ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसका चार तारा चार तिर : टिकट वितरण न्यायोचित नभए आफ्नै पार्टीबिरुद्ध उम्मेदवारी !

गठबन्धनका कारण कांग्रेस झनै कमजोर, २५ सिटमा खुम्चिनसक्ने चेतावनी

२०७९ असोज, १३  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षधर नेताहरूले कांग्रेसभित्र राजा जन्मिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको इतरपक्षले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेताहरूले यस्तो आरोप लगाएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बताए ।

उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेस भित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने उनको भनाइ छ ।

नेता केसीले नेपाल अन्तरराष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली काँग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

काँग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझैपनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली काँग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको दाबी गरे ।

पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रुपमा टिकट वितरण हुन नसकेको भन्दै नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीबिरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए ।

नेपाली काँग्रेसका नेता धर्म परियारले नेपाली काँग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए ।

उनले नेपाली काँग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे । उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको बिरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको परियारले आरोप लगाए ।

उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली काँग्रेस २५ सिटमा खुम्चिनसक्ने पनि बताए । केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने बिरोधको विकल्प नभएको पनि उनले चेतावनी दिए ।

त्यस्तै नेपाली काँग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए ।

उनले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको भन्दै पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए बिद्रोहको विकल्प नभएको बताए ।

पार्टी भित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरुले बिरोध गर्नुपरेको उनको भनाइ छ । उनले संस्थापन पक्षले नेकपा माओवादी लगायतका गठबन्धनका दलहरुसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरुलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए । उनले सिट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने दाबी गरे ।

त्यस्तै काँग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताए । सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।

त्यस्तै काँग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएको दाबी गरे । उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको भन्दै गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए ।

नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके बिरोध थप चर्किने बताए । बिहीवार काठमाडौंस्थित एक होटलमा कोईराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro