ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बुक विल्डिङबाट शेयर निष्कासन गर्ने अन्तिम तयारीमा सर्वोत्तम सिमेन्ट, के हो बुक विल्डिङ ?

२०७९ असोज, १७  
लगानी
Tvs Raider Image Not Found
author avatar नरहरि आचार्य

काठमाडौं । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी अनुरुप वास्तविक क्षेत्रका कम्पनीहरु शेयर निष्कासन गर्ने तयारीमा छन् ।

विगत लामो समयअघिदेखि नै सार्वजनिक निष्सकासनमा बुक विल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयन गरेर नेपाल धितोपत्र बोर्डले ढिलै भए पनि बुक विल्डिङ विधिमार्फत शेयर निष्कासनका लागि अनुमति दिने अन्तिम तयारी गरिरहेको छ ।

यसअघि एफपीओ मार्फत बोर्डलेनै निर्धारण गरेको प्रिमियम थप गरेर एफपीओ जारी हुँदै आएकोमा अब बजारलेनै मूल्य निर्धारण गर्ने गरी बोलकबोल विधिमार्फत बुक विल्डिङ विधिमार्फत आईपीओ विक्री हुन लागेको हो ।

उक्त विधिमार्फत सर्वोत्तम सिमेन्ट र रिलाइन्स स्पिनिंग मिल्सले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर र रिलाइन्स स्पिनिंग मिल्सले ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । घोराही सिमेन्ट इन्डष्ट्रिले भने प्रिमियम मूल्यमा नै ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको छ ।

बुक विल्डिङ विधिमार्फत् वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्य रहेको छ । बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न ७४ ओटा संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् ।

के हो बुक विल्डिङ ?

बुक विल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरुको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो । 

वास्तविक क्षेत्रका कम्पनीहरुको आईपीओको मूल्य बजारलेनै निर्धारण गर्ने गरी बोर्डले बुक विल्डिङ विधि लागू गरेको हो । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । उक्त विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । निष्कासन कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । 

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ । 

आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

उक्त विधि मार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा विक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ । 

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ । 

संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ जारी गर्नुपर्ने हुन्छ । सबै नेपालीहरुमा कम्पनीहरुको प्राविधिक तथा व्यवस्थापकीय विश्लेषण गर्ने क्षमता नभएको आधारमा धितोपत्र बोर्डले उक्त क्षमता भएका योग्य संस्थागत लगानीकर्ताहरुबाट मूल्य तोक्ने व्यवस्था गरेको हो । 

बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यता प्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू.१० करोड भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था छ । 


बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुलाई निष्कासन गरिएको शेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महीनासम्म विक्री वा हस्तान्तरण गर्न सकिने छैन । सर्बसाधारणतर्फको शेयर भने सूचीकरण भएको भोलिपल्टैदेखि कारोबार योग्य हुनेछ ।  अमेरिकाबाट शुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ भने एक अध्ययन प्रतिवेदन अनुसार विश्वका ४० भन्दा बढी मुलुकमा यसको प्रयोग भइसकेको छ ।

संसारभर विभिन्न मुलुकले आफ्नो अर्थतन्त्र र पूँजी बजार सुहाँउदो ढाँचामा बुक विल्डिङ विधि लागू गर्ने गरेका छन्।  बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार बुक विल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ ।

साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्नको लागि साधारण सभाबाट स्वीकृती पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ ।  रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । 

बुक विल्डिङ विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरुलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro