्केपलाई शिल गरिन्छ । वातावरण र यससँगै पहिरो रोकथाम हुन्छ । ‘पहिरो रोकथाम गर्न सकिए मात्रै उपत्यकामा १२ महीना नै मेलम्चीको पानी आउँछ, नत्र वर्षायाममा बन्दको विकल्प छैन ।’

डिजाइन इस्टिमेट गर्दा नै जलवायु परिवर्तनको जोखिम कति छ भन्ने विषय र जलवायु परिवर्तनको आँखाले हेरेर आयोजनाहरू बनाइए र लगानी गरियो भने जोखिम कम गर्न सकिने उनको सुझाव छ । ‘विपद्पुर्व नै १ लाख रूपैयाँ खर्च गरेमा त्यसपछि हुने क्षतिमा ७ लाख रूपैयाँको बचत हुने भन्दै उनले भने, ‘तर, मेलम्चीको केसमा विपद्पूर्वको तयारीमा लगानी भएको देखिएन ।’ 

मेलम्चीबाहेक कै कुरा गर्दा गत वर्ष मनाङमा गएको बाढीलाई हेर्न सकिन्छ । त्यहाँ बढी आउँदा सबैभन्दा पहिला जलविद्युत् आयोजनामा यसको असर देखियो । स्टेशन, स्कुल, पुलका साथसाथै सडक पनि बगेको छ । यसमा कति लगानी हुन्छ भन्ने कुरा स्पष्ट छ । मेलम्चीको भविष्यमा अबको विकल्प भनेको पहिरोको रोकथाम नै हो । पहिरो रोक्न विभिन्न खालका इन्जिनियरिङ विकल्पहरु छन् । 

युरोपमा पहिरो रोकथामको प्रविधि राम्रो मानिन्छ । पहिरो प्रभावित क्षेत्रको सबै ल्याण्डस्केपलाई सिल गरिन्छ । वातावरण र योसँगै पहिरो रोकथाप गरिन्छ । यसमा आधुनिक विज्ञान, वातावरण, माटोलाई राकिराख्न उचित इन्जिनियरिङको प्रवन्ध पनि गरिन्छ । हाम्रोमा पनि कृष्णभिरको पहिरो रोकिएको छ । यस्ता विकल्प मेलम्चीको जलाधार क्षेत्रमा लागू नगर्दासम्म यो आयोजनाको भविष्य अप्ठ्यारो मै रहने उनी बताउँछन् । 

संसारका धेरै देशमा पहिरो रोकथाम र कृष्णभीरमा पनि रोकथाम भएकाले लगानीको पाटो अलग भए पनि मेलम्ची आयोजनालाई पहिरोबाट बचाउन असम्भव भने छैन । पहिरो रोक्न सम्भव छ । यस्तै समानन्तर रूपमा ल्याउने भनिएका यांग्री र लार्केमा पनि विचार पुर्‍याउन जरुरी रहेको भन्दै उनले यसमा पनि माथिल्लो तटिय क्षेत्रको भू–बनोटको अवस्थाको अध्ययन अत्यन्त जरुरी रहेको बताए । ‘त्यहाँ पहिरो आउन सक्छ की सक्दैन ?, कुन–कुन स्थान पहिरोको जोखिममा छन् ?, कुन–कुन स्थानमा पहिरो जान सक्ने जोखिम छ ?, त्यसका लागि अहिले नै कम लागतमै पहिरोको रोकथाम गर्न सकिन्छ’, उनले भने, ‘पहिरो आइहाले पनि गेग्रानलाई माथि नै रोक्न सक्ने गरी पुर्वाधार बनाउन सकिन्छ की भन्ने पाटोबाट पहिला नै अध्ययन गर्न जरुरी छ र  यी काम सकेर मात्रै यांग्री र लार्केबाट पानी ल्याउन उपयुक्त छ ।’

माथिल्लो तटीय क्षेत्रको अवस्था अध्ययन गरेर कुन–कुन तत्वले त्यहाँ बाढीलाई असर गर्न सक्छ, पहिरो आउन सक्छ ? हिमालको अवस्था कस्तो छ ? भनेर अध्ययन केन्द्रित हुनुपर्छ । पानी डिस्चार्ज हुने स्टेशनहरू राख्ने, नदीमा कती पानी छ भनेर मिनेट–मिनेटमा नाप्न सक्ने प्रविधि, माथिल्लो भेगमा कति पानी पर्यो भनेर मापन गर्न सक्ने आधार तय गर्न सके मात्रै पनि क्षति कम गर्न सकिन्छ । 

भू–बनोट कमजोर छ भन्ने कुरा स्पष्ट भइसकेको छ । हिउँ छिटो-छिटो पग्लिने अवस्था छ भने लामो समयसम्म हिउँ नरहने अवस्था छ । पानी पर्ने चक्रमा पनि परिवर्तन छ । पानी पर्ने चक्र परिवर्तन भएको अवस्था, हिमालको तत्लो तटीय क्षेत्रको हिउँ पनि पग्लिने अवस्थाले गर्दा माटोलाई बाँधेर राख्ने अवस्था खस्किँदो छ । अहिले सरकारले नै जोखिम आकलन गरेर मात्रै विकासका योजनाहरू अघि बढाउने मुद्दालाई अघि सारेको छ । 

मेलम्चीभन्दा उपल्लो क्षेत्रदेखि आयोजना निर्माणको हेडवर्क्स (अम्बाथान)सम्म लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्छ । यो करीब २५ किलोमीटर लामो छ । ‘संरक्षित क्षेत्र भएकाले यहाँ बाह्य गतिविधि हुन पाउँदैनन् भन्नेमा समिति ढुक्क थियो र त्यहाँको वातावरण बिग्रिएको छैन भन्ने आकलन थियो ।’ समितिका प्रवक्ता राजेन्दप्रसाद पन्तले भने । संरक्षित क्षेत्र भएकाले निकुञ्जमा विकासका गतिविधि धेरै भएका छैनन् ।

तर, मुख्य कारक तत्त्व हिमाल पग्लिएर पानीको मात्रा बढी हुँदा विनाश निम्तिएको उनको भनाइ छ । ‘त्यसकारण यो अन्य आयोजनाहरूका लागि पूर्वतयारी गर्ने समय पनि हो,’ पन्त भन्छन्, ‘सम्बद्ध निकायले विस्तृत अध्ययन गरेर अन्य आयोजनामा यस्तो खाले ठूलो क्षति हुन नदिन प्रयत्न गर्नुपर्छ ।’ मेलम्चीमा आर्थिक वर्ष २०६५/६६ देखि मात्रै सुरुङको मुख्य काम शुरू भएको हो । आयोजनाहरू अघि बढाउँदा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूर्वशर्त नै हो ।

‘यो आयोजनामा यस्ताखाले जोखिमको सम्भावना छ भनिएकै थियो,’ पन्तले भने, ‘विभिन्न खोल्सा हुनेछन्, तीनै खोल्साहरुबाट ठूलो बाढी आउछ भन्ने थियो, त्यसअनुसार प्रतिसेकेन्ड ६०० घनमिटरको बाढीलाई पनि थेग्ने किसिमले मेलम्चीको हेडवक्र्सको डिजाइन तयार गरिएको थियो, १०० गुणा बढीलाई थेग्ने गरी हेडवक्र्स डिजाइन गरिएको थियो, त्यै पनि प्रतिसेकेन्ड हजारभन्दा बढिको आइदियो ।’ 

२००१ तिर नै आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए)लगायतका अध्ययन प्रतिवेदनले पनि विभिन्न ठाउँहरुमा रहेका खोल्सा र त्यहाँ एकैपटक बाढी आएमा ठूलो बाढी आउने भनिएको छ । तर, अहिलेको लेदोसहितको बाढी आउछ भन्ने विषय उठान भएको थिएन । आयोजनाका मुख्य काम सुरूङ, हेडवक्र्स, पानी प्रशोधन केन्द्र निर्माण गर्नमा नै सरकारले रू. ३२ अर्ब लगानी खर्चिसकेको छ । 

२०७७ असारमा आयोजनास्थलमा बाढी आउनुपुर्व नै अन्तरराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र (इसिमोड)ले ‘मेलम्चीमा बाढीको प्रकोप ः व्यापक जोखिम र बहुजोखिममा व्यवस्थापनको आवश्यकता’ सम्बन्धमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनले पनि ठूलो बाढी आउन सक्ने जोखिम औल्याउँदै व्यवस्थापनको आवश्यकता देखाएको छ । 

प्रतिवेदनमा भनेको छ, ‘असार १ गते आएको बाढीमा एउटा मात्रै कारण छैन, मेलम्ची नदीका विभिन्न स्थानमा भएका मानविय कारण र जलवायु परिर्वतनमा देखिएका प्रक्रियाहरुको परिणाम स्वरूप बाढी आएको हो ।’ इसिमोडले मौसमको अवस्था, हिमताल वातावरणीय प्रक्रिया, भेम्राथाङमा रहेका पुराना पहिरो, मेलम्चीगाउँमा रहेका नयाँ पहिरोको निर्माण, नदीको बाँध र बाढीको प्रकोप र नदी कटानका साथसाथै २०७२ को भूकम्प जस्ता कारणले प्रकोपको अवस्था आएको उल्लेख गरेको छ । 

मेलम्चीभन्दा उपल्लो क्षेत्रदेखि आयोजना निर्माणको हेडवक्र्स (अम्बाथान)सम्म लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्छ । यो करिब २५ किलोमिटरको दुरी छ । यो निकुञ्ज आफैमा एउटा संरक्षित क्षेत्र हो । ‘संरक्षित क्षेत्र भएकाले यहाँ बाह्य गतिविधि हुन पाउँदैनन् भन्नेमा समिति ढुक्क थियो र त्यहाँको वातावरण विग्रिएको छैन भन्ने आकलन हो’, पन्तले भने, ‘तर, अहिलेको बाढी पहिरोको थुप्रिएको मुख्य भाग भने हेडवक्र्सदेखि करिब २० किलोमिटरमाथि भेमाथाङ टार छ, त्यो टारमा पेम्दान खोला र मेलम्चीखोला आएर मिसिदा रहेछन् ।’ 

वर्षाैंदेखि आएको नदिजन्य पदार्थ त्यो टारमा आएर थुप्रियो । २०७८ मा बढि पानी परेको, तापक्रमका हिसावले पनि हिमालयहरु पग्लिएर पानीको मात्रा बढि हुँदा त्यसले दायाँबायाँ सबै कटान गरेर ठूलो मात्रामा ढुंगागिट्टीहरु ल्याएको थियो । त्यसले नै विनाश निम्त्याएको हो । संरक्षित क्षेत्र भएकाले निकुञ्जमा विकासका गतिविधिहरु धेरै भएका छैनन् । तर, मुख्य कारक तत्व भनेर हिमाल पग्लिएर पानीको मात्रा बढि हुँदा विनाश निम्तिएको उनको भनाइ छ । ‘त्यसकारण यो अन्य आयोजनाहरुका लागि पुर्वतयारी गर्ने समय पनि हो’, पन्त भन्छन्, ‘सम्बन्धीत निकायले विस्तृत अध्ययन गरेर अन्य आयोजनामा यस्तो खाले ठूलो क्षति हुन नदिन पर्यत्न गर्नुपर्छ ।’ 

२०७७ असारमा आयोजनास्थलमा बाढी आउनुपुर्व नै अन्तरराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र (इसिमोड)ले ‘मेलम्चीमा बाढीको प्रकोप ः व्यापक जोखिम र बहुजोखिममा व्यवस्थापनको आवश्यकता’ सम्बन्धमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनले पनि ठूलो बाढी आउन सक्ने जोखिम औल्याउँदै व्यवस्थापनको आवश्यकता देखाएको छ । उसले प्रतिवेदनमा भनेको छ, ‘असार १ गते आएको बाढीमा एउटा मात्रै कारण छैन, मेलम्ची नदीका विभिन्न स्थानमा भएका मानविय कारण र जलवायु परिर्वतनमा देखिएका प्रक्रियाहरुको परिणाम स्वरुप बाढी आएको हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro