ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

करेन्सी नोटमा कानूनी प्रावधान

२०७९ मंसिर, ५  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar राजाराम श्रेष्ठ

सर्वप्रथम नोटको प्रचलन तेह्रौं शताब्दीबाट भएको देखिन्छ । शुरूका दिनमा काठको ब्लकमा नोटको आकार, बेहोरा तयार गरी छाप्ने गरिन्थ्यो । स्वीडेनको केन्द्रीय बैंकद्वारा पहिलोपटक सन् १६५६ मा कागजको नोट तयार गरी प्रचलनमा ल्याइएको थियो । पछि बेलायतले पनि उक्त प्रक्रियाको अनुसरण गरी कागजको नोट निष्कासन गरी प्रचलनमा ल्याउने काम भयो । फ्रान्सले पनि सन् १७१६ देखि कागजको नोटलाई चलन चल्तीमा ल्याइएको थियो । त्यस समयमा त्यस्ता नोटहरू कुनै सरकारी छापाखानामा छाप्ने काम हुँदैनथ्यो । बेलायत र यूरोपेली देशहरूमा नोट छाप्ने अधिकार विभिन्न एजेन्सीहरूलाई दिइएको थियो । यस्ता एजेन्सीहरूले पहिलो विश्वयुद्धमा विश्वको आर्थिक अवस्था नै बिग्रिने गरी आवश्यकताभन्दा बढी नोट निष्कासन गरेको इतिहास छ । यसपछि कागजको नोटको प्रकाशन र प्रचलनमा कानूनद्वारा बन्देज लगाउनुपर्ने महसूस गरियो । सम्बद्ध देशका सरकारले कसूरको अवस्था हेरी सजाय दिने गरी कानूनी व्यवस्थाको थालनी भएको पाइन्छ ।

अहिले राष्ट्र बैंकले विभिन्न रङ, आकार, चिह्नको प्रयोग गरी विभिन्न अंकित मूल्यको कागजको नोट निष्कासन गर्दै आएको छ ।

नेपालमा विसं २००२ सालदेखि नोट निष्कासनको थालनी भई प्रचलनमा आएको थियो । विसं २०१२ सालमा नेपाल राष्ट्र बैंक ऐन जारी भएपश्चात् नेपाल राष्ट्र बैंकको स्थापना भई केन्द्रीय बैंकका रूपमा कार्य गर्न थालेको देखिन्छ । त्यस्तै नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ जारी गरियो । यसैको आधारमा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोटलाई नेपाली मुद्राका रूपमा लिइयो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ जारी भएपछि राष्ट्र बैंकले नगदका रूपमा चलन चल्तीमा रहेको करेन्सी नोटलाई बैंक नोटका रूपमा मान्यता दिइयो । अहिले राष्ट्र बैंकले विभिन्न रङ, आकार, चिह्नको प्रयोग गरी विभिन्न अंकित मूल्यको कागजको नोट निष्कासन गर्दै आएको छ । राष्ट्र बैंकलाई नेपालभित्र बैंक नोट निष्कासन गर्ने एकाधिकार प्राप्त छ । समितिको राय लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यत्र नचल्ने गरी व्यवस्था गर्न सक्छ । कानूनबमोजिम मान्यताप्राप्त गरी बैंकद्वारा निष्कासन गरिएको नोट सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने गरी राष्ट्र बैंक ऐनको दफा ५३ मा कानूनी व्यवस्था गरेको छ । बैंकले कुनै शुल्क वा दस्तूर नलिई नेपाल भित्र कानूनी ग्राह्य हुने बैंक नोटलाई समान मूल्यको एकै वा विभिन्न दरको बैंक नोटसँग सटही गरिदिन सक्छ । झुत्रो नोटलाई बैंकले खिच्न र नष्ट गर्न सक्छ । त्यस्तो अवस्थामा धनीलाई क्षतिपूर्ति दिन वा नदिन सक्छ । बैंकले कुनै पनि मुआब्जा नदिई बाहिरी स्वरूप परिवर्तन गरिएको प्रतिलिपि वा नक्कली नोट जुनसुकै बखत जफत गर्न सक्छ ।

कानूनी रूपमा मान्यताप्राप्त बैंक नोटको प्रतिलिपि वा जाली नोट कसैले पनि निष्कासन गर्न, गराउन हुँदैन । नेपालभित्र चलन चल्तीमा रहेका बैंक नोटको जालसाली वा कीर्ते गरी वा स्वरूप फेरि वा कुनै प्रकारले नक्कली मुद्रा बनाउन वा त्यसको प्रतिलिपि बनाउन हुँदैन । त्यस्तो नक्कली नोटलाई कसैले पनि आफूसँग राख्न, ओसारपसार गर्न वा जारी गर्न हुँदैन । साथै त्यस्तो कार्य गर्न कसैलाई पनि सघाउ पुर्‍याउनसमेत हुँदैन । कानूनले नक्कली नोटलाई बजारमा चलन चल्तीमा ल्याउन रोक लगाइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मा मुद्रासम्बन्धी कसूर र सजायको बारेमा उल्लेख गरिएको छ । कसैले पनि खोटा मुद्रा (करेन्सी नोट) बनाउने वा बनाउने उद्योगसमेत गर्न हुँदैन । कसैले पनि खोट मुद्रा भनी जानीजानी सद्देसरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरीद वा विक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, प्रचलनमा ल्याउन वा आफूसँग राख्न वा त्यसको उद्योग गर्नसम्म पनि हुँदैन । कानून बमोजिम मुद्रा बनाउने अधिकार पाएको कुनै अधिकारी वा व्यक्तिले जानीजानी कानूनद्वारा निर्धारित मापदण्डविपरीत हुने गरी नोट बनाउन हुँदैन । शर्तविपरीत नोट बनाउन, बढी परिमाणमा नोट बनाउन वा त्यसरी परिमाण फरक हुने गरी नोट बनाउने नियतले कुनै कार्य गर्न वा त्यसबाट आफूलाई वा अरूलाई लाभ पुर्‍याउने कार्य गर्न र त्यस्तो कार्यमा सहयोग गर्नसम्म पनि हुँदैन । चलन चल्तीमा रोक लगाइएको नोट चलनचल्ती गरे जफत हुन्छ ।

अहिले चलन चल्तीमा आएका नोटमा लेख्ने, कोर्ने क्रियाकलाप बढी देखिने गरेको छ । कानूनले मान्यता दिएको नोट अधिकारप्राप्त अधिकारीको आदेशविना कसैले पनि जलाउन वा त्यसलाई काम नलाग्ने गरी च्यात्न, नोटमा लेख्न वा कोर्न हुँदैन । कुनै पनि नोट झुत्रो भई वा अक्षर, चिह्न, आकार नचिनिने भई वा अन्य कुनै कारणले चलन चल्तीमा ल्याउन नहुने भई सडाउने वा जलाउने ठहर भएका झुत्रा नोटहरू चलनमा ल्याई लाभ पाउने नियत राखेर नजलाउने वा नसडाउने गर्न हुँदैन । साथै त्यस्ता झुत्रा नोटहरू अरू कसैलाई राख्न वा दिनसमेत हुँदैन । यसरी कानूनले निषेध गरेका मुद्रासम्बन्धी कसूर गर्ने र गराउने व्यक्तिलाई कसूरको मात्रा र अवस्था हेरी कैद र जरीवानासम्मको सजाय हुन्छ ।

देशको आर्थिक व्यवस्थालाई सन्तुलित रूपमा अघि बढाउन मुद्राको आवश्यकता पर्छ । अहिले राष्ट्र बैंकले आवश्यकताको आधारमा नेपालमा नोट निष्कासन गर्दै आइरहेका छन् । अहिले पाँच, दश, बीस, पचास, एकसय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरू बजारमा चलनचल्तीमा रहेका छन् । यस्ता नोटहरूसँग मिल्दोजुल्दो प्रतिलिपि वा जाली नोटहरू छापी वा प्रतिलिपि बनाई गोप्य रूपमा बजारमा पठाई चलन चल्तीमा ल्याउने गर्छन् । आर्थिक लाभ प्राप्त गर्र्न कसैकसैले यस्ता नोटहरूलाई चलनचल्तीमा ल्याउन गर्छन् । सामान्य मानिसले सक्कली र नक्कली नोट छुट्ट्याउनै सक्दैन । नक्कली नोटको चलन चल्तीले देशको आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्न जाने हुँदा यसको प्रकाशन र चलनचल्तीमाथि रोक लगाउनुपर्छ ।

लेखक अधिवक्ता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro