ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गोल्डस्टारको अन्तरराष्ट्रिय बजार विस्तारमा ठूलो सम्भावना देखेका छौं

२०७९ कात्तिक, ३०  
अन्तरवार्ता
Tvs Raider Image Not Found

‘हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? उस्तै उस्तै हो नानु ।’ करीब ४० वर्ष अघिदेखि रेडियो नेपालमा बज्दै आएको यो विज्ञापन अझै जनजिब्रोमा झुन्डिएको छ । जसरी यो विज्ञापन जनजिब्रोमा झुण्डियो, त्यसरी नै हात्तीछाप चप्पलले बजारमा ख्याति पायो । त्यति बेला थाइल्यान्डबाट मेशिन ल्याएर चप्पल उत्पादन शुुरू गर्नु नूरप्रताप राणाका लागि पक्कै पनि सजिलो थिएन । त्यस्तै राणाले नै शुरू गरेको गोल्डस्टार जुत्ता अहिले स्वदेशमा मात्र नभई विदेशमा समेत रुचाइने नेपाली उत्पादनमा पर्छ । हाल उनका छोरा अमिरप्रताप राणाले यस उद्योगलाई व्यावसायिक नेतृत्व दिइरहेका छन् । उद्योग (किरण शुज म्यानुफ्याक्चरर्स) का अध्यक्ष एवं प्रबन्ध निर्देशकको रूपमा रहेका अमिरप्रताप राणासँग नपाली जुत्ता उद्योग स्थापना, चुनौती, अवसर र सम्भावनाबारे आर्थिक अभियानले कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश ।

तपाईंको पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न । 
हाम्रो पैतृक थलो पाल्पाको काभ्रेस्थित भैरवस्थान हो । हुन त बुवा स्वर्गीय भएपछि केही वर्षअघि मात्र मलाई त्यहाँ जाने मौका मिल्यो । तत्कालीन जंगबहादुर राणाको समयमा त्यसबेलाका शासकहरूले हाम्रो बडा जिजुबुवा इन्द्रप्रताप राणालाई जसरी भए पनि सिध्याउनू भनेपछि उहाँ रातारात भागेर पाल्पा पुग्नुभएको रहेछ । त्यतिबेला ग्रामीण भेगमा पढ्न पनि नपाइने अवस्था थियो । बुवाले भने भारतको गोरखपुरमा अध्ययन गर्नुभएको हो । उहाँले पनि त्यहाँ लुकेर अध्ययन गर्नुभयो । समयान्तरालमा त्रिचन्द्र क्याम्पसबाट स्नातक गर्नुभयो । त्यही क्रममा पहिलोपटक भैरहवामा गएर लुम्बिनी बस सेवा शुरू गर्नुभयो ।

त्यतिबेला भैरहवा पुगेर व्यवसाय शुरू गर्नुको कारण के रहेछ ?
मेरो बुवाको ठूलो बुवा पूर्णप्रताप राणाको बसोवास कावासोती नजिककोे डण्डाखोलामा थियो । उहाँले नै बुवालाई त्यहीँ पालनपोषण गर्नुभयो, पढाउनुभयो । बुवालाई अगाडि बढाउन उहाँको ठूलो देन छ । बुवाले ठूला बुवालाई बुवासरह मान्नुहुन्थ्यो । बुवाको ठूलो बुवा व्यापारिक सोच (बिजनेश माइन्ड) को हुनुहुन्थ्यो । उहाँको व्यापार पनि थियो । उहाँकै छत्रछाँयामा बसेर बुवाले सानो उमेरदेखि नै व्यापार गर्न सिक्नुभयो । बुवा सानो उमेरदेखि हिसाबकिताब राख्न शिपालु हुनुहुन्थ्यो । अब केही गर्नुपर्छ भन्ने सोच आएपछि बुवाले आफ्नो नजिकका साथी थानेश्वर घिमिरेसँगको साझेदारीमा भारतको जालन्धरबाट भैरहवामा दुईओटा बस ल्याएर लुम्बिनी बस सेवा शुरू गर्नुभयो ।

त्यसपछि तपाईंहरू आयातको व्यापारमा संलग्न हुनुभएको हो ?
हो । बुवा सानो उमेरदेखि नै व्यापारमा केन्द्रित हुनुहुन्थ्यो । व्यापार व्यवसायमा उहाँको धेरै लगाव थियो । ठूलो बुवाको संगतले गर्दा उहाँ बिजनेश माइन्डेड भइसक्नुभएको थियो । प्रगति गर्ने हो भने मेहनत आफै गर्नुपर्छ भन्ने उहाँको सोच थियो । त्यतिबेला उहाँले माइकाको व्यापार गर्नुभयो । साथै लाइटरमा प्रयोग गरिने पत्थर विदेशबाट पत्थर मगाएर विक्री गर्नुहुन्थ्यो । त्यो बेला बुवाले ‘जो सोता हे, वो खोता है’ भनेर बारम्बार भनेको मलाई अझै पनि स्मरण छ । उहाँले कपडाको व्यापार पनि गर्नुभयो । त्यतिबेला नाइलन तथा कटनको कपडाको विक्री खुबै हुन्थ्योे । २०–२१ वर्षकै उमेरमा व्यापारबाट कमाएको पैसाबाट उहाँले आफ्नै बलबुतामा लुम्बिनी बस सेवा शुरू गर्नुभएको हो । त्यसबेला बुवाको मिल्ने साथी जगदीश चौधरी हुनुहुन्थ्यो । अहिले पनि उहाँ हुनुहुन्छ । उहाँले नै व्यापार व्यवसाय विस्तार गर्ने क्रममा बुवालाई केही व्यापारीहरूसँग परिचय गराउनुभयो । उहाँले हात्तीछाप चप्पल बनाउने परिकल्पना गरेको एकजना व्यापारीलाई बुवासँग भेटाइदिनुभयो ।
त्यसपछि बुवाले चप्पल उत्पादनमा जाने योजना बनाउनुभयो । व्यापार दिगो हुँदैन, उद्योग मात्रै दिगो हुन्छ भनेर उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेका हौं । त्यो बेला नेपालमा थाइल्याण्डबाट मोटो खालका हवाई चप्पल आउँथ्यो । यो उत्पादनका लागि मेशिन खरीद गरेर बुवाले हेटौंडामा प्लान्ट स्थापना गर्नुभयो । त्यसअघि नेपालमा चप्पल उत्पादन गर्ने कुनै पनि उद्योग थिएनन् । हैटौंडाको हात्तीछाप चप्पल भनेर अहिले पनि परिचित नै छ । 

सन् २०१५ सम्म आइपुग्दा भारतमा हाम्रो व्यापार वार्षिक २० देखि ३० प्रतिशतले बढ्यो ।
 

हेटौंडामा त्यतिखेर चप्पल कारखाना खोल्दा के कस्तो कठिनाइ आइपर्‍यो ?
हेटौंडामा चप्पल कारखाना २०२७ सालमा खोलिएको हो । कारखाना खोल्दा जुन उत्साह थियो, त्यो केही महीनामै हरायो । किनभने स्थापनाको शुरुआती समयमा विभिन्न कठिनाइ र बाधा/ अवरोध आइपरे । थाइल्याण्डबाट मेशिन खरीद गरेर ल्याइयो, कारखाना पनि खोलियो, तर राम्रोसँग सेट गर्न सकिएन । केमिकल सेट गर्न नजानेर धेरै दुःख पाइयो । त्यतिबेला काठमाडौंबाट हेटौंडा जान सहज थिएन । कारखानामा लगानी गरेको ८ महीनासम्म पनि राम्रो नतीजा देखिएन । चप्पल उत्पादन गर्न सकेनौं । यस्तो भएपछि बुवा निकै दुःखी हुनुहुन्थ्यो । लगानी नै डुब्छ कि भन्ने चिन्ता थियो । पछि एकजना कन्सल्टेन्टलाई कारखानामा बोलायौं । त्यसपछि मात्र कारखानाबाट चप्पल उत्पादन हुन थाल्यो । 

ठूलो प्रयासपछि उत्पादन शुरू भएको हात्तीछाप चप्पल पहिलोपटक बजारमा जाँदा कस्तो प्रतिक्रिया थियो ?
पहिलो दिन उत्पादन भएका सबै चप्पल बजारमा गयो । त्यो दिन अत्यन्त सकारात्मक प्रतिक्रिया पायौं । हामी निकै उत्साहित थियौं । चप्पल बजारमा गएको दिन नै हारालुछ भयो । शुरुआती समयमा उत्पादनभन्दा माग बढी थियो । माग धान्ने अवस्था नै आएन । चप्पल पनि कालोबजारीमा विक्री हुन थाल्यो । यसपछि हामीलाई थप हौसला मिल्यो । यसमा अझ केही गर्नुपर्छ भन्ने बोध भयो । हेटौंडामा त्यो कारखाना १३–१४ वर्षसम्म चल्यो ।

यो कारखाना पछि काठमाडौंमा सर्‍यो । त्यसको कारण के थियो ?
हेटौंडाको कारखानाबाट धमाधम चप्पल उत्पादन हुन थालेपछि बजारका पसल पसलमा विक्री हुन थाल्यो । विक्री राम्रो भइरहेको थियो । माग अनुसार उत्पादन गर्न सक्ने अवस्था थिएन । त्यसैले बढीभन्दा बढी मेहनतका साथ उत्पादन गरिरहेका थियौं । तर सबैको आँखा चप्पल कारखानामा पर्न थाल्यो । त्यो बेला हेटौंडामा दुःख दिनेहरू धेरै भए । उद्योगमा बन्द/ हड्ताल गर्न थालियो । त्यसपछि बाध्य भएर उद्योग बन्द गर्नुपर्ने स्थिति आयो । अन्ततः हेटौंडामा उद्योग चलाइराख्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यौं ।
प्रतिकूल परिस्थितिमा कारखाना चलाउन नसकिने भएपछि काठमाडौंमै सार्ने कुरा भइरहेको थियो । केही समयपछि आधुनिक प्रविधिको कारखाना काठमाडौंमा स्थापना गर्‍यौं । हेटौंडामा पुरानो प्रविधिको कारखाना थियो । २०४२ सालतिर काठमाडौंको चाबहिल नजिक कारखाना स्थापना गरेका थियौं । यो स्थान अहिले पनि चप्पल कारखाना चोकको नामले परिचित छ । तर हाल यो कारखाना बालाजुमा छ । साविकको स्थानमा भने गोल्डस्टार जुत्ता कारखाना चलाइरहेका छौं ।

व्यवसायलाई विविधीकरण गर्ने क्रममा हात्तीछाप चप्पलपछि लगत्तै आधुनिक जुत्ता (किरण शुज म्यानुफ्याक्चरर्सबाट) उत्पादनमा प्रवेश गर्नुभयो । यो कसरी सम्भव भयो ?
चप्पल उत्पादनमा सफल भइसकेपछि थप के गर्ने भन्नेबारे सोचिरहेका थियौं । चप्पलबाट राम्रो आम्दानी भइरहेको थियो । खर्च कटाएर बचत पनि राम्रो थियो । त्यसबेला बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्ने चलन थिएन । त्यतिबेला हामीसँग दुईओटा बाटो मात्र थिए । एउटा– चप्पल उत्पादनलाई नै बढाएर अघि लैजाने । अर्को– जुत्ता उत्पादनमा लगानी गर्ने । म त्यसबेला सिद्धार्थ वनस्थली स्कुलमा अध्ययनरत थिएँ । संयोगवश एक दिन नयाँ प्लान्टमा लगानी गर्ने विषयमा आयोजित मिटिङमा सहभागी थिएँ । 
त्यो बेला नेपालमा जुत्ता बनाउने उद्योगमा बाँसबारी छालाजुत्ता कारखाना मात्र थियो । त्यसबाट छालाको जुत्ता मात्र बन्थ्यो । बासँबारी छालाजुत्ता कारखानाको प्रतिस्पर्धामा जाने हो भने छालाको जुत्ता मात्र नभई भिन्न किसिमको जुत्ता बनाउनुपर्छ भन्नेमा छलफल भयो र त्यही सोचका साथ काम शुरू गरियो । तर पछि काठमाडौंमा नयाँ कारखाना स्थापना गर्न लाइसेन्स नपाइने थाहा पाएपछि काम बीचैमा रोकियो । 

निर्यातलाई केन्द्रित गरेर भैरहवामा उद्योग स्थापना गरिनेछ ।
 

काठमाडौंमा नयाँ कारखाना खोल्न लाइसेन्स नदिनुको कारण के रहेछ ? पछि कसरी लाइसेन्स पाइयो ?
जुत्ता उत्पादनमा केही गरौं भनेर सोच बनाइरहेका बेला सरकारको नीति भने सकेसम्म अब काठमाडौंमा ठूला उद्योग स्थापना गर्न नदिने भन्ने रहेछ । अब फर्केर पुनः हेटौंडामै जुत्ता कारखाना खोल्न जाने कुरा भएन । सरकारले त हामीलाई उद्योग खोल्ने भए धनगढी जाऊ भन्यो । हेटौंडामा उद्योग चलाउन त कठिनाइ भोगेका हामीलाई धनगढी जान झनै असहज थियो । जोखिम मोलेर त्यसतर्फ जान सकिँदैनथ्यो । त्यसमा पनि त्यहाँ बाटोघाटो थिएन । कर्णालीमा पुल नै बनेको थिएन । त्यसबेला उद्योगमन्त्री नारायणदत्त भट्ट र प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो । बुवाले निकै समयसम्म मन्त्रालयमा हारगुहार गरेर अन्ततः काठमाडौंमै जुत्ता उत्पादन गर्ने प्लान्ट लगाउन लाइसेन्स लिनुभयो ।
लाइसेन्स पाएपछि हामीले प्रतीतपत्र (एलसी) खोलेर जुत्ता बनाउने मेशिन खरीद गरेर ल्यायौं । शुरुआत यो उद्योगमा पनि चप्पल कारखानाकै जस्तै समस्या आइलाग्यो । धेरै प्रयास गर्दा पनि जुत्ता उत्पादन सफल हुन सकेन । फेरि कन्सल्टेन्ट बोलाएर चेकजाँच गरेपछि उत्पादन सफल भयो । त्यसपछि उत्पादित जुत्ता बजारमा जान थाल्यो । उद्योगको मुख्य ब्रान्ड ‘स्पार्क’ भन्ने थियो । यो जुत्ता कारखाना नेपालीले नेपालमा लगानी गरेर सफल भएको उद्योगको नमूना थियो ।

भारतमा यसको निर्यात कसरी सम्भव भयो ? अहिलेको अवस्था कस्तो छ ?
त्यतिखेरको कुरा गर्ने हो भने नेपालमा जुत्ताचप्पल उत्पादन गर्ने उद्योग दुईओटा थिए । हामीले छुट्टै डिजाइन र मोडलका जुत्ता बजारमा ल्यायौंं । हाम्रो उत्पादन नेपालीकै लागि लक्षित थियो । तर भारतका व्यापारीले पनि गोल्डस्टार जुत्ताको नक्कली उत्पादन गर्न थाले । नेपालमा अहिले पनि यस्तो समस्या छ । भारतमा सन् १९८८ देखि नै हाम्रा उत्पादन जान थालेका हुन् । यो अनौपचारिक मात्र थियो । किनभने हामीले व्यापारीलाई दिएको जुत्ता व्यापारीमार्फत पहिलादेखि नै त्यहाँ जाँदो रहेछ । आधिकारिक रूपमा सन् १९९० देखि गोल्डस्टार ब्रान्डका जुत्ता भारतमा निर्यात हुन लागेको हो । शुरूमा भारतका तीन व्यापारीले तीन हजार जोर जुत्ता खरीद गरेका थिए । त्यतिखेर हामीसँग उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) थिएन । निर्यातका लागि यो चाहिने रहेछ । यो बनाउने चलन पनि थिएन । त्यसपछि नेपाल चेम्बर अफ कमर्सबाट उत्पत्तिको प्रमाणपत्र लियौं । फेरि एक हप्तामै उनीहरूले १० हजार जोर जुत्ता अर्डर गरे । त्यसपछि हामीलाई झन् हौसला बढ्यो ।

घरेलु बजारमा खपत भइरहेको अवस्थामा भारतबाट एकाएक माग आउँदा कस्तो महसूस भयो ?
हामीले पहिला सानो क्षेत्रफलमा चप्पल कारखाना चलाइरहेका थियौं । समयक्रमसँगै जग्गा थप्दै क्षेत्रफल बढाएर कारखाना विस्तार गरेका थियौं । घरेलु बजारमा खपत राम्रै थियो । तर भारतबाट एकाएक अर्डर आउँदा उत्साहसँगै चुनौती पनि थपियो । पहिलोपटक भारतका आएका तीन जना व्यापारीले हाम्रो उत्पादन शुरूमा हवाईजहाजमार्फत लगे । त्यसपछि भाडा महँगो भयो भन्दै कन्टेनरबाट लैजान थाले । यसपछि भारतमा निर्यात बढ्दै गयो । सन् २०१५ सम्म आइपुग्दा वार्षिक २० देखि ३० प्रतिशतका दरले निर्यात बढ्यो ।

जुत्ताचप्पल उद्योगमा त्यतिबेला गरेको लगानीलाई कसरी लिनुहुन्छ ? तत्कालीन समयमा गरेको लगानी सही रहेछ भन्ने लाग्छ ?
बुवाले जुत्ताचप्पलको क्षेत्रमा त्यतिखेर गर्नुभएको कामबाट म अत्यन्त प्रभावित छु । उहाँको अथक मेहनत र प्रयासले गर्दा नै आज गोल्डस्टार जुत्ता यो अवस्थामा छ । उहाँले यसमा दिनरात नभनी काम गर्नुभयो । त्यतिखेरको असहज परिस्थितिमा पनि केही गरिछाड्ने उहाँको प्रयास सम्झँदा गर्व लाग्छ । बुवाको निधनपछि जुत्ताको व्यवसायमा थप केही गर्न आवश्यक छ भन्ने लाग्यो । यो व्यवसायलाई स्मार्ट तरीकाले अगाडि लैजानुपर्छ भनेर योजना बनाएँ । किनभने जुत्ताचप्पलको व्यवसाय हाम्रो पायोनियर बिजनेश हो । यसमा अहिले धेरै परिवर्तन भइसकेको छ । सोही अनुरूप जुत्ताको व्यापारमै केन्द्रित हुने मनसायले ग्यास, फर्मास्युटिकल तथा टेक्सटाइल बेचेर यसतर्फ लगानी विस्तार गरियो । ती उद्योगहरू पछि बुवाका साझेदार साथीहरूले नै लिनुभयो ।

नेपालका अन्य ठूला व्यावसायिक घरानाले भने व्यवसायलाई विविधीकरण गर्दै लगेको देखिन्छ । तर तपाईंहरू भने अपवादबाहेक जुत्ताचप्पलमै केन्द्रित भएको पाइन्छ । किन ?
हुन त पहिलादेखि नै जुत्ताचप्पलसँगै हाम्रा अन्य व्यवसाय पनि सञ्चालनमा थिए । तर मैले अन्य व्यवसायलाई त्यति प्राथमिकतामा राखिनँ । किनभने हाम्रो पायोनिर बिजनेश त जुत्ताचप्पल नै थियो । यो त बुवाले सञ्चालन गरेर आजको अवस्थामा ल्याइपुर्‍याएको पायोनियर बिजनेश हो । यसलाई निरन्तरता दिनु मेरो कर्तव्य पनि थियो । एकै व्यक्तिले विभिन्न व्यवसायमा हात हालेर सफल हुन सकिँदैन भन्ने सोच अनुरूप भएको लगानी पनि घटाउने प्रयास गरेका हौं । किनभने पहिलेदेखि नै मेरो दिमागमा केही गरेर देखाउने हो भने फुटवेयरको व्यापार वृद्धि गर्नुपर्छ भन्ने थियो । अनि अर्को कुरा एउटा बैंकमा मात्रै लगानी गर्ने सोच थियो । त्यसै अनुरूप हाम्रो संलग्नता कुमारी बैंकमा मात्र छ । यसमा म सञ्चालक समितिको अध्यक्ष पनि छु ।

उद्योग विस्तार गर्ने योजना अनुरूप भैरहवामा अर्को कारखाना स्थापना गर्ने योजना बनाइरहनुभएको रहेछ । अब जुत्ताचप्पल कारखानालाई काठमाडौंबाट त्यता सार्न लागिएको हो ?
अहिले नै त कारखानालाई विस्थापन गरिहाल्ने योजना छैन । काठमाडौंमा यो कारखाना निश्चित समयसम्म रहन्छ । किनभने नेपालभर कुरा गर्दा जुत्ताचप्पलको बजार हिस्सा काठमाडौंमा ३० प्रतिशतमात्र छ । पूर्वमा बजार हिस्सा अलिक बढी छ भने पश्चिम क्षेत्रमा अलिक कम छ । तर निर्यातको काम भने भैरहवा केन्द्रित भएर अघि बढाउने योजना छ । किनभने लागत पनि त्यहाँबाट सस्तो पर्छ ।
 
भारतमा तपाईंहरूको व्यापार पहिलाको भन्दा घटेको हो ? यसमा नोटबन्दी र वस्तु तथा सेवा करले पनि प्रभाव पारेको हो ?
जुन बेलामा भारतमा नोटबन्दी लागू भयो, त्यसबेलामा फुटवेयरको निर्यात अस्तव्यस्त नै भयो । त्यसअघि गोल्डस्टारले नेपालमा मात्र होइन, भारतमा समेत ख्याति पाइरहेको थियो । नोटबन्दीले जुत्ताको व्यापार खस्किँदै गयो र कम्पनी बन्द हुने स्थितिमा पुग्यो । पहिला त कुल उत्पादनको ७५ प्रतिशत भारतमै जान्थ्यो । तर नोटबन्दी र वस्तु तथा सेवा कर (जीएसटी) का कारण घटेर नेपालमा ६५ प्रतिशत र भारतमा ३० प्रतिशतमा सीमित भयो । 
भारत सरकारले भारू. एक हजार र पाँच सयको नोट नचल्ने घोषणा गरेपछि लामो समय त्यसको असर पर्‍यो, जसले गर्दा भारतबाट गोल्डस्टारको माग नै आएन । त्यही बेला भारतमा जीएसटी पनि लागू भयो । त्यो प्रावधानले जुत्ता निर्यातमा झनै समस्या भयो । अहिले यसमा विस्तारै सुधार हुँदै गएको छ । गतवर्ष कुल उत्पादनको ४० प्रतिशत भारतमा निर्यात भयो । यो वर्ष सुधार गरेर ५० प्रतिशत पुर्‍याउने योजनामा छौं । यसका लागि उत्पादन क्षमता बढाउने तयारी गरिरहेका छौं ।

गोल्डस्टारले आफ्नो बजार प्रवर्द्धनका लागि धेरै पछि मात्र ब्रान्डिङमा ध्यान दिएको जस्तो देखिन्छ । खासमा के हो ? 
यसमा म के भन्छु भने वास्तवमा हात्तीछाप चप्पल र गोल्डस्टार जुत्ता आफैमा ब्रान्ड भइसकेको छ । हामीलाई विज्ञापन गर्न जरुरी थिएन भन्ने लाग्छ । किनभने यो निकै आम जनमानसमा लोकप्रिय बनिसकेको थियो । तर विज्ञापन आवश्यक छ या छैन भन्ने बारेमा म अनभिज्ञ नै थिएँ । तर श्रीमती विदुषीले पनि ब्रान्डिङ गर्न पटक पटक दबाब दिइन् । उनको उनी गोल्डस्टारमै संलग्न छिन् । उनको सुझाव अनुसार नै हाम्रो ध्यान ब्रान्डिङतर्फ केन्द्रित छ । बजार विस्तार गर्ने क्रममा हामीले धन्यवाद क्याम्पेन पनि आयोजना गरिसकेका छौं । 

द्वन्द्वको समयमा गोल्डस्टार जुत्ताको व्यापार राम्रै भयो होला, होइन ?
यो जुत्ता माओवादी द्वन्द्वको समयमा निकै विक्री भयो । माओवादी लडाकूले त्यो बेला प्रयोग गर्ने भनेकै गोल्डस्टार जुत्ता थियो । किनभने यो सहज र सुलभ मूल्यमा पाइन्थ्यो । यो बलियो पनि छ । अझ त्यतिबेला सुरक्षाकर्मीले समेत गोल्डस्टार जुत्ता नै प्रयोग गर्दथे । तर एउटा कुरा मैले यहाँ भन्नैपर्छ । त्यो समयमा हामीले ठूलो सुरक्षा चेतावनी खेप्नुप¥यो । हामीलाई माओवादीलाई जुत्ता विक्री गरेको भनेर दुःख दिने काम पनि भयो । तर हाम्रो विशुद्ध उद्देश्य व्यापार मात्र थियो । 

नेपाल र भारतपछि अन्य देशमा जुत्ताको माग के कस्तो छ ?
नेपालमा त हाम्रो उत्पादनको ब्रान्डिङ भइसकेको छ । बजार विस्तारको क्रममा भारतपछि कुन कुन देशमा निर्यात गर्न सकिन्छ भनेर अहिले पनि अध्ययन गरिरहेका छौं । जापान, कतार, बहराइनबाट स्वतःस्फूर्त रूपमा जुत्ताको माग आइरहेको छ । त्यहाँ जाने नेपालीले पनि हाम्रा उत्पादन लगिरहेका छन् । गत वर्षमात्रै अमेरिकामा बजार विस्तार गरेका छौं । त्यहाँ हाल गोल्डस्टार जुत्ताको फ्रेन्चाइजी सञ्चालनमा छ । अस्ष्टे«लियामा पनि स्टोर सञ्चालनमा छ । अफ्रिकामा पनि सञ्चालन गर्ने योजना छ । मुख्य बजार त नेपाल नै हो । गोल्डस्टारको ब्रान्डको उपस्थिति नेपाल र भारत मात्र होइन, विश्वभर विस्तार हुँदै गर्दा यसमा असीमित सम्भावना देखेको छु ।

हाल कारखानाबाट दैनिक कति परिमाणमा जुत्ताचप्पल उत्पादन भइरहेको छ ?
अहिले कारखानाबाट दैनिक रूपमा एक लाख जोरभन्दा बढी उत्पादन भइरहेको छ । यो जुत्ता र चप्पल दुवै मिलाएर हो । भैरहवाबाट पनि उत्पादन गर्ने सोच छ । त्यहाँबाट तत्काल उत्पादन बढाउने सोच भने छैन । त्यहाँ खोलिने कारखानाको क्षेत्रफल ७ बिघाभन्दा ठूलो हुनेछ । भोलिका दिनमा व्यापार बढाउन पनि हामीले त्यहाँ कारखाना स्थापना गर्ने सोच बनाएका हौं ।

हात्तीछाप चप्पल र गोल्डस्टार जुत्ता आफैमा ब्रान्ड भइसकेको छ ।
 


अर्को प्रसगमा जाऔं, तपाईं औपचारिक रूपमा कहिलेदेखि यो पारिवारिक व्यवसायमा आउनु भयो ?
मानसिक दृष्टिकोणले भन्ने हो भने त सानो उमेरदेखि नै यो व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न छु । औपचारिक रूपमा भन्ने हो भने त सन् १९९५ तिरबाटै यो व्यवसायमा केन्द्रित रहेर काम गर्दै आएको छु । 

नेपालका ठूला व्यावसायिक घरानाहरू व्यवसायलाई विस्तार गर्दै अगाडि बढेको देखिन्छ । तर तपाईं चाहिं भएको व्यवसायबाट सीमित व्यवसायमा केन्द्रित हु“दै जानु भएको छ । कारण के होला ?
हुन त आजभोलि घरमा पनि नयाँ क्षेत्रमा लगानी विस्तार गर्नुपर्‍यो भनेर छलफल हुने गरेको छ । मलाई चाहिँ फुटवेयरमै केन्द्रित हुन आवश्यक छ जस्तो लाग्छ । यसमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास पनि छ । त्यसकारण पनि यसमै अझ लगानी विस्तार गरौं भन्ने हिसावले काम भइरहेको छ । आज हामी ब्रान्डिङकै कारण भारतको फुटवेयर उद्योगसँग प्रतिस्पर्धा गर्न सकिरहेका छौं । 

जापान, कतार र बहराइनबाट स्वतःस्फूर्त रूपमा जुत्ताको माग आइरहेको छ ।

गोल्डस्टार जुत्ताले नेपालको समग्र जुत्ताको बजारमा कति हिस्सा लिएको छ ?
यसको कुरा गर्ने हो भने त नेपालमा गोल्डस्टार जुत्ताको बजार हिस्सा १० प्रतिशतमात्र छ । स्वाभाविक रूपमा गोल्डस्टार जुत्ताको आधिपत्य नभए बाँकी कसको छ त भन्ने प्रश्न आउन पनि सक्छ । हुन त नेपालको कुरा गर्दा यहाँ चोरीपैठारी भएर निर्बाध रूपमा जुत्ताचप्पल आइरहेको छ । कर छलेर पनि जुत्ताचप्पल आइरहेको छ । अर्को कुरा भनेको उत्पादनको नाममा एसेम्बलिङ गरेर वा लेवल वा लोगो टाँसेर पनि जुत्ताचप्पलको अवैध रूपमा कारोबार भइरहेको छ । तर यसको नियन्त्रणतर्फ पहल हुन सकेको छैन । यो देख्दा हामीलाई निकै दुःख लाग्छ ।

तपाईं त दोस्रो पुस्ताको आन्त्रप्रेनर हुनुभयो । अबको तेस्रो पुस्तालाई व्यवसाय हस्तान्तरण गर्ने योजनालाई कसरी लिनुभएको छ ?
हुन त यो आग्रह मात्र हो । मैले तेस्रो पुस्तालाई हाम्रो व्यवसाय यस्तो छ है भनेर आग्रह गर्ने मात्र हो । सर्वप्रथम यसमा उनीहरूको रुचि पनि हुनुपर्‍यो । यसलाई कसरी अगाडि बढाएर लैजाने त भन्ने कुराका लागि अध्ययन आवश्यक छ । अनुभव पनि चाहियो । तेस्रो पुस्ताको कुरा गर्दा अहिले छोरा त सानै छ । छोरीले यसबारे पक्कै पनि सोचविचार गरेकी छिन् । अहिले उनको अध्ययन जारी नै छ । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

वीरेन्द्र कटुवाल

[Nov 17, 2022 06:47am]

सही छ । गोल्ड स्टार जत्ति क्वालिटी भएको विदेशी ब्रान्डको जुत्ताको मुल्य विदेशी बजारमा लगभग गोल्ड स्टारको भन्दा डबल छ । यसलाई अन्तराष्ट्रिय बजारमा ल्याउने हो भने मासाल्लाह राम्रो व्यापार गर्छ ।



   

TVCNepali Patro