ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्यटकीय गन्तव्य बन्दै मुन्द्रा चढाउने डाँडा

२०७९ मंसिर, ५  
गण्डकी प्रदेश
Tvs Raider NA

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्ब्याउन मान्द्रेढुंगा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँगै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको छ ।

धवलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ–तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडा समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा छ । यहाँबाट धवलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका २ का पूर्वअध्यक्ष ओमप्रकाश फगामीले बताए ।

मान्द्रे ढुंगादेखि मुन्द्रा चढाउने डाँडामा जाने बाटोमा पर्ने विभिन्न भाँडावर्तन, पंक्षी, जनावरका आकृतिहरू अवलोकन गर्न सकिन्छ । नजिकै झरना पनि रहेको वराह गुफाको धार्मिक महत्त्व समेत छ । मगर संस्कृति अनुसार जनैपूर्णिमाको अवसरमा पूजाआजा गरेमा इच्छा पूरा हुने जनविश्वास छ । यहाँ झरनासँगै रहेको गुफामा वडा कार्यालयले पूर्वाधार निर्माण गरेको छ ।

मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुंगाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको पूर्वअध्यक्ष फगामीले बताए । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण  गाउँपालिकाको रू. सात लाख सहयोगमा भुरुङ–तातोपानीको सिंगारेढुंगादेखि मान्द्रेढुंगा जोड्ने पदमार्ग निर्माण गरिएको छ ।

धवलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडाबाट हिमाल, पहाडी भूगोल, वनजंगलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । गाउँपालिकाले विभिन्न मनमोहक दृश्य अवलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरू, वनजंगल, तालतलैया, जडीबुटी, झरनाहरूलाई संरक्षण तथा पूर्वाधार निर्माणमा जोड दिइएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro