ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निद्रालाई लिएर किन चिन्तित छ विश्व ? मानिस कम सुत्दा देशको अर्थतन्त्रमा ४ खर्ब डलरसम्म क्षति !

२०७९ कात्तिक, २९  
विविध स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं ।  कामै नहुँदा पनि गर्न अनेक चिज हुन्छ । जागिर खानै पर्यो । जागिर नगर्ने (विशेषतः महिला) लाई घर र बच्चा बच्चीको चटारो हुन्छ । जागिर खानेलाई पनि कहाँ सुख छ र ? श्रीमान/ श्रीमति दुबै जागिरमा व्यस्त हुनेको त आफ्नै लागि समेत दिनमा केही मिनेट  निकाल्न गाह्रो छ ।

कहिलेकाँही साथी भाई इष्टमित्रसँगको भेटघाट । अनि कहिले काँही घुमफिर । अपर्झट आइपर्ने प्रविधि त झन् जीवनको अभिन्न हिस्सा भइहाल्यो । मोबाइल, टिभी । फेसबुक, ट्विटर अनि टिकटक जस्ता सामाजिक सञ्जालहरु । युट्यूब, नेटफ्लिक्स के - के हो के - के । हाम्रो समय अनि फुर्सद खाइदिने कुरा गनेर साध्य छैन । 

तीव्र गतिमा दौडिरहेको जिन्दगीले कहिले काँही आफू  मिलमाथि नै दौडिरहेको छु कि भन्ने भान हुन्छ । सधैं केही गरौं, केही भेटौं, केही पाऔं भन्ने यो दौडमा एउटा चिज निरन्तर घटिरहेको छ । त्यो हो - हाम्रो निद्रा । सुतेर बिहान उठ्दा थकान महसुस भइरहन्छ । तपाई हामी आफ्नै साथीभाइ अनि आफैंलाई सोध्नुहोस् त कस्तो महसुस गरिरहनु भएको छ ? अधिकांशले ‘कस्तो थाकेको महसुस भइरहेको छ’, भन्छन् । 

निद्राको कमीबारे विश्वभर चिन्ता व्यक्त भइरहेको छ । निद्रा घट्दा अमेरिकी अर्थतन्त्रले वर्षेनी झन्डै ४ खर्ब डलर गुमाइरहेको एउटा अध्ययनले नै देखाएको थियो । सन् १९४० को दशकमा मानिसहरु हरेक रात औसत ८ घन्टाभन्दा अलि बढी सुत्थे । आधुनिक युगमा हाम्रो निद्रा घटेर ६ दशमलव ७/ ८ घन्टा भएको छ । ७० वर्षको अवधिमा निद्रा झन्डै २० प्रतिशतले घटेको छ । मानिस कति घन्टा सुत्नु पर्छ भन्ने कुरामा विवाद छ । 

वनमान्छे ९ देखि १६ घन्टा सुत्थे । मानिसहरु २४ घन्टामा १० दशमलव ३ घन्टा सुत्नु पर्छ भन्छन्, युनिभर्सिटी अफ टोरन्टोको सह–प्राध्यापक डेबडि स्यामसन । तर हामी औसत ६/७ घन्टा सुत्छौं ।  गहिरो निद्राको धेरै पाइदा छन् । यसले हाम्रो स्मरणशक्ति बलियो बनाउँछ । अनि भावनाहरुमा काबु गर्न पनि मद्दत गर्ने स्यामसनको भनाइ छ । मानिसहरु ठूला बाँदरको भन्दा कम सुते पनि गहिरो निद्रा धेरै भएको उनी बताउँछन् । 

यो परिवर्तन हाम्रा पुर्खाहरु रुखबाट ओर्लेर जमीनमा बस्न थालेपछि १८ लाख वर्ष भएको हो । त्यति बेला कम निदाउँदा अन्य काम गर्नको लागि पर्याप्त समय निस्कियो । हाम्रो पूर्खाहरुको निद्राको प्रवृत्तिबारे बुझ्न स्यामसनले तान्जानियामा एक जनजातिका मानिसहरुको पाखुरामा फिटबिट मनिटर बाँधेका थिए । उनीहरुमध्ये अधिकांश राति र दिउँसो समेत गरेर ७ घन्टा जति सुत्थे । 

निदाउन कुनै समस्या छ त भनेर स्यामसनले सोध्दा उनीहरुको जवाफ छैन भन्ने थियो । उनले म्याडगास्करका किसानहरुको पनि अध्ययन गरेका थिए । उनीहरु पनि अधिकांश सात घन्टा नै सुत्थे । तर त्यहाँ भने करीब ६० प्रतिशतलाई निद्रामा समस्या थियो । 

औद्योगिकीरणले मानिसकोे निद्रामा असर पारेको छ । हामी अहिले जसरी सूत्छौं मानिसहरु पहिलेदेखि यस्तरी नै सुत्थे । अर्थात् एक पटकमै निद्रा पुरा हुन्थ्यो । तर अध्ययनले अन्य कुरा पनि प्रकाशमा पारेको छ । सुतेपछि झपक्क निदाउने अनि बीच बीचमा ब्यूँझने । अनि मनमै कुरा खेलाइरहने,सपना वा अन्य केही चिजबारे विचार गर्ने । अध्ययनका क्रममा अमेरिकाको भर्जिनिया टेकका इतिहासका प्राध्यापक रोजर इकर्चले पटक पटक ब्यूझिएर पूरा गरिने निद्राबारे कयौं कुरा फेला परे । 

चाल्र्स डिकेन्सदेखि टोलस्टोयसम्म यूरोपका लगभग सबै उपन्यासकारले निद्राको यो प्रवृत्तिको उल्लेख गरेका छन् । यसरी सुत्दा थकाई मर्दैन । बिमारी र वातावरणसँग सम्बन्धित समस्याका कारण यसरी निद्रा टुक्रिने समस्या पूरा नभएको पनि पाइयो । १९ औं शताब्दीमा निद्रा अलि राम्रो बन्यो । मान्छेको बानी फेरियो । औद्योगिक क्रान्तिसँग धन जत्तिकै समय पनि मूल्यवान बन्यो। कार्य क्षमता र उत्पादनलाई महत्व दिन थालियो ।

छिटै उठ्ने अभियान नै चलाइयो । निद्रा ब्यूझाउने घन्टी बनाइयो । अन्य कयौं तरिका पनि अपनाइयो ।  अहिलेको युगमा हाम्रो निद्रा बिगार्ने कयौं कुरा छ । कफी, चिया, रक्सी । अर्को समस्या सेन्ट्रल हिटिङ र सेन्ट्रल एयरकन्डिशनिङ पनि हो । प्रविधिको असर पनि उत्तिकै छ । कृत्रिम बत्ती, सबै उपकरणहरु । यो मध्ये एउटा निलो प्रकाश उत्पन्न गराउने एलईडी स्क्रिन पनि हो । यो निलो प्रकाशले रातिको समयमा मेलाटोनिन नामक प्रोटिन निस्कनमा रोक लगाउँछ । यो प्रोटिनले हामीलाई कति बेला सुत्ने भन्ने संकेत दिन्छ । 

कहिले काँही सकेको भन्दा धेरै दुःख गरेर आर्थिक र सामाजिक हैसियत सुधार्नु पर्ने दबाब पनि हुन्छ । दैनिक सात घन्टाभन्दा कम सुत्दाको असर स्वास्थ्यमा देखिन थाल्ने युनिभर्सिटी अफ क्यालिफोनिर्याका प्राध्यापक म्याथ्यू वाकर बताउँछन् । क्यान्सर, मोटापन, मधुमेह, व्यग्रता, डिप्रेशन, आत्महत्याको प्रवृत्ति जस्ता पछिल्लो समय मानिसको ज्यान लिने हरेक ठूला बिरामी निद्राको कमीसँग प्रत्यक्ष र मजबूत सम्बन्ध रहेको वाकरको भनाइ छ ।

आफू - आफूमाझ सर्वेक्षण गर्ने हो भने पनि बढी  सुत्न चाहन्छु भन्नेको संख्या आधाभन्दा धेरै भेटिन्छ । सन् १९८० को दशकमा यस्तो बताउनेको संख्या ३० प्रतिशत पनि थिएन । त्यतिबेलाको भन्दा अहिलेको मानिसहरु कम सुत्ने भएकोले पनि यस्तो भएको हो । अहिले हाम्रो निद्रासँग सपना पनि गायब भइरहेको छ । रातै नपरोस्, सुन्तै नपरे नि हुन्थ्यो भन्नेहरु पनि भेटिन्छन् । अमेरिकी सेनामा निद्रा भगाउन कफि र औषधिहरुको प्रयोग गरिन्छ । निद्राको कुनै मतलब नै हुन्नथ्यो भने मानव विकास क्रमको यो सबैभन्दा ठूलो गल्ती हुन्थ्यो होला । 

कम समय सुत्न चाहनेहरुले गहिरो निद्रा बढाउनै पर्छ । ध्यानले मानिसहरुलाई छिटै गहिरो निद्राको अवस्थामा लैजान सक्छ भनेर केही अनुसन्धानले देखाएको छ । निद्रालाई राम्रो बनाउने तरिकाहरु पनि छन् । अब फेरि कुरा गरौं, थकान र हाम्रो निद्राबीचको सम्बन्ध बारे । हामीसँग दिनभरमा २४ घन्टा छन् । गर्नका लागि अनगिन्ति चिज छन् ।

अनि के मा समय घटाउने ? निद्रा माया मार्ने ? हामी सधैं अरु कुराको लागि आफ्नो निद्रा बलिदान दिन्छौं ।  प्रविधि र सामाजिक परिवर्तनका कारण पनि हाम्रो पारम्परिक तरिका र निदाउने समयमा असर भएको छ । यसको प्रभाव हाम्रो शरीर, थकानमा देखिन्छ । त्यसैले शरीरलाई आराम दिनु अनि पर्याप्त निदाउनु पनि जरुरी छ । एजेन्सीहरुको सहयोगमा  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro