ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्वाचनमा दिनभर : कति ठाउँमा मतदान रोकियो ? कति ठाउँमा गोली चल्यो ?

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइतवार बिहान ७ बजेदेखि शुरू भएको मतदान प्रक्रियामा १ घण्टापछि नै विवाद शुरू भएको थियो । १० नबज्दै प्रहरीले हवाई फायर गर्न शुरू गर्दा बेलुका ५ बजेसम्म १० औं ठाउँमा हवाई फायर गरिएको छ । दर्जनौ राउण्ड गोली चलाइएको छ ।

साना-ठूला विवादले ६० भन्दा धेरै मतदान केन्द्रमा मतदान स्थगित गर्नुपरेको छ । तीमध्ये अधिकांश ठाउँको मतदान भने पुनः शुरू भइसकेको छ ।

दिनभर कहाँ के-के भए ?

बाजुरा

बाजुराका ३ ओटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । बुढिगंगा नगरपालिका-८, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को १-१ केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

त्यस्तै बाजुराकै स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।

कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

पाल्पा

पाल्पाको तानसेन नगरपालिका-६, जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्द गरि फेरि मतदान शुरू भएको थियो । ६८ मत खसेपछि समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेशसभाको मतपेटिका एक अर्कामा साटिएको पाइएपछि पुन: मतदान भएको हो ।

विवाद भएपछि खसेका सबै मत रद्द गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान शुरु भएको थियो । दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान भएको छ ।

मोरङ 

मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटका पड्किएपछि मोरङको एउटा मतदान केन्द्रमा केही समय मतदान स्थगित भएको थियो । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विस्फाेट गराइएको भन्दै मतदाता भागेपछि मतदान स्थगित भएको थियो ।

हुम्ला

हुम्लाको सर्केगाडमा गाउँपालिका-३, स्थित देवकोटा आधारभूत विद्यालय, उनापानी मतदान स्थलमा सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरूबीच झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गर्नुपरेको थियो । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । 

सर्वदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएपनि  फेरि मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि प्रहरी पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेको बताइएको छ । 

हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् ।  घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो ।  उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।

दाेलखा

आज दिनभरमा दोलखाका विभिन्न स्थानमा तनाव भइरह्यो । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको थियो ।  

घटनापछि मतदान रोकिएको छ । मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।  आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रसासन कार्यलयका अनुसार यो समाचार तयार पार्दा सम्म विभिन्न ठाउँमा गरी २६ राउण्ड गोली चलेकको बताएको छ ।

दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि  मतदान रोकिएको र पुन: सुचारु गर्ने प्रयास भइरहेको प्रहरी जनाएको छ  ।

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको लठ्ठीले महिलाको टाउकोमा  लागेपछि विवाद शूरू भएको थियो  ।

स्थानीय बासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

तेह्रथुम

तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । मृत्युको कारण बारे खुल्न सकेको छैन् ।

कास्की

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आइतबार बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन।

मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ । मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बागलुङ 

बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. सुर्यपाठकले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएका  छन् । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

पाठकका अनुसार जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् । आँफुले यस बारेमा  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  जानकारी गराएको बताएका छन् । पाठकले   पुनः मतदान हुनुपर्ने माग समेत गरेका छन् ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्  ।

स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीले बताएको छ  ।  झडपले मतदान सुचारू हुन नसकेपछि मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

नवलपरासी पूर्व

नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको शान्ति सिर्जना आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।  प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro