ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मिरगञ्ज पुलमा आवागमन १५ दिनभित्रै खुलाउने भारतको आश्वासन, मर्मतपछि पनि नखोलिएको नेपाली व्यवसायीको गुनासो

२०७९ मंसिर, ४  
प्रदेश ०१
Tvs Raider Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

विराटनगर । नेपाली व्यवसायीका लागि टाउको दुखाइ बनेको भारतको मिरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलिब्रिज सवारीसाधन आवागमनका लागि १५ दिनभित्रै खुला गर्ने भारतीय अधिकारीले आश्वासन दिएका छन् । 

मोरङ व्यापार संघलाई काठमाडौंस्थित भारतीय दूतावासले उक्त आश्वासन दिएको हो । उक्त पुल विराटनगर–जोगवनी सीमा नाकाबाट ४ किलोमीटर पश्चिममा पर्छ । १० महीनाअघि भासिएको बेलिब्रिज मर्मत भइसके पनि भारतले आवागमन खुला गरेको छैन । यसले गर्दा नेपाली व्यवसायीले भारतलगायत तेस्रो मुलुकबाट आयात गरेको सामान अतिरिक्त भाडा तिरेर रि–रूट गरी नेपाल ल्याइरहेका छन् । 

यस समस्यालाई ध्यानमा राखेर तत्काल पुल सञ्चालन गरिदिन मोरङ व्यापार संघले भारतीय दूतावाससमक्ष ज्ञापनपत्र बुझाएको र दूतावासका अधिकारीले १५ दिनभित्र पुल खुला गर्ने आश्वासन दिएका हुन् । 

पुल सञ्चालनका लागि मोरङ व्यापार संघका कार्यकारी सदस्य गोपाल अग्रवालले भारतीय दूतावासका डिपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्तव र वाणिज्य प्रमुख सुमन शेखरलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । अग्रवालले दूतावासका अधिकारीबाट १५ दिनभित्रमा पुल सञ्चालन हुने आश्वासन पाएको जानकारी दिएका छन् ।  

भासिएको बेलिब्रिज मर्मत भइसकेको छ । त्यसको २ सय मीटर उत्तरमा नयाँ बनेको चार लेनको सडकमा पक्की पुल पनि तयार छ ।

उक्त चार लेनको सडक बिहारको सडक सञ्जालबाट नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)सम्म पुग्छ । तर, भारतीय पक्षलाई पटक पटक आग्रह गर्दा पनि पुल सञ्चालन हुन सकेको छैन । संघले पुल सञ्चालन गरिदिन आग्रह गर्दै भारतका उच्चपदस्थ अधिकारीको ध्यानाकर्षण गराउँदै आएको छ । उनीहरूले आश्वासन मात्रै दिँदै आएका छन् । संघका सदस्य अग्रवालले अध्यक्ष नवीन रिजालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र दूतावासका अधिकारीलाई बुझाएका हुन् । त्यस क्रममा अबको १५ दिनभित्र पुल सञ्चालन गर्ने आश्वासन पाएको कार्यकारी सदस्य अग्रवालले बताए । 

भन्सारनजिकै आइसकेको सामान रि–रूट गरी भन्टाबारीबाट सुनसरी हुँदै पुन: विराटनगर भन्सारमा ल्याउँदा ११६ किलोमिटर घुम्नुपर्ने हुन्छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले सामान रि–रूट गरी ओसार्दा दैनिक २५ लाख रुपैयाँ थप भाडा तिर्नुपरेको गुनासो गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro