ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भव्य र सभ्य बनोस् दशैं

२०७९ असोज, १६  
सम्पादकीय
Tvs Raider Image Not Found

दशैं खुशीको पर्व हो । सबैको मुहारमा दशैंले खुसी ल्याउँछ । खुशी ल्याउने पर्व दशैं हरेक वर्षझैँ यसपटक पनि घरआँगनमा भित्रिइसकेको छ । कामको क्रममा देशका मुख्य शहर र परदेशमा रहेकाहरू घरगाउँमा पुग्ने क्रम शुरू भइसकेको छ ।  काठमाडौंमा रहेका ५ लाखभन्दा बढी घर फर्किसकेका छन् । परदेशमा रहेका नेपाली पनि दशैं मनाउन घर फर्केका छन् । कैयन् फर्कने क्रममा छन् ।

धेरै खर्च गर्दैमा बढ्ता उपलब्धि हुने होइन । त्यस्तै राम्रो आम्दानी छ भने त्यसलाई थुपारेर मात्र खुशी आउने पनि होइन । गुणस्तरीय जीवन जिउनका लागि आम्दानी र खर्चको हिसाब मिलाउन जान्नु पनि एक कला हो ।

खासगरी मान्यजनसँग टीका थाप्ने, आशीर्वाद लिने र आफन्तबीच भेटघाट गर्न पाइने भएकाले दशैं हरेक नेपालीका लागि महत्त्वपूर्ण रहँदै आएको छ । लामो समयपछि आफन्तहरूबीच भेटघाट गर्ने अवसर हुने भएकाले पनि दशैंको विशेष महत्त्व हुने गरेको छ । दशैंमा भेटघाट गर्ने वा देश, विदेशबाट घर फर्कने योजना एक वर्षअघि नै बन्ने गरेकाले पनि दशैंको भेटघाट झनै महत्त्वपूर्ण हुने गर्छ ।

नेपाली समाजमा दशैं एक आपसमा भेटघाट गर्ने खुशी साट्नेमा मात्र भने सीमित छैन । अर्थतन्त्र चलायमान बनाउन पनि दशैंको विशेष भूमिका रहँदै आएको छ । दशैंअघिका केही दिनमा मात्र वर्षभरिका कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति कारोबार हुने अनुमान गरिन्छ । लत्ताकपडादेखि गरगहना, मोटरगाडीदेखि टिभी, फ्रीज र वाशिङ मेशिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा, खसीबोका, मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला चम्किने गर्छ । बजारमा करीब ५० अर्ब रुपैयाँको कारोबार दशैंको बेला हुने अनुमान गरिन्छ । राम्रो लगाउने, मीठो खाने र घुमफिर गर्ने पर्वका रूपमा पनि दशैंलाई लिने भएकाले आमसर्वसाधारणले गच्छे अनुसार किनमेल गर्ने गर्छन् ।

२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यमवर्गीय तथा उच्च मध्यमवर्गीय परिवारको संख्या बढ्दै गएको छ । त्यसमाथि विप्रेषणका कारण उपभोगको संस्कृति मौलाएकाले दशैं मनाउने शैलीमा मात्र होइन चाडपर्व मनाउने शैली र खर्चको प्रवृत्तिमा समेत परिवर्तन आएको छ । यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्रलाई झन् चलायमान बनाएको छ ।

हुन त कतिपयले आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गर्ने गरेका उदाहरण समाजमा नभएका होइनन् । तर, स्वस्थ र स्वच्छ जीवनयापनका लागि गच्छेअनुसार खर्च गर्ने बानी राम्रो हुन्छ । सक्नेले जति खर्च गर्दा पनि केही फरक नपर्ला तर थोरै आयस्रोत भएका परिवारका लागि जथाभावी खर्च गर्ने बानी वर्षभरिका लागि पीडा बनेर आउन सक्छ । त्यसैले अरूले के गर्छन् भन्नेतिर ध्यान नदिई आफ्नो क्षमता र अवस्थालाई मनन गरेर खर्च गर्ने बानीको विकास गर्ने हो भने दशैंले थप खुशी र आनन्द दिन सक्छ । धेरै खर्च गर्दैमा बढ्ता उपलब्धि हुने होइन । त्यस्तै राम्रो आम्दानी छ भने त्यसलाई थुपारेर मात्र खुशी आउने पनि होइन । गुणस्तरीय जीवन जिउनका लागि आम्दानी र खर्चको हिसाब मिलाउन जान्नु पनि एक कला हो । यस्तो कला जान्न आजको समयमा जरुरी भइसकेको छ ।

 नेपाली समाजमा केही वर्षयता दशैंको अवसर पारेर घुमफिर गर्ने चलन पनि बढेको छ । दशैंको बेला घुमफिर गर्दा मिल्ने साथीसमूह बनाएर निस्कँदा बढी सुरक्षित र रमाइलो हुन सक्छ । यही मौकालाई देश जान्ने, चिन्ने कार्यमा पनि उपयोग गर्न सकिन्छ । दशैंमा विभिन्न खाले पुस्तक अध्ययन गरेर पनि भरपूर आनन्द लिन सकिन्छ । नेपालमा दशैंको बेला अलि लामो समय नै सरकारी/निजी क्षेत्रका कार्यालयमा बिदा हुने भएकाले दशैं वर्षभरि गरेका कामको पुनरवलोकन गर्ने मौका पनि हुन सक्छ ।

कतिपयलाई खानपानमा सोख हुन सक्छ । मान्छेका थुप्रै चाहना हुन सक्छन्, तर तीमध्ये कुन चाहनाले सर्वाधिक खुशी र सन्तुष्टि दिन्छ, त्यस बाटोमा हिँड्नु सबभन्दा राम्रो हो । आफ्नो दायित्व र भूमिका नबिर्सेर चाडपर्व मनाउनु, संस्कृतिको जगेर्ना गर्नु मानवीय कर्तव्य पनि हो । हामी भव्य र सभ्य दशैंको कामना गर्छौं । सबैलाई दशैंको हार्दिक मंगलमय शुभकामना !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro