ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

२०७९ मंसिर, ५  
गण्डकी प्रदेश
Tvs Raider NA

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मन पर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनी अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनी भन्छन्, ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।’ खेतीपातीमा प्रांगारिक मल प्रयोग गर्ने प्रचलन नै हराएको उनी बताउँछन् । विगतमा प्रांगारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेशिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।’

अहिले खेतीपाती गर्न खर्चिलो भएको उनी बताउँछन् । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उनको भनाइ छ । ‘भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरू, दु:ख किन गर्छन् र ?,’ उनी भन्छन् ।
विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी भिœयाउने उनी केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताउँछन् । व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । ‘खेतीपाती गर्न सकिँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमीन बाँझो छ । त्यसैले चामल किनेर खानुपर्ने बाध्यता छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन वर्षेनि घट्दो क्रममा रहेको बताए । ‘धान उत्पादन लागत वर्षेनि बढ्छ, तर धानको मूल्य नबढ्दा धानखेतीमा युवाको चासो छैन,’ उनले भने, ‘जिल्लामा जमीन बाँझिने क्रम बढ्दै गएको छ ।’ जबसम्म स्थानीय, प्रदेश र संघ सरकारले जमीन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमीन बढ्दै जाने उनले बताए ।

चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । ‘गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरेका छौं,’ उनले भने । गतवर्ष आठ हजार २० हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ३२ हजार आठ सय २४ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही बढेको उनले बताए ।

यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन बढे पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उनले बताए ।

कृषि पेशामा लागत बढिरहेकाले यसबाट विमुख हुने किसानको संख्या धेरै छ । आफैले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएकाले युवाले दु:ख गर्न नचाहेको बताइएको छ । धान उत्पादनका लागि धेरै खर्च बढ्दा किसानले आयातित चामल किनेर खान थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दीननाथ लम्सालले बताए ।

विगतमा तनहुँ धान उत्पादनमा आत्मनिर्भर थियो । साथै उत्पादित धान निकासी समेत हुने गरेको थियो । जिल्लाको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाका चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार र बन्दीपुर गाउँपालिकाको याम्पाफाँट धान उत्पादनका लागि प्रख्यात छन् । त्यस्तै देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाका गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाका फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाका डुम्रीबँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाका अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायत क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रूपमा खण्डीकरण गर्ने र बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro